प्रेस युनियन महाधिवेशनको तयारी तीव्रः उपसमिति संयोजकमा दाहाल, सह–संयोजकमा अधिकारी

तु खबर संवाददाता
२०७८ चैत्र २३,बुधबार १७:०३

मकवानपुर । प्रजातान्त्रिक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको आसन्न जेठ १३ र १४ गते हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गरी आज तयारी छलफल भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा हुने महाधिवेशनका लागि आज तयारी छलफल भएको हो । नवौँ महाधिवेशनको उद्घाटन तथा निर्वाचन आवास तथा भोजन, आर्थिक पक्षसहित समग्र व्यवस्थापनको विषयमा केन्द्रीय समिति र मकवानपुर शाखाबीच छलफल भएको छ । कार्यक्रममा सहभागीहरूले मतदाता नामावली निश्चित समय अगावै टुंगो लगाउने, प्रतिनिधि दर्ता अगावै गर्ने र शुल्क भुक्तानीलाई बैंकिङ प्रक्रियामार्फत् गर्ने व्यवस्था मिलाउने, सचिवालय स्थापना गर्नेलगायत विषयमा सुझाव दिएका थिए । कार्यक्रममा अधिवेशनलाई व्यवस्थित गर्न कुनै कसर बाँकी नराख्ने मकवानपुर शाखाले प्रतिवद्धता जनाएको थियो ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने महाधिवेशनको आवश्यक तयारीका लागि महाधिवेशन आयोजक समन्वय उपसमिति गठन गरिएको छ । समितिको संयोजक र सह–संयोजकमा युनियनका केन्द्रीय सदस्यद्वय राममणि दाहाल र गिरिजाप्रसाद अधिकारीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सचिवालय, मञ्च तथा स्वागत समिति संयोजकमा पोष्टराज अधिकारी (कुमार), आवास समिति संयोजकमा रूपेश दुलाल र भोजन समिति संयोजकमा सुजन विडारीलाई जिम्मेवारी दिइएको छ ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी (कुमार) को अध्यक्षतामा भएको छलफल कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, कार्यवाहक महासचिव भिष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य राममणि दाहाल, गिरिजा अधिकारी, सिर्जना अर्याल, वसन्त पराजुली, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल, महासंघ जिल्ला शाखा अध्यक्ष एवं युनियन मकवानपुरका उपाध्यक्ष मणिराज गौतमलगायतको उपस्थिति रहेको थियो । छलफलपश्चात केन्द्रीय टोलीले महाधिवेशन स्थलको अवलोकनसमेत गरेको छ ।