हेटौंडामा एक वर्षमै बन्यो रंगशाला
![](https://www.tukhabar.com/wp-content/uploads/2022/03/htd-rangasala.jpg)
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एक वर्षमै तयार भएको मिनि रंगशालाको उद्घाटन गरिएको छ । पिप्ले युवा क्लबको अगुवाई एवम् हेटौंडा–५ नम्बर वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त रंगशाला शुक्रबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन् ।
रगंशालाको उद्घाटन गर्दै मेयर महतले विकास निर्माण र खेलकुदको क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले थुप्रै काम गरेको बताए । उनले जनताको पक्षमा विकास निर्माणको काम गरेकाले देशभरमा नै हेटौंडा उपमहानगरपालिका उत्कृष्ट रहेको बताए ।
उनले सबै जनप्रतिनिधिहरुको साथ र सहयोगबाट सो उपलब्धी हासिल भएको बताए । सबै वडाहरुमा समान रुपमा योजना बाँडफाड गरेर पक्षपात रहित ढंगबाट नगरपालिका क्षेत्रको विकासमा आफुले अभिभावकीय भूमिका निर्वाह गरेको कारण आज पिप्ले रगंशालाको योजना सफल भएको बताए । कानूनमा सबै अधिकार आफुमा निहित रहने व्यवस्था गरेको भएपनि त्यसको सदुपयोग गरेर सबै वडाको जनप्रतिनिधिहरुको विकासमा समेट्न सकेको उनको भनाई छ ।
उक्त रंगशाला करिब पौने २ करोड रुपैयाँको लागतमा निर्माण गरिएको क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए । रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिका र ५ नम्बर वडावासीको तर्फबाट १ करोड ३९ लाख रुपैयाँ, विभिन्न सहयोगी संस्था एवम् व्यक्तिहरुबाट करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष घिमिरेले बताए ।
हेटौंडा फुटबल खेलाडी उत्पादनको हिसाबले अग्रस्थानमा रहेको भएपनि रंगशालाको अभावमा यहाँ संचालन हुने फुटबल प्रतियोगिताहरु बाँसको अस्थायी प्यारफिटमा गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । रंगशालामा फुटबलसहित एथ्लेटिक्सको ट्रयाक समेत निर्माण गरिएको छ ।