वोलबहादुरको पृष्ठभूमि: अनेरास्ववियूकोे प्रारम्भिक कमिटिदेखि वडाअध्यक्षको उम्मेदवारसम्म
मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न गरी उम्मेदवारहरु चुनावी अभियानमा जुटिसकेका छन् । राजनीतिक दलको प्रतिनिधित्व गर्ने तथा स्वतन्त्र उम्मेदवारहरु पनि गाउँ/नगर विकास गर्ने एजेण्डा बोकेर जनताको घरदैलोसम्म पुगिरहेका छन् । तु खबरले स्थानीय निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरुसँग उनीहरुको पृष्ठभूमि, सामाजिक योगदान, विकासका एजेण्डालगायतका विषयमा जान्ने प्रयास गर्दै आएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को वडा अध्यक्ष पदमा एमालेको तर्फबाट बोलबहादुर कार्की उम्मेदवार छन् । २०४३ फागुन ११ गते मीनबहादुर र सुमित्रा कार्कीको सन्तानको रुपमा जन्मिएका उनी नेकपा एमाले नगर कमिटिको बहालवाला सचिव हुन् । सामाजिक रुपान्तरणसँग सम्बन्धित भएर पिएचडी अध्ययनरत उनले समाजशास्त्र तथा मानवशास्त्र र ग्रामिण विकास विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् ।
कार्कीको राजनैतिक यात्रा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट प्रारम्भ भएको हो । उनी २०५७ सालमा अनेरास्ववियूको प्रगति उच्च माविको प्रारम्भिक कमिटिका सदस्य भए । त्यसपछि ०६१ मा उनी प्लस टु कमिटिको अध्यक्ष, ०६३ मा अनेरास्ववियूको नगर कमिटिको उपाध्यक्ष भए ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहको निरंकुश शासनविरुद्ध हेटौंडामा उनी दैनिक जसो मसाल लिएर सडकमा उत्रिएका हुन्थे । ‘विद्यार्थी आन्दोलनमा सक्रिय हुँदा यहाँ भएका विभिन्न राजैनीतिक आन्दोलनहरुमा संलग्नता हुनु स्वभाविक नै थियो । परिवर्तनको दिशामा गणतन्त्र स्थापना गर्न म लगायत धेरै युवाहरुले योगदान पु¥याउनु भएको छ । र, त्यसमा मेरो पनि योगदान छ’, उनले भने ।
अनरास्ववियूकै क्षेत्रीय कमिटि (०६४), जिल्ला कमिटिको सचिवालय सदस्य (०६४) हुँदै जिल्ला सचिव (६७) मा निर्वाचित भए । जिल्ला तहको काम गरिरहेको बेला ०६७ मा जनकपुरमा सम्पन्न अनेरास्वियूको २० औं केन्द्रीय महाधिवेशनबाट कार्की केन्द्रीय सदस्यमा निर्वाचित भए । अखिलबाट विदा भएपछि उनले एमालेको भुगोलको राजनीति गर्न थाले ।
०७० मा नेकपा एमालेको नगर कमिटिको सदस्य भएका कार्की ०७२ मा एमालेको नगर कमिटिको सचिव निर्वाचित भए । अघिल्लो पटकको स्थानीय निर्वाचनमा उनी हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८ का वडा इन्र्चाज भए । त्यस बेला एमालेले वडामा ठुलो मतान्तरले जीत हांसिल गरेको थियो भने कांग्रेस–माओवादी केन्द्रको गठबन्धनविरुद्ध नगर प्रमुख र उपप्रमुखलाई जिताउन–८ नम्वरको मत निर्णायक भएको थियो । एमाले र माओवादीको एकता भएपछि उनी वडा नम्वर–८ कै इन्चार्ज भएर काम गर्न थाले ।
पार्टी विभाजन भएपछि उनी पुनः नेकपा एमालेको नगर सचिवको हैसियतमा काम थालेका हुन् । पछिल्लो अधिवेशनबाट नगर सचिवमा निर्वाचित भएका कार्की मकवानपुरको गैरसरकारी संस्थाको अभियानमा पनि जोडिएका छन् । उनले जिल्ला गैरसरकारी संस्था (गैसस), मकवानपुरको दुई कार्यकाल सचिव भएर काम गरिसकेका छन् । यसबाहेक उनले जेष्ठ नागरिक आश्रय स्थल दिब्य सेवा निकेतन बृद्धाआश्रममा पनि दुई कार्यकाल सहसचिवको हैसियतमा काम गरिसकेका छन् ।
कार्कीले वडा नम्वर–८ स्थित चन्द्रोदय उच्च माविमा तीन बर्ष ग्रामिण विषय अध्यापन गराए । चार वर्षदेखि मकवानपुर बहुमुखी क्याम्पसमा समाजशास्त्र र ग्रामिण विषय अध्यापन गराउँदै आइरहेका उनी चन्द्रोदयलाई नमूना विद्यालय बनाउने योजनामा जोडिएका छन् । ‘चन्द्रोदयको भौतिक पूर्वाधार बनिसकेको छ । अब यो विद्यालयबाट योजनाका साथ गुणस्तरीय शिक्षा प्रदान हुन्छ’, उनले भने ।
कर्रा सफाई अभियानदेखि कर्रा करिडोर बनाउनुपर्छ भन्ने अभियानमा उनको सक्रियपूर्वक सहभागिता रहेको छ । ‘८ नम्वरको सानको रुपमा बन्दै गरेकोे राजपानी पार्क, कमल सिमसार पार्क, श्रमिक पार्क, ओमनगरतर्फ पनि त्यहाँको तटबन्धन व्यवस्थापन, मदन मार्ग निर्माण गर्न, मनकामना मन्दिरलाई व्यवस्थित गर्न पनि हामी सक्रियतापूर्वक लागिरहेका छौँ ’, उनले भने । उनको संलग्नता राष्ट्रिय युवा नीति बनाउनेदेखि राष्ट्रिय युवा परिषद् गठन गर्नुपर्छ भन्ने अभियानमा पनि थियो ।
कार्कीले वडाको गुणस्तरीय शिक्षा, आधारभुत स्वास्थ्य उपचार सेवा, कृषिदेखि टोल टोलमा पुस्तकालयसम्मका योजनाहरु सन्चालन गर्ने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
‘स्मार्ट वडा बनाउँछु’
हेटौडा उपमहानगरपालिका वडा नम्वर– ८ लाई एउटा स्मार्ट आवासीय शहर बनाउने योजना लिएको उनी बताउँछन् । ‘सबै सामुदायिक विद्यालयमामा गुणस्तरीय शिक्षा अध्ययन अध्यापनको प्रबन्ध मिलाउने, अभिभावकहरुको पहिलो रोजाइको रुपमा सामुदायिक विद्यालयलाई स्थापित गर्ने, आर्थिक अभावका कारण बालबालिकाहरु शिक्षाको ज्योतीबाट बञ्चित हुने अवस्थाको अन्त्य गर्ने उनले बताए ।
वडामा नियमितरुपमा आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने प्रबन्ध मिलाउने, प्रत्येक घरमा स्वच्छ र शुद्ध खानेपानीको पहुँच विस्तार गर्ने, पैदलयात्रुहरुका लागि सार्वजनिक स्थानमा निशुल्क खानेपानीको प्रबन्ध मिलाउने, वडाका विभिन्न स्थानमा सार्वजनिक सौचालय स्थापना गर्ने कार्कीको योजना छ ।
सबै टोलटोलमा व्यवस्थित ढलसहितको पक्की सडक निर्माण गर्ने, ‘सफा र उज्यालो सडक’ को अवधारणा अनुसार काम गर्नुको साथै सडकको दाँयाबायाँ विभिन्न प्रकारका रुख विरुवा रोपी वातावरणीय सन्तुलन कायम गर्ने उनले सुनाए ।
फोहोर व्यवस्थापनको क्षेत्रमा योजना बनाई त्यसको प्रभावकारी कार्यान्वयन गर्ने कार्कीको योजना छ । ‘सडकमा फोहोर फाल्ने आँट कसैले नगरोस्, बरु सडकमा देखिएको फोहोरहरु उठाएर डस्विनमा हाल्ने सभ्य समाज निर्माण गर्न सकियोस् । टोल टोलमा बालमैत्री आधुनिक चउरहरु बनाउन सकियोस् । जसमा रात्रीकालिन खेल खेल्न सकियोस्, बेलुका घुम्न सकियोस् सँगसँगै वडामा पुस्तकालय र बुवाआमाहरु वातचित गर्ने ठाँउहरु बनाउन सकियोस् ।’ उनले भने ।
कार्कीले पैदलयात्रु, साइकल यात्री र शारिरिक असक्तता भएकाहरुले प्रयोग गर्न सक्ने खालको सडकको अवधारण अघि सारेका छन् । आफु निर्वाचित भएपछि सडकछेउमा प्रतिक्षालय तथा शारीरिक व्यायामस्थल बनाउने, वडाबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउने, सानो कामको लागि सेवाग्राही घण्टांै समय नष्ट गरेर त्यँहा आउनुपर्ने अवस्थाको अन्त्य गर्न पहल गर्ने, प्रविधिमार्फत् सेवाहरु प्रदान गरिने उनको भनाई छ ।
भूमिहिन र सुकुम्वासीलाई उनीहरुकै नाममा लालपुर्जा बनाई सुरक्षित आवासको प्रबन्ध गर्न पहल गर्ने, घरबार विहिन भएका बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्तिहरु र साहारा विहिनहरुका लागि गाँस, बास र आवासको प्रबन्ध मिलाउने उनी बताउँछन् ।
विभेदरहित समाज निर्माण गर्ने, वेरोजगार युवा होइन, सीपयुक्त युवाले भरिएको वडा बनाउने, यससँगै वडाका पार्कहरु व्यवस्थित बनाउने, नगरमा रहेका विभिन्न खेलक्षेत्रहरु, आवास क्षेत्रहरुलाई व्यवस्थित गर्ने, उद्यम गर्न इच्छुक र लगनशील युवाहरुलाई अनुदान कार्यक्रम सञ्चालन गर्ने, महिला उद्यमीलाई प्रोत्साहन गर्ने, साना तथा घरेलु उद्योगलक्षित कार्यक्रम ल्याएर वडावासी सबैलाई स्वरोजगार बनाउने कार्कीको योजना छ ।
‘वडावासीको सुखदुखमा सामेल हुँदै स्मार्ट वडा बनाउन सकिन्छ भन्ने मैँले सपना देखेको छु । यो सपना होइन, मेरो योजना हो । यो योजना मात्रै पनि होइन, यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो दृढता हो । यसलाई जसरी पनि पुरा गर्नुपर्छ भन्ने कुरामा मैंले ढृड संकल्प गरेको छु ।’ कार्कीले भने ।