हेटौंडाको मेयरमा कांग्रेस सचिव महतको दावी

तु खबर संवाददाता
२०७८ फाल्गुन २५,बुधबार १८:५५

मकवानपुर । आगामी बैशाख ३० गतेको लागि तय भएको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट भीमसेन मतहले उम्मेदवारी दावी गरेका छन् । हालै सम्पन्न कांग्रेस मकवानपुरको अधिवेशनबाट सचिव पदमा सर्वाधिक मतसहित निर्वाचित भएका महतले हेटौंडाको मेयरमा दावी गरेका हुन् ।

वैचारिक राजनीतिबाट पनि देश र जनताको पक्षमा काम गर्न सकिन्छ भन्ने धारणा बोकेका महतले हेटौँडाको मेयरमा आफ्नो दावी प्रस्तुत गरेका हुन् । तु खबरसँग कुराकानी गर्दै महतले आफु यसअघि पनि मेयरको उम्मेदवार भइसकेको र आम जनताको हितका लागि काम गर्ने एजेण्डा आफुसँग भएको बताए । उपमहानगरमा बलियो अवस्थामा रहेको एमालेलाई काउन्टर दिन आफु सक्षम रहेको भन्दै महतले कांग्रेस नेतृत्वले आफुलाई टिकट दिने विश्वाससमेत व्यक्त गरे ।

विगतमा कांग्रेसले जित्न नसकेको हेटौंडा उपमहानगरपालिकाको नेतृत्व आगामी निर्वाचनमा आफु उम्मेदवार भए कांग्रेसको पक्षमा पार्नै उनको दावी छ । । मकवानपुरका १०२ वटै वडामा पुगेर काँग्रेसको सिद्धान्त र आदर्श तथा स्व. विपीको विचारको प्रचार गरेका उनले आफ्नो पक्षमा टिकट ल्याउन केन्द्रीय नेतृत्वसँग लभिङ् गरिरहेको बताए ।

महत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि हेटौँडाको मेयर पदको उम्मेदवार थिए । उनले तत्कालीन समयमा नेकपा मालेबाट मेयर पदमा उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा उनले ३८१ मत प्राप्त गरेका थिए । सोही निर्वाचनपछि राजनीतिबाट केही समय टाढा रहेका महत कांग्रेस प्रवेश गरेर पार्टीमा आफ्नो छबि विस्तारमा सक्रिय रहेका थिए ।