पहाड र मधेसमा फरक दिनमा होली किन ?
सरकारले प्रकाशन गर्ने गरेको वार्षिक विदाको सूचीमा होली पर्वको सार्वजनिक विदा पहाड र मधेसमा फरक दिन हुन्छ । यसको अर्थ हो कि दुई फरक दिनमा होली मनाइन्छ । पर्व एउटै हो – होली । मनाउने धार्मिक समुदाय एउटै हो – हिन्दू (यद्यपि एक धर्मावलम्बीले अर्को धार्मिक समुदायका मानिसको संस्कृति मान्ने, मनाउने तथा सामेल हुने, सद्भाव राख्ने, शुभकामना दिने चलनको निकै धेरै विस्तार भएको छ) । यस पर्वको उद्भवसम्बन्धी मूल सांस्कृतिक मान्यता पनि फरक छैन । अनि दुई दिन अर्थात् एक दिन अघि र एक दिन पछि गरी दुई दिन होली किन ? यसको कुनै सांस्कृतिक वा धार्मिक आधार छ ?
पहाडमा होलीलाई होलीभन्दा फागु पूर्णिमा बढी भन्ने चलन छ अर्थात् फागु पूर्णिमा र होली पहाडको लागि पर्यायवाची नाम हुन् । अझ कतिपय ग्रामीण समुदायका नागरिकले फागु पूर्णिमा बुझ्ने र होली नबुझ्ने अवस्था पनि रहेको छ । यद्यपि यस बुझाइको अवस्थामा भने विस्तारै परिवर्तन भइरहेको छ । होलीको दायरा फराकिलो बन्दै गइरहेको छ, फागु पूर्णिमाको अर्थ विस्तार भइरहेको छ । होली र फागु पूर्णिमाले कथ्यगत समानता प्राप्त गर्दै लगेको छ ।
होलीको पछाडि एउटा धार्मिक मिथक छ । द्वापर युगमा राक्षस जातिका हिरण्यकश्यपका छोरा देव जातिका नारायणका भक्त बन्न पुगे । त्यस युगमा देवता र राक्षस एक अर्काका विरोधी थिए । हिरण्यकश्यप आफूलाई विश्वमै सर्वोच्च शक्तिशाली ठान्दथे तर छोरो प्रह्लादलाई भने पिताको शक्तिभन्दा नारायण अर्थात् विष्णुको शक्तिमा विश्वास थियो । जब आफ्नो शक्तिप्रति छोराकै विश्वास हुँदैन र जब छोराले नै सबैभन्दा ठूलो विरोधीको गुनगान गर्छ भने दुनियाँले झन् पत्याउने हुँदैन भन्ने बुझी हिरण्यकश्यपले प्रह्लादलाई पन्छाउन अनेक उपाय गरे तर प्रह्लाद भने संयोगले जीवित रह्न सफल भइरहे । प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकालाई प्रयोग गरियो । होलिकालाई वरदान प्राप्त थियो कि अग्निले जलाउन सक्दैनथ्यो । तर आफ्नो वरदानको दुरुपयोग गरेको कारण परिणाम उल्टो भयो । अग्निको चित्तामा बसेर बालक प्रह्लाद अग्निदाह गराउने उद्देश्यले काखमा लिई होलिका बसिन् । निश्छल प्रह्लाद काखमा बसे । तर अग्निले नजलाउने शक्ति प्रह्लादलाई दियो । अग्निको जलाउने शक्ति प्रह्लादको लागि निस्तेज भयो र चित्तामा जलिन् होलिका । होलिकाको मृत्युले नारायणप्रति विश्वास बढ्यो अनि सबैले खुसी मनाए । कालान्तरमा हिरण्यकश्यपको पनि बध भयो ।
जुन दिन होलिकाको अग्निदाह अर्थात् होलिकादहन भयो, त्यस दिन फागुन पूर्णिमा थियो । फागुन महिनाको शुक्ल पूर्णिमाको दिन ढलेपछि रात्रीमा होलिकादहन भएको मानिएको छ । फागुन पूर्णिमाको दिन राति होलिकादहन भएको सम्झनामा अझै पनि फागुन पूर्णिमाको मध्यरातपछि तराई मधेसमा होलिकादहन गर्ने चलन छ । जसलाई स्थानीय बज्जिका भाषामा समत जलाउने भनिन्छ । अझै पनि गाउँभरका झन्डै हरेक घरबाट होलिकादहनमा सर्वसाधारण सहभागी हुन्छन् । मध्यरातपछि होलिकादहन गरेपछि होली खेल्न सुरु हुन्छ । यसैले मधेसमा मधेसी समुदायले पूर्णिमाको भोलिपल्ट होली मनाउँछन् ।
पहाडमा भने फागुन महिनाको शुक्ल पूर्णिमाको दिन होलिकाको दहन वा चिरदाह भएको मान्यता सर्वत्र छ । फागुन पूर्णिमाको दिन नै होलिकादहन भएकोले सोही दिन खुसीयाली मनाउने चलन पहाडमा छ । यसैले पहाडमा एक दिन पहिले अर्थात् फागु पूर्णिमाको दिन नै होली मनाइन्छ । मधेसभन्दा पहाडमा एक दिन पहिले पर्व मनाइने अर्को उदाहरण पनि छ । भदौ महिनाको कृष्ण जन्माष्टमी पर्वको दिन पनि यस्तै हुन्छ । शास्त्रहरुले कृष्णको जन्म भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिको रातमा भएको बताएका छन् । यसलाई सोझो रुपमा कृष्णको जन्म भदौ कृष्ण अष्टमीको दिन भएको भनिन्छ । पहाडमा यसै दिन कृष्ण जन्माष्टमी मनाइन्छ । जुन दिन जन्म भएको हो, सोही दिन जन्म दिवस मनाइएको हो तर मधेसमा भने भोलिपल्ट पर्व मनाइन्छ, मेला लाग्दछ । तर्क कस्तो रहेको छ भने राती जन्म भएको कुराको खुसीयाली दिउँसै कसरी मनाउने ? जब राती जन्म भएको हो भने त्यसको खबर सबैले भोलिपल्ट थाहा पाएका हुन् । जन्म हुनुभन्दा पहिले नै जन्मोत्सव मनाउने चलन नरहेकोले जन्म भएको रातिको भोलिपल्ट तयारी गरेर मनाउनु राम्रो हुने तर्क छ । दुवैतिरको तर्कलाई आ–आफ्नो ठाउँमा उचित नै मान्नु पर्छ ।
चाडपर्वहरुमा तर्कले भन्दा बढी आस्थाले काम गरेको हुन्छ । आस्थाको सोझै र प्रत्यक्ष देखिने वैज्ञानिक आधार नहुन पनि सक्छ । वैज्ञानिक आधारको खोजी त विस्तारै समाजले गर्दै जाने हो तर आस्था त समाजमा कहिलेदेखि र कसरी चलेको हो भन्ने कुरोको खासै प्रमाण हुन्न । कतिपय चाडपर्वहरुका पछाडि शास्त्रीय आधार हुन्छन् र कतिपय चाहिँ मिथककै भरमा परम्परादेखि चलिरहेको हुन्छ । कतिपय चाहिँ आधुनिक युगको देनको रुपमा रहेको हुन्छ ।
होली पर्वको पछाडिको मिथक वा शास्त्रीय आधार खासै फरक छैन । एउटै पर्व मान्ने समुदायको बिचमा कुनै कारणले सम्वादहीनता बढ्दै जाँदा र सम्वादहीनताले समयको अन्तराल लिँदै जाँदा निसन्देह स्वरुपमा पनि भिन्नता आउँदै जान्छ । कुनै पनि पर्व वा संस्कृतिको जब स्वरुपमा भिन्नता आउन थाल्दछ तब त्यसलाई मौलिकता पनि भन्न मिल्छ । अहिलेको होलीको पहाड र मधेसमा जुन रुपमा पार्थक्य देखिन्छ, त्यो सारमा पर्व एउटै हो र रुपमा मात्र फरक छ । होलीको एउटै संस्कृतिलाई फरक दिनमा र केही फरकपनासहित मान्नु चाहिँ यही मौलिकताको विकास हुँदै गएर हो । समयको अन्तराल र तत्युगमा प्रभावकारी सञ्चारको अभावले गर्दा अन्य धेरै संस्कृतिमा भिन्नता आएको हो । यसलाई स्वाभाविक पनि मान्नु पर्दछ । धेरै जाति तथा समुदायको संस्कृति एक अर्काबाट प्रभावित भएको पाइन्छ तर होलीको सबालमा भने यसको अन्तर्य अलग छ । पहाडमा भन्दा मधेसमा होली निकै बढी उत्साह र धुमधामका साथ मनाइन्छ तथा कालान्तरमा सामाजिक–सांस्कृतिक स्वरुपगत मान्यता पनि फरक हुँदै गएको यथार्थ हो पनि ।