मकवानपुरको महक–१

सञ्जय साहमित्र
२०७८ चैत्र २०,आईतवार १५:१५

मकवानपुर । विषयवा प्रसङ्गले अर्को अर्थ नलागेमा मकवापुरको महक भन्नुको तात्पर्य मकवानपुरको साहित्यको महक बुझ्नुपर्छ । मकवानपुरको साहित्यको महक आफैँमा एउटा बहसको विषय हो । यो खासै बहसको विषय त होइन तर, विशाल बहसको क्षेत्र भने अवश्य हो ।

मकवानपुरको साहित्यको आफ्नै मह छ । यो महमा मौलिकताको  हक छ । यसै सन्दर्भमा मकवानपुरको साहित्यको महकले वातावरणलाई सौन्दर्यमय बनाएको छ, सुगन्धित पारेको छ । मकवानपुरको साहित्यको महक धेरै किसिमले उपयोगी छ । सुन्दर छ, स्तुत्य छ । मकवानपुरको साहित्यले पाएको विस्तारको यो एउटा प्रतिबिम्ब हुनेछ – मकवानपुरको महक । यसैले यसलाई साहित्यिक महक भन्दा पनि हुन्छ । मूलतःमकवानपुरबाट प्रकाशित साहित्यिक कृतिहरु जुन मेरो हातमा पर्दछन्, तिनीहरुबारे प्रकाश पार्ने प्रयास गर्नेछु । यसैले यो एउटा शृङ्खलाको रुपमा जान्छ ।

यदि काठमाडौँलाई छोड्ने हो भने मकवानपुर यस्तो जिल्ला हो जहाँ सबैभन्दा बढी साहित्यिक गोष्ठी, साहित्यिक छलफल र चर्चा भईरहन्छ । साहित्यप्रति सबैभन्दा बढी संवेदनशील मकवानपुर नै छ । यसैले यदी भूगोलको परिवेशलाई आधार मानेर हेर्ने हो भने उही देशको राजधानीलाई छाडेर मकवानपुर जति पुरस्कार तथा सम्मान अन्यत्रकतै स्थापित होलान् ?

मकवानपुरमा साहित्यिक संस्थाहरु पर्याप्त छन् । सबै साहित्यिक संस्थामा एक किसिमको प्रतिस्पर्धा छ । एक किसिमको समन्वय छ । यही प्रतिस्पर्धा र समन्वयले मकवानपुरको साहित्यको विस्तार भइरहेको छ । मकवानपुरे साहित्यको महक मकवानपुरको महक बनिरहेको छ ।

इतिहासलाई जति धेरै उत्खनन् गर्दै गयो मकवानपुरको माटो उतिउर्बर बन्दै जाने देखिएको छ । अहिले त राजधानी नै बनेको छ हेटौंडा छ । अहिले मकवानपुर भनेर जुन नामको सन्दर्भ छ, त्यो सन्दर्भले पनि विगतमा राजधानीको महक राखेको छ । अझ कैयौँ शताब्दी पछाडी जाने हो भने अन्य समयमा पनि मकवानपुरमा राजधानी भएको इतिहास पाउने सम्भावना रहेको छ । उसै त देशको साहित्यिक राजधानी मकवानपुरलाई मानिन थालिएको छ । वास्तवमा देशको साहित्यिक राजधानी भन्ने सुगन्धले मकवानपुरको साहित्य–पुष्पको सौंन्दर्य विस्तार भएको छ, आकर्षक भएको छ र मकवानपुरको महक टाढासम्म फैलिएको छ ।

देश सङ्घीय संरचनामा गएपछि बागमती प्रदेशको राजधानी बनेको हेटौंडा । यो राजनीतिक प्राप्ति हो मकवानपुरको । तर, मकवानपुरलाई साहित्यको राजधानी मानिनु वर्तमान पुस्ताका सर्जकको आर्जन हो । यो उपलब्धि हो र यस उपलब्धिमा अहिले जसले आफूलाई मकवानपुरको साहित्यमा होमेका छन्, जसले आफ्नो लगानी मकवानपुरको साहित्यमा छ भनेर मानेका छन् र जो मकवानपुरको साहित्यिक माटोलाई श्रद्धा गर्दछन्, सबैको साझा उपलब्धि हो । यो कुनै घोषित उपाधि त होइन तर, जसरी विदेशमा कला, साहित्य, सङ्गीत तथा अन्यवाङ्मयको राजधानी भनेर कुनै सहरलाई बोलाइएको पाइन्छ, सुनिन्छ, त्यसरी विस्तारै मकवानपुरले आफ्नो विशिष्टता हासिल गर्दै जानु उपलब्धि हो । मकवानपुरको महकप्रति ग्राहक, उपभोक्तावा भावकको विश्वास बढ्दै जानु हो ।

मकवानपुरको साहित्यले आर्जन गरेको विशिष्टता साहित्यप्रति सर्वसाधारणको अनुराग पूर्ण सहानुभूति हो । लगावहो र विश्वास हो । यसले गर्दा हरेक वर्ष जसले साहित्यमा कुनै योगदान दिएका छैनन्, तिनले म कसरी योगदान दिन सक्छु भन्ने सोचाइ राख्दै पुरस्कारको स्थापना गरिरहेका छन् । मकवानपुरको समग्र साहित्यमा जति अक्षय कोषको स्थापना भइसकेका छन्, सङ्ख्यात्मक दृष्टिकोणले अन्यत्रकतै नेपालमा होला किन होला ?, भएपनि एक दुई ठाउँमा होला । साहित्यिक पुरस्कारको स्थापनामा मकवानपुर अगाडि छ, पुरस्कारको अक्षय कोष स्थापनामा अगाडि छ ।

यी दुई काममा गैरसाहित्यिक मानिसको संलग्नता जुन रुपमा रहेको छ, त्यो स्तुत्य यस अर्थमा पनि रहेको छ, कि यसले साहित्यको पाठक बढाएको छ, साहित्यानुरागी बढाएको छ, साहित्यलाई अनुत्पादक ठान्ने जमातलाई घटाएको छ र मकवानपुरको साहित्यिक महकलाई तिनका आफन्तमार्फत गाउँगाउँ, कुनाकुना र अन्य जिल्लामा पनि विस्तार गरेको छ । मकवानपुरको साहित्यको अनेक महक छ । हरेक महकको आफ्नै स्वाद छ । हरेक स्वादको फरक संवाद छ । मकवानपुरको महक आफैँमा रङ्गीचङ्गी बगैँचा छ । जहाँ हरेक पुष्प आफैँमा शोभायमान छ र हरेक फूलको आफ्नै महत्व छ ।

मकवानपुरको साहित्यिक महकमा नेपाली भाषाको साहित्यको महक मात्र रहेको छैन । अन्य भाषाको साहित्य पनि रहेको छ । फेरी पनि अन्यथा अर्थ नलागोस्, यो पङ्क्तिकारको मातृभाषा बज्जिका हो । बज्जिका भाषाको पहिलो रचनाको रुपमा बज्जिका भाषामा लघुकथा मकवानपुरले प्रकाशित गरेको हो । मकवानपुरको झरना साहित्यिक पत्रिकाले नै पहिलो बज्जिका साहित्यिक रचना प्रकाशित गरेको इतिहास देखिएको छ भने मकवानपुरको रामबाण प्रकाशनले बज्जिका भाषाको इतिहासमा नेपालमा पहिलो कृति प्रकाशन गर्ने काम गरेको छ । अहिले बज्जिका भाषाको बारेमा धेरै रुचि बढेर गएको छ, साहित्य सिर्जना भइरहेका छन् तर, यसको इतिहास खोतल्दै जाँदा मकवानपुरको साहित्यिक महकसित जोडिन पुगेको छ ।

मकवानपुरको साहित्यिक माटोमा हुर्केका साहित्यिक विरुवाहरु आज देश र विदेशका विभिन्न भाषामा पुष्पित हुन पाएका छन् । हो, सङ्ख्यामा कम होलान् तर, गुणात्मकतामा भने बहुविधामा मकवानपुर सिर्जित छ । परिचित छ । मकवानपुरको गाउँगाउँमा साहित्य सिर्जनाको पुष्पहरू मुस्कुराउँछन् । यी पुष्पहरूले देशव्यापी सुगन्ध छर्छन् । यही सुगन्धले देशको कुनाकाप्चालाई तानेको छ । आकर्षित गरेको छ । र, त आज देशका कुना कुनाबाट साहित्यकारहरू मकवानपुरको साहित्यिक तीर्थाटन गर्न मन पराउँछन् ।

मकवानपुरको साहित्यिक गतिविधि सधैँ जसो रेडियो तथा पत्रपत्रिकामा आइरहेका छन् । मकवानपुरले रेडियो र टेलिभिजनका लागि साहित्यिक कार्यक्रमको उत्पादन र प्रसारण पनि गर्दै आइरहेको छ । यसै शृङ्खलामा मकवानपुरको महक पनि जोडिन आइपुगेको छ । मकवानपुरको साहित्यसित जोडिएर, मुख्य गरी साहित्यिक कृतिलाई समीक्ष्य रूप दिएर तथा साहित्यसित सम्बन्धित गराएर यो शृङ्खला प्रस्तुत हुनेछ ।

जसरी मकवानपुरको साहित्यको विस्तार भइरहेको छ, त्यसरी अनलाइन पत्रकारितामार्फत सम्भव भएसम्म मकवानपुरको माटोको गन्धलाई अझमलिलो र अझ उब्जाउ बनाउन यस शृङ्खलाले काम गर्नेछ । कालान्तरमा यस शृङ्खलाको पनि मूल्याङ्कन हुने आधार तयार हुनेछ भन्ने विश्वास रहेको छ । अबको दिनमा मकवानपुरको साहित्यिका विशिष्टता, उपलब्धि तथा प्राप्ति र सरकोरजन्य विषयसित साक्षात्कार गर्दै अगाडि बढ्नेछौँ भन्ने विश्वास दिलाउन चाहन्छु ।