हेटौंडामा बासुदेव बहुउद्देश्य व्यापारिक भवनको शिलान्यास

तु खबर संवाददाता
२०७८ चैत्र १२,शनिबार ०८:३४

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–४ हुप्रचौरमा रहेको बासुदेव सभागृह भत्काएर व्यापारिक भवनको शिलान्यास गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बासुदेव बहुउद्देश्य व्यापारिक भवनको शुक्रबार शिलान्यास गरेका हु्न ।

मेयर महतले विधिवत् पूजा गरी ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनमा भ्यूटावरसहितको बहुउद्देश्यीय भवनको शिलान्यास गरेका हुन् । भवन निर्माणपश्चात् उपमहानगरको आन्तरिक स्रोतमा वृद्धि हुने मेयर महतको भनाइ छ । बहुउद्देश्यीय भवनको भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको थियो । कुल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरेर काम सुरु गरेको हो ।

११ तले भवनमा सबैभन्दा तल दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइ वटा भर्याङ, सबैभन्दा माथि भ्यूटावर निर्माण गरिने योजना रहेको महाशाखा प्रमुख सत्यनारायण साहले बताए । ३ वर्षमा निर्माण कार्य सक्नेगरी ठेक्का दिइएको साहले बताए । हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० का वडाध्यक्ष किताबसिंह लामा, हेटौंडा–१४ का वडाध्यक्ष दिपक खड्का, उपमहानगरपालिकाका महाशाखाका प्रमुखहरु, कर्मचारीहरु, समाजसेवीलगायतको आतिथ्यता रहेको थियो ।