मेयर पदका उम्मेदवार अनन्तको विगत: जेल जीवनदेखि संविधानसभा सदस्यसम्म

तु खबर संवाददाता
२०७९ बैशाख १५,बिहीबार १८:१६

मकवानपुर । अनन्त पौडेल मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्राका एक यात्री हुन् अनन्त । चार दशकभन्दा बढी कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका अनन्तको जीवन संघर्षमय छ । २०३५ सालदेखि तत्कालीन नेकपा मालेबाट राजनीतिक जीवनलाई अघि बढाएका उनले २०७९ सम्म आइपुग्दा थुप्रै चुनौती सामना गरेका छन् । विद्यार्थी आन्दोलनको क्रममा पटक–पटक गिरफ्तार भएका उनले कष्टपूर्ण जेलजीवनसमेत भोगेका छन् ।

उतिबेलाको सत्ताले आफ्नो विरुद्ध भएकाहरुलाई झुटा मुद्दा लगाउँथ्यो । पञ्चायती व्यवस्थामा तत्कालीन शासकहरुबाट जनतामाथि शोषण र दमन व्यापक थियो । त्यस्तो निरंकुश शासन व्यवस्थाका कारण समाजका सबै क्षेत्र आक्रान्त थियो । कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले ०३७ साल ताका तत्कालीन निरंकुश शासन व्यवस्थाका विरुद्ध आन्दोलन गरिरहेको थियो । सोही आन्दोलनका क्रममा अनन्तलाई गिरफ्तार गरियो र उनी करिब डेढ वर्ष कष्टपूर्ण जेलजीवन बिताउन बाध्य भए ।

०६२/०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अनन्त ०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित भए । ०७० मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट विजयी भएका उनले संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरे । पार्टी राजनीतिक र संसदीय फाँटको उल्लेख्य जिम्मेवारीमा रहेका अनन्तलाई नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिको प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

२०१९ सालमा मकवानपुरको भीमफेदी गाउँपालिकामा बुबा डिल्लीनाथ पौडेल र आमा हरिप्रिया (देवी) पौडेलको कान्छो सन्तानका रुपमा जन्मिएका अनन्तको बाल्यकाल सामान्य रह्यो । उनी ०३५ सालमा तत्कालीन नेकपा मालेमा आवद्ध भएका थिए । ०३६ को विद्यार्थी आन्दोलनमा उनले देखाएको सक्रियताकै कारण ०३८ मा पार्टीले उनलाई अखिलको जिल्ला कोषाध्यक्षको जिम्मेवारी दियो । ०३९ मा अखिल सचिव हुँदै ०४० मा उनले जिल्ला अध्यक्षको जिम्मेवारी पाए ।

०४१ मा विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण जेलजीवन विताएका उनी ०४३ मा मालेको तत्कालीन हेटौंडा नगर कमिटी सचिव भए । ०४४ मा जिल्ला कमिटीमा रहेर काम गरेका उनले ०४७ मा नेकपा एमालेको जिल्ला कमिटीमा रहेर कार्यकुशलता प्रदर्शन गरे । ०४७ देखि ०५१ सम्म एमालेको जिल्ला संयोजक भई काम गरेका उनले ०५१ मा सुकुम्वासी आयोग मकवानपुरको अध्यक्षको जिम्मेवारी पाए ।

०५० सालमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाएकै कारण उनले मकवानपुरमा लोकप्रियता बटुल्दै गए । दामन, पालुङ, आमभञ्ज्याङ्, फापरवारी, राइगाउँलगायतका क्षेत्रहरुमा बाढीका कारण धेरै घरबारविहीन भएका थिए । उनकै पहलमा मन्त्रिपरिषदबाट निर्णय गराई हेटौंडा–१३, पदमपोखरीमा ४ सय परिवारलाई उनीहरुकै नाममा लालपुर्जा बनाइ जग्गा वितरण गरिएको थियो । २०५४ बाट नेकपा एमालेको तत्कालीन नारायणी अञ्चल कमिटी सचिवको जिम्मेवारी सम्हालेका उनले ०६९ सम्म २ पटक अञ्चल कमिटी सचिवका रुपमा काम गरे । उनी जिल्ला विकास समितिको सदस्यसमेत भए ।

अनन्त हाल नेकपा एमालेको केन्द्रीय निर्वाचन विभागको सदस्य हुन् । उनी हाल सहिद स्मारक विकास समितिको सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, भुटनदेवी माद्यमिक विद्यालय र प्रगति माद्यमिक विद्यालयको सल्लाहकार, मध्यनेपाल पर्यटन विकास समितिको संयोजकलगायत दर्जनौँ संघ संस्थाहरुमा आवद्ध छन् । वाणिज्य संकायमा स्नातकसम्मको अध्ययन गरेका अनन्त हेटौंडामा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेको र समृद्ध हेटौंडा उपमहानगर बनाउने योजना आफूसँग रहेकाले मेयर पदमा उम्मेदवारी दिएको बताउँछन् ।