मकवानपुरको महक – ४ : श्याम मोहन श्रेष्ठको इमानदार अभिव्यक्ति

सञ्जय साह मित्र
२०७९ जेष्ठ १३,शुक्रबार १०:३४

१. विषय प्रवेश
श्याम मोहन श्रेष्ठ मकवानपुरका लेखक होइनन् र हुन् पनि । मकवानपुरको भीमफेदीमा बसेर पठनपाठन गरेका र मकवानपुरसित गहिरो नाता रहेका श्याम मोहन श्रेष्ठको काठमाडौं–पेरिस–काठमाडौं बस र रेल यात्रा, साहस र आँटले डोर्याएको जिन्दगी (फोटो किताबसहित) भन्ने पुस्तक मलाई आदरणीय देव सरले उपलब्ध गराउनु भएको हो । देवप्रसाद श्रेष्ठले पढ्नको लागि यो पुस्तक मलाई दिने कुरो गर्नुहुँदा मैले पढेर तु खबरमा लेख्छु भन्दा उहाँले हो भन्नु भएको थियो । र, यस स्तम्भमा मकवानपुरबाट प्रकाशित, मकवानपुरका लेखक वा मकवानपुरबाट प्राप्त गरी तिन किसिमकै कृतिलाई समावेश गर्ने क्रममा श्याम मोहन श्रेष्ठको यस कृतिको बारेमा केही कुरा लेख्दैछु ।

कृतिका लेखक नै कृतिका प्रकाशक हुन् । कृतिको मूल्य ४०० रहेको छ । सबै गरेर करिब पाँच सय पृष्ठको स्तरीय छपाइयुक्त पुस्तक छ । पुस्तकको छपाइ किशोर अफसेट प्रेस काठमाडौंमा गरिएको छ । कभर डिजाइन रोबर्ट र्यान श्रेष्ठले गरेका छन् । यस कृतिमा लेखिएको छ – यस किताबको कुनै अंश वा पूरै किताब कुनै माध्यमद्वारा पुरुत्पादन, फोटोकपी वा प्रसारण गर्न पाइने छैन, कसैले त्यसो गरेको पाइए प्रतिलिपि अधिकार ऐनअन्तर्गत कारबाही गरिनेछ । यस कृतिको बारेमा लेख्न भने मनाही गरिएको अर्थ यसले नलागेको र पढेर कृतिको बारेमा तु खबरमा लेख्छु भनेर पहिले नै अनुमति लिइसकेको हुनाले यस कृतिको पठनपश्चात पाठकीय दृष्टिकोण प्रस्तुत गर्ने जमर्को गरेको छ ।

यो संस्मरणात्मक कृति हो, यो यात्राउपन्यास, नियात्रा महाकाव्य हो र शब्दलाई चित्रात्मक प्रस्तुति गरिएको सुन्दर यादहरुको संग्रह हो । साहित्यका पाठकका लागि सुनको थालमा चाँदीका शब्द कुँदिएको हार्दिक ग्रन्थ हो । यस ग्रन्थमा एउटा महाकाव्यमा हुनुपर्ने कथानक, पात्र, आरोह–अवरोह र अन्य सबै तत्व छन्, कथानकको प्रस्तुति कविताको शैलीमा नभएर आख्यानको शैलीमा छ । यथार्थमा यो चित्ताकर्षक कृति हो ।

२. हरेकले पढ्नै पर्ने उत्कृष्ट कृति
यो कृति जीवनको महाकाव्य हो अनुभव र अनुभूतिको दृष्टिकोणले । सुखमा पनि दुःख र दुःखमा पनि सुखका धेरै यस्ता याथार्थिक भोगाइहरु जीवन्त रुपमा प्रस्तुत गरिएका छन्, जसबाट हरेक जीवनले शिक्षा लिन सक्दछ ।

काठमाडौंमा जन्मेका लेखक एक ठाउँमा भन्दछन् – धरातलमा बस्दा मान्छेले जानीनजानी अनेक सुकर्म र दुष्कर्म गर्न पुग्ने रहेछ । सायद यो प्रकृतिकबाट मानव जातिको सृजनासँगै आएको पनि हुन सक्छ । २००४ मा जन्मेका लेखक पढाइमा अलिकति पनि मन लगाउँदैनथे । आफ्ना बाल्यकालका पढाइ र अन्य गन्थनहरु अत्यन्त इमानदारीका साथ प्रस्तुत गरेका छन् । काठमाडौंमा पढ्ने लक्षण नभएपछि अभिभावकले भीमफेदीमा नाम लेखाइदिएको र रहने बस्ने व्यवस्था मिलाइदिएको कुरो पनि धेरै रोचक छ । उनी लेख्छन् – पढाइभन्दा मेरो मन फेरि घुमपिरमै रमायो ।

युवावस्थामै नेपालमा क्यासिनोमा जागिर खान पुगेका लेखकको जीवनले यहीबाट अर्को मोड लिन्छ । सामान्य मानिसले कल्पना गर्न नसक्ने, साहस भनु वा दुस्साहस गर्न नसक्ने विशिष्टस्तरको कामको थालनी लेखकले गर्न पुगेका छन् । सामान्य मानिसले कल्पनै गर्न नसक्ने यात्राको थालनी हुन्छ, जसलाई भनिएको छ – साहसिक यात्रा : काठमाडौं–पेरिस–काठमाडौं । साहित्यिक दृष्टिकोणले यस कृतिको मूल भावभूमि यही हो ।

घरबाट एक्लै अनन्त यात्रामा जस्तै निस्केको एक यायावरको गन्तव्य त अमेरिका हो तर, यात्राभित्रका सबै कुरा अनिश्चित नै हुन्छन् । कहाँ बस्ने, कहाँ खाने, कहाँ कहिले पुग्ने भन्ने कुरो परिस्थितिले निर्धारण गर्नुपर्ने हुन्छ । यति हुँदाहुँदै पनि पर्याप्त रकम आफूसित छैन । भनिन्छ – जहाँ चाह त्यहाँ राह । जे जस्तो परिस्थिति आउँदै जान्छ, लेखक परिस्थितिसित पौठेजोरी खेल्दै, कतै समस्याका जँघारहरू तर्दै यात्रालाई अगाडि बढाइरहेका छन् । अनेक रोचक घटनाहरु बाटामा सहयात्रा गर्ने पात्र बन्न पुग्दछन् । काठमाडौंबाट पटनासम्म आकाशमार्ग र पटनादेखि दिल्ली रेलमार्गको यात्रा हुन्छ । रेलयात्रामा एक अमेरिकी युवतीसितको भेट रोचक सहकार्य बन्न पुग्दछ ।

दिल्लीमा घुमफिर गर्दै अफगानिस्तान जाने चाँजोपाँजो मिलाउने क्रममा दिल्लीस्थित अफगानिस्तानको राजदूताबास पुग्दा यात्राले अर्को मोड लिन पुग्दछ । रेलमार्गबाट जान खोज्ने यायावरलाई यात्राका लागि दूताबासमा भेटिएका अर्का एक यात्रीले सहृदयी भाव देखाउँदै हवाइजहाजबाट नै जान सल्लाह र सहयोग दिन्छन् । यायावरलाई भ्रमण गर्नुछ, तर्कसित सहमत भएपछि त्यसै गर्दछन् । दिल्लीबाट दुई घण्टामा काबुल पुग्छ हवाइजहाज । यात्राका लागि सहयोग गर्ने जर्मन हुन्छन् र काबुलको होटलमा जर्मन बुढाको नियतप्रति यायावरको मनमा शङ्का उत्पन्न भएपछि उनलाई सुतेकै अवस्थामा छाडेर निस्कन्छन् यायावर । बिल्कुलै अपरिचित ठाउँ, नुबुझिने भाषा र धेरै अगाडि पुग्नुपर्ने यात्रा ।

काबुलबाट कन्धार, हेरात हुँदै इरानको यात्रा बसमा हुन्छ । यो यात्रामा रोचकता अत्यन्त धेरै छ । डेनियल नामको बेल्जियन नागरिकसितको सहकार्य मानवीय दृष्टिकोणले उच्च कोटिको छ । हेरातबाट इरान प्रवेशको प्रसङ्ग यसरी लेखिएको छ – हेरातबाट इरानको बोर्डर इस्लमकाला एउटा जिप चढेर गए । इस्लमकाला पुगेर इरान प्रवेश गर्न मैला गाडा वा रिक्सा चढेर बोर्डर पार गरे । बाटो धुलैधुलो र अति नराम्रो थियो ।

इरानको तेहरानमा ज्वरो आएको सन्दर्भ आउँदा सम्वेदनशील बन्न पुग्दछ पाठक । ज्वरो आउँदा भात खान नहुने सोचाइ विपरीत तेहरानमा टन्न मासुभात खाएर सुतेपछि ज्वरो भागेको सन्दर्भ घतलाग्दो लाग्दछ । तेहरानबाट इस्तानबुल बसबाट जाँदा पाँच रात चार दिन लाग्ने रहेछ । यो यात्रा पनि निकै रोचक छ । यात्राका अनेक दर्शन र भोगाइ पाठकले आफ्नै भोगाइ मान्न पुग्छन् । हरेक दिन ठिक समयमा उठ्ने भएकाले यायावरले बसका यात्रीहरूबाट उपनाम पाउँछन् अलार्म । इस्तानबुलमा बरालिने क्रममा आमासित रहेकी एक युवतीसित भेट भएको र त्यसपछि बढेको सत्भाव अवर्णनीय छ । इस्तानबुलकी ती युवतीसित यायावरको फेरि भेट हुन पाए हुन्थ्यो भन्ने फेरि पनि लागिरहन्छ पाठकको मनमा । यायावर यात्राकै क्रममा फर्केर आउँदा पनि भेटको आशा मनमा पालेका हुन्छन् । साँच्चै, निक्कै भावुक वर्णन छ, विप्रलम्भ शृङ्गारको ।

इस्तानबुलबाट रेलमार्गले बेलग्रेड पुगेपछि बेलग्रेडको स्टेशनमै एक महिलासित भेट हुन्छ जो वास्तवमा कुनै ग्राहकको खोजीमा हुन्छिन् । यायावर उनकै घर पुग्दछन्, बासको लागि । निकै आरामदायी बसोबास र सुस्वादू भोजनले तृप्त हुन्छन् । यायावरको त्यहाँबाट यात्रा हुन्छ – बेलग्रेड टू मिलान, इटाली । सुविधा सम्पन्न रेलको यात्रा वर्णनले पाठकको मन लोभ्याउँछ । यायावरले आफ्नो औंठी बेचेका छन् यस रेलयात्रामा । मिलानबाट फ्रान्सको मार्सिल्लेसम्मको यात्रा पनि रेलबाट गर्दछन् । इटाली र फ्रान्सको बोर्डरमा भागेको वास्तविकतालाई जिवन्त रुपमा प्रस्तुत गरिएको छ । फ्रान्समा साथीको घरमा बस्दाको वस्तुस्थितिलाई जस्ताको तस्तै वर्णनमा लेखक यत्ति इमानदार हुन्छन् कि सानातिना कुरा र साथीभाइबिचको गफगाफलाई पनि छोड्न चाहँदैनन् ।

परदेशमा पैसा कम भएपछि पर्ने अप्ठ्याराहरुलाई साँच्चै मर्मस्पर्शी ढंगले वर्णन गरिएको छ । पेरिसलाई त सँधै जवान सहर पनि भनिन्छ । यस कृतिमा कृतिकारले देखे र भोगेको पेरिसको वर्णन गर्दा पाठकलाई कुनै जमानामा पढेको सम्झना हुन्छ – प्यारिस मुस्कुराउँछ रङ्गैरङ्गमा । होटलमा केही समयको लागि एक नेपालीसित भेट हुँदाको स्मरणले मनलाई छुन्छ । जुरिचको आसपासमा एकजना युवतीसित यायावरले बिताएको दिन पनि अवर्णनीय छ । यायावरको आँखाबाट प्रभावित ती युवती पछि यायावरकै दिलमा पसेकी छन् ।

ग्रिसमा हुने वाइन फेस्टिभलको सन्दर्भ नेपालीहरुको लागि बिल्कुलै नौलो हुन सक्छ । यसमा बेलायत र बेलायतबाट अमेरिका पुग्न नसकेको थकथकमा पाठकको सहानुभूति यायावरसित रहिरहन्छ । ऐतिहासिक एथेन्सबाट इस्तानबुल सहरमा आउँदा हवाइजहाजको यात्रा हुन्छ । इस्तानबुलमा पहिलेकै होटलमा बस्दा पाठकलाई एकचोटी पहिलेकै कथा दोहोरिएला कि जस्तो पनि हुन्छ । बसको टिकटमा साथीहरु ठगिएको कुरो, बहिनीसित बिहे प्रस्ताव गर्ने सन्दर्भ, बसमा छुरा प्रहारको विषय कम्ती रोचक होइनन् । पाकिस्तानको लाहोर सहरमा भोगाइको घृणास्पद स्वरूप प्रस्तुत छ – लाहोरमा अविस्मरणीय घृणा । दिल्ली हुँदै पटना र पटनाबाट हवाइजहाजमा काठमाडौं यात्रासँगै यस कृतिको शीर्षक पूरा हुन्छ । यस कृतिको मुख्य अंश पनि यही हो ।

कृतिभित्र आफ्नै जीवनी, आफ्नो परिवार र विवाह तथा अन्य सम्बन्धको बारेमा जानकारी दिइएको छ । यस कृतिको अन्त्यतिर एउटा शीर्षक छ – आफ्नै जीवनका अविस्मरणीय लघुकथा । अत्यन्तै रोचक र प्रेरणाप्रद खुद्रा संस्मरणहरु यसमा समेटिका छन् । शब्दहरूपछि फोटोहरू सजाइएका छन् । आफ्नो जीवनसित सम्बन्धित महत्वपूर्ण फोटोहरू यसमा समेटिएका छन् । फोटाहरुले कृतिको महत्व बढाएका छन्, साथमा कतिपय सन्दर्भमा आएका कतिपय पात्रहरुलाई कम्तीमा फोटो नै देख्न पाए हुन्थ्यो, जस्तो लागेको अवस्थामा कृतिले तिर्सनालाई अलिकति भए पनि शान्त पार्ने प्रयास गरेको छ ।

३. निष्कर्ष
यो अत्यन्त महत्वपूर्ण कृति हो । यस कृतिको साहित्यिक महत्व अझ ठूलो तब हुन्थ्यो जब यसको नियात्रा वा यात्रा वर्णन खण्डलाई नै अझ परिष्कार गरेर छुट्टै कृतिको रुप दिइन्थ्यो । यसमा लेखकले आफ्नो जीवनी आफैँ लेखेजस्तो पनि गरेका छन् । यो हुँदै नहुने हुने तर, एउटै कृतिमा आउँदा यो जीवनी पनि हुन सकेको छैन र नियात्रा पनि हुन सकेको छैन । दुई फरक विधाका कुरा फरक किसिमले आउनु पर्नेमा एकै किसिमले दिइएको छ ।

यद्यपी यस कृतिलाई यस दृष्टिकोणले महत्वपूर्ण मान्न सकिन्छ कि यसमा साहित्यिकता छ, उच्च चेतना छ, यायावरीयपना छ, स्वच्छन्दता छ र लेखकले इमानदारीसाथ धेरै कुरोको वर्णन गरेका छन् । यायावरको इमानदारीपन यस कृतिको अमूल्य सम्पदा हो ।