किशोर पन्थीको ‘जिरो माइल’ लोकार्पण
काठमाडौँ । पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘जिरो माइल’ शनिवार लोकार्पण भएको छ । अमेरिकी अध्यागमनको विषयलाई विशेष रुपमा उठान गरेर लेखिएको पुस्तकमा अन्य १११ टिप्स समावेश गरिएको छ ।
अध्यागमन कानूनको विषयमा आवश्यक जानकारी समेटिएको सो पुस्तकमा आप्रवासी र गैरआप्रवासी भिसामा अमेरिका आउन चाहानेहरुका लागि विभिन्न टिप्स समावेश छ । पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार पन्थीले अमेरिकाको अध्यागमन कानूनबारे सही जानकारी नहुँदा धेरै नेपालीहरुले समस्या भोग्नु परिरहेको र कैयन व्यक्तिहरु दलालको फन्दामा परेर मानव तस्करीको शिकारसमेत हुन पुगेकोले त्यस्ता नागरिकहरुलाई आवश्यक जानकारी दिने उदेश्यले जिरो माइलको तयार पारिएको बताए ।
पुस्तकमा अध्यागमनबारेमात्र नभई आप्रवासीहरुले ध्यान दिनुपर्ने अन्य विषयहरुमा समेत टिप्सहरु प्रदान गरिएको छ । अमेरिकाको जटिल अध्यागमन कानूनलाई सरल तरिकाले व्याख्या गर्ने प्रयास पुस्तकमा गरिएको लेखक पन्थीले जानकारी दिएका छन् । कार्यक्रममा पत्रकारहरु शुभशंकर कँडेल र यशोदा तिम्सिनाले पुस्तकको समीक्षा गरेका थिए । गुुल्मी स्थायी घर भएका पन्थी पछिल्लो १२ बर्षदेखि न्युयोर्कमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी १० बर्षदेखि न्युयोर्कबाट प्रकाशन हुने ‘खसोखास डटकम’ का प्रधानसम्पादक हुन् ।