कैलाशमा मतदाता शिक्षासँगै आफ्ना योजना सुनाउँदै गठबन्धनका साझा उम्मेदवार

तु खबर संवाददाता
२०७९ बैशाख २१,बुधबार १०:१३

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार लोकबहादुर मुक्तान र उपाध्यक्ष पदका उम्मेद्वार बाल कुमार मल्ल ठकुरी आफ्ना योजनाहरु सहित स्थानीयको घर–घरमा पुगेका छन् । उनीहरुले त्यहाँका जनतालाई आफ्नो टिम निर्वाचित भएपछि गाउँपालिकामा गर्ने विकास सम्बन्धि योजनाहरुको बारेमा जानकारी गराएका छन् ।

व्यावसायिक कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, सिंचाई, विद्युत, सञ्चार, उद्योग, पर्यटन, सिप र रोजगार, खेलकुद लगायतका क्षेत्रमा पाँच वर्ष भित्रमा आफुहरुले गर्ने योजनाका सम्बन्धमा मतदातालाई जानकारी गराएको अध्यक्ष पदका उम्मदवार लोक मुक्तानले बताए । ज्येष्ठ नागरिक, एकल महिला, अशक्त तथा अपाङ्गता भएका नागरिक समेतलाई समेट्ने गरी आफ्नो टिमसँग विशेष योजना रहेको उनले बताए ।

घर–घर पुगेका गठबन्धनका उम्मदवारले आफुले पाँच वर्षमा गर्ने कामसम्बन्धि योजनासँगै मतदाता शिक्षा पनि दिएका छन् । उनीहरुले मतदाताहरुबाट प्राप्त मत खेर जान नदिन मत हाल्ने तरिकाका सम्बन्धमा स्थानीयलाई नमुना मतपत्रमा आँफै भोट हाल्न लगाएर भोट हाल्ने तरिका सिकाइरहेको उपाध्यक्ष पदका उम्मेदवार बाल कुमार मल्ल ठकुरीले बताए । मतदाता शिक्षाका लागि प्रत्येक वडामा स्वयंसेवक खटाइएको उनले बताए ।

आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको गठबन्धन टिमले पहिलो चरणमा कैलाश गाउँपालिकाका सबै वडा पुगी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । आज बुधबारदेखि मतदाता शिक्षालाई विशेष प्राथमिकता दिँदै दोस्रो चरणका कार्यक्रम सुरु गरिएको अध्यक्ष पदका उम्मेदवा लोकबहादुर मुक्तानले जानकारी दिए ।

आज कैलाशका वडा नम्वर ५ र ६ का गोगने, पकनी लगायतका ठाउँमा पुग्ने कार्यक्रम रहेको उनले बताए । कैलाश गाउँपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका लोकबहादुर मुक्तान अध्यक्ष पदमा र नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल ठकुरीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । चुनावी अभियानका क्रममा दुवै दलका उम्मेद्वारले संयुक्त रुपमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।