स्थानीय निर्वाचनको ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द हुने
काठमाडौं । स्थानीय तह निर्वाचन हुनु भन्दा ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको जनाइएको छ । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको थियो ।