सार्वजनिक सवारीको भाडादर बढाउने सरकारको तयारी
काठमाडौं । सरकारले फेरी सार्वजनिक सवारीको भाडादर बढाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको हो ।
विभाग स्रोतका अनुसार यो प्रतिवेदन एक–दुई दिनमै विभागबाट मन्त्रालयमा पेश हुने र भाडा बढाउने निर्णय हुनेछ । संघ सरकारले भाडा बढाएमा प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउनुपर्नेछ । हालकै अवस्थामा सार्वजनिक सवारीमा करिब ११ देखि साढे ११ प्रतिशतसम्म भाडा बढ्न सक्ने देखिएको छ ।
पेट्रोलियम पदार्थको समायोजन गर्दा न्युनतम थ्रेसहोल्ड नाघेमा स्वचालित रुपमा भाडा समायोजन हुने गरी व्यवस्था गर्न प्रस्ताव गरेको छ । त्यसो गर्दा तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने विभागले जनाएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र डिजल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ ।