स्थानीय चुनावमा नेपाल–भारतको सीमा नाका ७२ घण्टा बन्द हुने
काठमाडौं । आसन्न स्थानीय तहको चुनावमा नेपाल र भारतको सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले सो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जानकारी दिए ।
भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय चुनावको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि नै सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ कवाडीले जानकारी दिए ।
बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ कवाडीले बताए ।