मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लंघनबारे सर्वदलीय बैठक

तु खबर संवाददाता
२०७९ बैशाख २०,मंगलवार ०९:४९

मकवानपुर । मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दै गएपछि प्रमुख जिल्ला अधिकरी भरतमणि पाण्डेको आह्वानमा सर्वदलीय बैठक बसेको छ । सोमबार बसेको बैठकमा निर्वाचन आचारसंहिता पालना नभएको विषयमा परेको उजुरीमाथि सरोकारवालाहरुबीच छलफल भएको थियो ।

सबै दलका सहभागी प्रतिनिधिहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरे । तर, मकवानपुरमा खुलेआम आचारसंहिता उल्लंघन भइरहेको पाइएको छ । विभिन्न दलहरुले झण्डा, व्यानर बोकेर लाउड स्पिकरबाट गीत र प्रचार सामग्रीहरू बजाउँदै हिंडेका छन् ।

बैठकमा सहभागी नेपाल विवेकशील पार्टीका हेटौंडा उपमहानगरपालिका वडा नं १७ का वडाध्यक्षको उम्मेदवार कृष्णदेव भण्डारीले ठूला दलले नै आचारसंहिता उल्लंघन गरिरहेको भन्दै आपत्ती जनाए । उनले भने ‘मैंले पढेको छैन्, मलाई थाहा छैन् भन्ने बहानामा निर्वाचन आचारसंहिता उल्लंघन गर्न पाइदैन।’

उनले नामै तोकेर भने, ‘जिल्लामा सक्रिय दलहरूमध्येमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, र राप्रपाले ठूलाठूला झण्डाहरू गाडीमा बांधेर निर्वाचन सम्बन्धी गीत र अन्य प्रचार सामग्रीहरू बजाउँदै टोलटोलमा पुगेका छन् । यस्ता आचारसंहिता विपरित क्रियाकलापहरू रोक्न जिल्ला प्रशासन कार्यालय मकवानपुर, मुख्य निर्वाचन अधिकृतको कार्यालय, हेटौंडा र जिल्ला प्रहरी कार्यालय, मकवानपुरले अबिलम्ब कानूनी प्रक्रिया अगाडि बढाउनु पर्दछ।’ उनले थपे ।

आफैले निर्वाचन आयोगमा गई पूर्ण रूपमा पालना गर्छु भनी हस्ताक्षर गरेको आचारसंहिताको उल्लंघन गरेर दलहरूले आफ्नो अनैतिकता र निर्लज्जताको प्रदर्शन गरेको भन्दै भण्डारीले गुनासो गरे । शिक्षक तथा कर्मचारीहरूले आचारसंहिताको बेवास्ता गरी प्रचारप्रसारमा हिंडेका र सामाजिक संजालमा आफ्नै वालबाट उम्मेदवारहरूको पक्षमा भोट मागेको तथा मेरो पार्टी भन्दै मतदातालाई प्रभावित पार्ने काम गरेको उजुरी परेकाले प्रमाणका आधारमा विभागीय कारवाही अगाडि बढाउने कुरा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बैठकमा जानकारी गराए ।

साथै उनले दलका नेताहरूले पनि सरकारी कर्मचारीहरूलाई चुनावी अभियानमा नहिँडाउन सुझाव दिए ।