साहित्यकार मसान उपासकले ल्याए एकैसाथ दुई कृति
मकवानपुर । साहित्यकार मसान उपासकले एकैसाथ दुई कृति लिएर पाठक माझ आएका छन् । लामो समयदेखि साहित्य लेखनमा क्रियाशिल मसानले कविता र गजल सङ्ग्रह एकैसाथ ल्याएका हुन् । साहित्य सङ्गम मकवानपुरको आयोजनामा भएको कृति विमोचन कार्यक्रममा मसानद्वारा लिखित कविता सङ्ग्रह ‘ मानचित्रमा देश’ र ‘ अक्षर आराधन’ गजल सङ्ग्रह बुधबार एकसाथ विमोचन गरिएको हो ।
सङ्गमको प्रेक्षालयमा भएको कार्यक्रममा साहित्यकार मसानका माता पिता गोमा सञ्जेल र रामप्रसाद सञ्जेल, साहित्यकार प्राध्यापक डाक्टर जिवेन्द्रदेव गिरी, साहित्यकार आरसी रिजाल र निमेष निखिलले सयुक्त रुपमा कृति विमोचन गरेका थिए ।
कविता सङ्ग्रह ‘ मानचित्रमा देश’ ४६ वटा कविता सङ्ग्रहित रहेका छन् । यस्तै गजल सङ्ग्रह ‘ अक्षर आराधन’ मा ५७ वटा गजल समावेश गरिएको छ । कविता सङ्ग्रह ९७ र गजल सङ्ग्रह ६४ पृष्ठको रहेको छ । विमोचन गरिएको कविता सङ्ग्रह ‘ मानचित्रमा देश’ माथि साहित्यकार तथा पत्रकार रामकुमार एलनले टिप्पणी गरेका थिए । गजल सङ्ग्रह ‘ अक्षर आराधन’ माथि साहित्यकार देवराज तिवारीले टिप्पणी गरेका थिए । सङ्गमका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।