वडाध्यक्ष र वडासचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
![](https://www.tukhabar.com/wp-content/uploads/2019/07/karmachari.jpg)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्च महानगरपालिका–१४ का वडाध्यक्ष र वडासचिवसहित ६ जनाविरुद्ध बुधबार भ्रष्टाचार दायर गरेको छ । आयोगले वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी र वडासचिव राज कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि घर–बाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस बापतको राजश्व रकमको रसिद नकाटी जथाभावी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजश्व रकम चलानी नराखी राजश्व रकम हिनामिना गरेको आरोप छ ।
आयोगले कुर्मीसहित महानगरका वडासचिव राज कुमार सिंह, तत्कालीन वडासचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अंसारी, संजय कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मीविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध १ लाख २ हजार ५ सय ८५ रुपैयाँ मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।