आजदेखि यी सात विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने

तु खबर संवाददाता
२०७९ बैशाख १५,बिहीबार ०९:३०

काठमाडौं । आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएका छन् । आजबाट नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्चालनको अनुमति दिएको हो ।

यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्चालन हुँदै आएका थिए । तर, बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टासम्म सञ्चालन हुने भएका हुन् । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएको छ ।