मातृभूमि साहित्य समाजद्वारा विभिन्न विधाका व्यक्ति सम्मानित
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधाका ६ जनालाई सम्मान गरेको छ । मातृभूमि मकवानपुरले शनिबार हेटौंडामा एक समारोहबीच संगीगकार शक्ति बल्लभ, पुरातत्वविद् बसन्त विडारी, साहित्यकार सीताराम अधिकारी, नाटककार उज्ज्वल शर्मा भण्डारी, अधिकारकर्मी सरस्वती बर्तौला र बाल कलाकार जेनिश उप्रेतीलाई सम्मान गरेको हो ।
२० हजार रुपैयाँ राशीका नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार २०७८ बाट काठमाडौंका शक्ति बल्लभलाई, ११ हजार रुपैयाँ राशीका होमनाथ–बलदेवी मातृभूमि छन्द साहित्य सम्मान–२०७८ बाट गोरखाका छन्द कवि सिताराम अधिकारीलाई, १५ हजार रुपैयाँ राशीको क्षेत्रबहादुर स्मृति सम्मान–२०७८ बाट बसन्त विडारी, १५ हजार रुपैयाँ राशीको राजकुमार स्मृति माृतभूमि सम्मानबाट उज्ज्वल शर्मा भण्डारीलाई, १० हजार रुपैयाँ राशीको मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान–२०७८ बाट सरस्वती बर्तौला र मंगलादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल सम्मान–२०७८ बाट द भ्वाइस अफ किडका विजेता गायक जेनिश उप्रेतीलाई सम्मान गरिएको हो ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एवम् पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकारहरुले रचना वाचन समेत गरेका थिए ।