आज नेपाल–भारत ऊर्जा बैठक बस्दै
काठमाडौं । नेपाल–भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज काठमाडौंमा बस्दैछ । बैठक दिउँसो ३ बजे ह्यात होटलमा बस्ने भएको हो । सहसचिव स्तरीय बैठकपछि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्ने छ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकको नेतृत्व सहसचिव चिरञ्जिवी चटौतले गर्नेछन् ।
सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले निर्णय गर्न नसक्ने विषय निर्देशक समितिमा छलफल गरेर टुंगोमा पुर्याउन प्रयास गरिने अधिकारीहरुले बताए । सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक प्रत्येक ६–६ महिनामा बस्ने प्रावधान छ । यसअघि २०७६ सालमा भारतको बैंगलोरमा बैठक बसेको थियो । गत वर्ष भने कोरोना महामारीका कारण यो बैठक भर्चुअल रूपमा सम्पन्न भएको थियो ।