आलोचकहरूको व्यवहारिक रूप

सञ्जय साह मित्र
२०७८ फाल्गुन २३,सोमबार १०:३७

आलोचक उही हो जसले आलोचना गर्दछ । उसो भए आलोचक भनेको आलोचना गर्ने पेसा भएको मानिस हो ? र, साँचो आलोचक कसलाई भन्ने ? यी दुई प्रश्न हुन् । कतिपय अवस्थामा एकै जस्तो लाग्न सक्लान् तर एउटै भने होइनन् । सार र रूप दुवैले पृथक हुन् । फेरि पनि आलोचक त्यो हो जसले आलोचना गर्दछ । आलोचना गर्दछ भन्नुको अर्थ केवल आलोचना गर्दछ । मानूँ आलोचना गर्नु उसको पेसा हो । धर्म हो र कर्म हो । आलोचना गर्नेको मन, मस्तिष्क र हृदयमा आलोचना मात्र चलिरहेको हुन्छ । आलोचना गर्ने सुरमा अरु केही देख्दैन । अरु केही पनि बुझ्दैन । यस्तो आलोचकलाई अन्धआलोचक भन्न सकिन्छ । अन्धतापूर्वक आलोचना गर्ने हुनाले अन्ध आलोचक भनिएको हो । अन्धआलोचक यो पनि अर्थ हुन्छ कि उसले ठान्दछ : आलोचना गरेर आजको दिन मैले सार्थक पारेको छु । आँखा चिम्लेर आलोचना गर्न पाएकोमा सन्तोष वा सुखको प्राप्ति गरेको छु ।

विद्वानहरू भन्दछन् : आलोचनाको सिद्धान्त हुन्छ । र, कतिपय आलोचकहरूको सिद्धान्त नै बिना सिद्धान्त केवल आलोचना हुन्छ । आलोचना किन ? आलोचनाको धर्म के हो ? कसरी आलोचना गर्ने र आलोचनाको हद के हुन्छ ? यी कुराहरू पनि बुझ्दछन् । आलोचनाको मर्म नबुझ्नेले आलोचना गर्नु हुँदैन भनेर यसै कारण भनिएको हो । तर आलोचनाको धर्म, आलोचनाको कर्म र आलोचनाको सिद्धान्तलाई पाखा लगाउँदै आलोचनाका लागि आलोचना गर्दा आलोचना नै आलोचित भइरहेको हुन्छ । आलोचनालाई नै लाज लाग्ने अवस्था आइरहेको हुन्छ । आलोचनाको कर्म नै आलोचित भइरहेको हुन्छ । यहाँ मेरो आफ्नै एउटा शेर प्रस्तुत गर्दछु :
गाली गर्नेले उही धरतीको धुलो चाट्दै गरेको देखें
सिद्धान्त र नैतिक गर्व आफैँले काट्दै गरेको देखें ।

राम्रो कामको प्रशंसा पनि गर्नु पर्दछ । नराम्रो कामको आलोचना पनि गर्नु पर्दछ । यदि सबै कुरो बोलीबाटै देखाउनु छ भने पनि आफैंले आफ्नो बोलीको मर्यादा राख्नु पर्छ । आफ्नो बोलीको मर्यादा नै नराख्ने मानिसलाई कहिल्यै पनि सम्मान गर्दैन होला आफ्नै मनले । वा, यस्तो मानिसलाई आफ्नो मनले नै मानिस भन्दैन होला । यदि भन्दछ भने ऊ मानिसको रूपमा केवल मानिसको प्रतिरूप हो । मानिसको जस्तै वा कतिपय अवस्थामा मानिसभन्दा पनि राम्रो बाह्याकृति देखिन बौद्धिक क्षमताले सम्पन्न रोबोट वा यन्त्रमानव हो । यन्त्रमानवले केवल निर्देशन मान्दछ । निर्देशनले आफूमा स्टोर गरेको कुराभन्दा बढी बौद्धिकताको उपयोग गर्न सक्दैन । यन्त्रमानवमा सम्वेदनता त आउला तर सम्वेदनशीलता भन्ने कुरो आउला कि नआउला भन्ने प्रश्न आइरहन्छ । यस प्रकारका मानिस जो आलोचना त गर्दछ तर आफ्नो असली रूप त्यहीँ आलोचनाको हिलोमा डुबेको जब देखाउँछ तब साँच्चै यस्ता मानिसदेखि घृणा लाग्न थाल्छ ।

मुखले बोल्न पाएँ भनेर जे पनि बोल्ने वा जे भनेर पनि आलोचना गर्ने तर जे भनेर आलोचना गर्ने हो वा गरेको हो, सोही काम आफैँले गर्न खोज्ने हो वा पहिलेदेखि आलोचना गर्नेले जुन कामको आलोचना गरिरहेको हो सोही कामबाट जदि आफैँ लाभान्वित हुन सकिन्छ भन्ने सम्भावना देख्नासाथ मुखमा आलोचनाको जहर हालेर आफ्नो मुखलाई मास्कले छोप्दै त्यहीँ लाभ लिनेको लाममा बस्न पुग्नेलाई पनि मान्छे नै भन्न वा आलोचक भन्न सुहाउँदैन । यदि यस्तोलाई आलोचक नै भन्ने हो भने वास्तवमा आलोचकभन्दा माथि एउटा साँचो आलोचक हुन्छ भन्ने कुरा बुझ्नु पर्ने हुन्छ । केवल आलोचक वा आलोचक मात्रले आलोचनाभन्दा बढी केही गर्दैन, उसको मन वा मस्तिष्करूपी कम्प्युटरमा आलोचनाबाहेक अरू केही पनि राखिएको छैन र साँचो आलोचकले आलोचना त गर्दछ नै, यदि आलोचना गर्दै गर्दा पनि केही राम्रो देखियो भने त्यस कुरालाई राम्रो पनि भन्न पछि पर्दैन । खाँदै गरेको भातलाई गन्हाउने, बेस्वादिलो, खानै नहुने, खान नदिएको भए राम्रो हुन्थ्यो भनेर आलोचना गर्नुभन्दा खान नहुने भात हो भने भनिदिनुपर्छ कि यो भात खान नहुने छ । तर खानेबेलामा मागी मागी खाने, थपि थपि खाने, कोची कोची खाने, घिची घिची खाने तर खाइसकेपछि बलजफ्ती खुवाएको, नमिठो खुवाएको भनी आलोचना गर्ने हो भने खाने मानिसको त के भन्नु, त्यही अन्न वा भातको मान, प्रतिष्ठा, इज्जत, सम्मान कम होला ।

खाने बेलामा खानुसम्म खाने, अझ खाना थप्नलाई हल्ला गर्ने, अझ यो पनि भन्ने कि खानलाई बोलाएपछि पेट भरि खाना खान दिनुपर्छ तर फेरि खानेकुराको विरोध गर्ने ? त्यही खुवाउने मानिसको विरोध गर्ने ? त्यही खानाको विरोध गर्ने ? यो प्रवृत्ति पनि देखिएको छ कि कसैले यदि खाना खान बोलाउँछ भने त्यहीँ खाना खान बोलाउने मानिसको नै विरोध हुन्छ, त्यसपछि खानामा के खुवाउँछ भन्ने कुराको विरोध हुन्छ । फलानो खानेकुरा पनि थप्नु पर्छ वा फलानो खानेकुरा भएन भने कसैले खाँदैन भन्ने पनि सुझाव दिन्छ वा त्यस सुझावको मर्म चाहिँ आलोचना नै हुन्छ । र, त्यस अनुसारको खाना बनाइदिँदा फेरि यति धेरै खानाको आवश्यकतै थिएन । अथवा भएन भने मैले भनेको कुराको कुनै वास्तै भएन । फेरि खान पनि नछोड्ने र खाना खाएपछि फेरि आलोचना गर्ने । यसरी आलोचनाको गर्नेले कसलाई किन र के भनेर आलोचना गर्ने हो भन्ने पनि बुझेको हुँदैन । यस्ता आलोचकभन्दा निकै माथिको स्तरको साँचो आलोचक हुनुपर्छ ।

यदि कसैले समुद्रमा के हुन्छ भनेर प्रश्न गर्ने हो भने सजिलै सबैले भन्ने उत्तर हुन्छ कि समुद्रमा पानी हुन्छ । तर प्रश्न सोध्नेले यदि यो भन्दछ कि जहाँ पानी छैन त्यहाँ समुद्र त हुनै सक्दैन नि । यसकारण समुद्रमा के हुन्छ भनेर सोध्नुको अर्थ समुद्रमा पानी हुन्छ भन्ने होइन । यसको मर्म अरु नै हुन्छ । पानी बिना त जस्तोसुकै पनि ठूलो खाल्टो केवल सुख्खा खाल्टो हुन्छ । यसकारण समुद्रमा नुन हुन्छ । फेरि नुन त समुद्रको पानीमा हुन्छ । यसरी आलोचना गर्नेले जे गरे पनि वा जे भने पनि आलोचना नै गर्दछ तर आलोचनाको कुनै तर्क वा दर्शन दिन सक्दैन वा आलोचना गर्ने कर्तव्यको पनि आफूले पालन गर्दैन र पनि आफूलाई आलोचक नै भन्दछ भने उसलाई आलोचक मानेर ऊभन्दा धेरै माथि साँचो आलोचक हुनुपर्छ र अहिलेको समयमा आलोचकको भन्दा साँचो आलोचकको आवश्यकता रहेको छ । अझ मधेसमा त साँचो आलोचकको आवश्यकता निकै बढी रहेको छ ।

साँचो आलोचकलाई भोक लागेको छ भने उसको शारीरिक अवस्था तथा उसको स्वाद र रुचि तथा उपलब्ध सामग्रीलाई सबैलाई विचार गर्दछ । तर आलोचकले केवल भोकलाई देख्दछ र पहिले भोकको आलोचना गर्दछ र भोकको आलोचनापछि उसले खानाको आलोचना गर्दछ । खाना खानुअघि, खाना खाँदै र खाना खाइसकेपछि पनि त्यहीँ खानाको आलोचना गर्दछ । आजभोलि यस्तै आलोचकले गर्दा सामाजिक सञ्जाल बदनाम भइरहेको छ । त्यस्तो आलोचनाको कुनै अर्थ छैन जसले आफूलाई मात्र होइन आफ्नो कर्मलाई पनि प्रभावित गर्दछ । यसले गर्दा वास्तवमा अबको समयमा व्यावहारिक आलोचक कस्तो हुने वा आलोचकहरुको व्यावहारिक स्वरुप कस्तो हुने भन्नेतिर पनि बुद्धिजीवीहरूले बहस चलाउनु परेको छ । आलोचकहरू पनि व्यावहारिक हुनु परेको छ र व्यहारको पनि आलोचना हुनु परेको छ । शब्दमा, बोलीमा, लेखनमा आलोचना हुने तर मानिस चाहिँ आलोचक नभई आलोचकको एउटा प्रतिमूर्ति हुने हो भने साँचो आलोचकले अब सामाजिक सञ्जालमा पनि आलोचनाको व्यावहारिक जवाफ दिनु परेको छ । साँचो आलोचक अब बुद्धिजीवीहरु पनि बन्नु परेको छ । अबको समयमा साँचो आलोचकले नै कथित आलोचकलाई जवाफ दिनु परेको छ । हैनभने हाम्रो समाज र सभ्यतामा आलोचनाको कुनै अर्थ रहन जाने छैन । आलोचना केवल गाली मात्र हुन जानेछ । आलोचनाको अर्थ गाली होइन र साँचो आलोचनाको अर्थ ताली होइन भन्ने कुरो पनि बुद्धिजीवीहरुले समाजलाई बुझाउनु परेको छ । यो दायित्व अहिलेको अवस्थामा समाजका बुद्धिजीवीहरुले अहिले बुझ्नु परेको छ ।