‘बालेन’ हरुले कोरेको गोरेटो
वर्तमान समयमा दलका गतिविधिबाट आम जनता सन्तुष्ट छैनन् । वाक्क दिक्क भइसकेका छन् । त्यसो हुनाका पछाडी कारणहरु छन् । छोटोमा दलले आमूल परिवर्तन गर्छौं भनेका थिए, भएन । कुर्दा कुर्दै जिन्दगी जाने भो । खोइ त ? भन्ने आवाज आउन थालेको छ ।
दल वाचा गर्छ, पूरा गर्दैन् । अनेक भन्छ, फेरि भन्छ मात्र । दलको परिवर्तन पछिको योजना र काम गराई कछुवा गतिमा छ । खुसी छैनन् भुँइमान्छेहरु । दलले केही गरेन भन्ने समुदाय अहिले निकै देखिन थाले । नो भोटको व्यवस्था छैन । नत्र त म किन दिन्थें भोट भन्नेहरुको भ्वाइस आउन थाल्यो । त्यस्तो आक्रोस आउनु अस्वाभाविक होइन । जसले वर्षौंदेखि परिवर्तनको आवाज सुनेको छ । र, सुनेको मात्र छ । देखेको छैन् । त्यस्ता युवा पंक्ति अहिले आक्रोशमा छ र पुरानो पुस्ता पनि निराश छ । चुनाव हुन्छ, फेरि चुनाव हुन्छ । तर, केही हुंदैन ।
नेपालमा २०७२ सालमा गणतन्त्र सहितको संविधान बन्यो । संविधान बन्नु अघि र पछि अनेक आश्वासनहरु प्राप्त भए । नेताहरुले अधिक आश्वासन दिए । जनताले अपेक्षा गरे, स्वाभाविक हो । बाटो देखाउनेले भनेको कुरा सहि होला भन्ने ठाने ।
तर परिवर्तन देख्न पाएनन । छाम्न पाएनन । सुंघ्न पाएनन् । महशुस गर्न पाएनन । विडम्वना, तिमी भन्छौ मात्रै तर गर्दैनौ किन ? भन्ने युवाहरुका आवाज घन्कन थालेको छ । यसलाई दलले स्वीकार गर्नुपर्छ । आम जनसमुदाय वर्तमानमा देखिएको, झाङ्गिएको, संस्थागत भएको विसङ्गत अवस्थाप्रति जानकार छन् । विसङ्गति, भ्रष्टाचार र अव्यवस्थाको अन्त्य हुन्छ भनेर आशावादी भएका आम जनसमुदायका पक्षमा राजनीतिक परिवर्तनको यस उर्बर घडीमा पनि केहि भएको छैन् । अब पनि जनताको पक्षमा केहि हुंदैन भन्ने अविश्वास मौलाउन थालेको छ । यो राम्रो हो र ? होइन ।
भन्नैपर्छ राजनीतिक दलहरु उल्टो यात्रा गर्दैछन् । भन्ने एउटा गर्ने अर्को । चुनावी घोषणापत्रमा एउटा कुरा गर्ने । भाषणमा अनेक भन्ने । काम अर्कै गर्ने । गन्तव्यहीन यात्रा । हो, के कुरा स्वीकार गर्न सकिन्छ भने संसदिय राजनीतिमा एउटा दलले वाचा गरेको कुरा पूरा हुनका लागि सरकारमा पुग्नुपर्ने हुन्छ । सरकारमा सिंगल मेजेरेटी चाहिन्छ । अनि पूरा काम गर्न पाइन्छ । तर हरेक पार्टीहरु विभिन्न पटक सरकारमा गएका छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार गरी तीन तहको सरकारको व्यवस्था छ । त्यही ठाउंबाट काम सुरु गर्न सकिन्छ ।
अर्को कुरा पार्टी कृयाशील हुनु पर्दछ । सरकारमा जान नसकेको अवस्थामा पनि जनताको अतिआवश्यक काममा जोडिन सकिन्छ । दैनिक रुपमा मतदाताहरुलाई समस्या परिरहेको हुन्छ । रचनात्मक हुन सिक्नु पर्दछ । भ्रष्टाचार र बेथिति अन्त्यका लागि पहल हुनुपर्यो । संस्थागत भ्रष्टाचार र अव्यवस्था हटाउन तालिका मिलाइ काम सम्पादन गर्नुपर्यो ।
गन्तव्यहीन यात्रामा हिंड्न थाले दलहरु । भ्रष्टाचार अव्यवस्था र विसङ्गतिको अन्त्य नभएपछि त्यसैको प्रतिकारमा भनौं आम जनताले आफ्नो आवाज मतमार्फत् बालेनको लौरो चुनाव चिन्हमा अभिव्यक्त गरेका हुन् ।
यो संकेत हो । काठमाण्ड्यौली जनताको आवाज हो । यो आवाज देशभरी नपुग्ला भन्न सकिंदैन । क्रमशः फैलंदो छ । बालेन एक्लो स्वतन्त्र उम्मेदवार होइनन्ः धरानमा हर्क साम्पाङ, धनगढीमा गोपाल हमाल, जनकपुरमा मनोजकुमार साह पनि चर्चामा छन् । यसैगरी अन्यत्र केही ठाउंमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् । यसले के सङ्केत गर्दछ भने यो आवाज क्रमशः देशव्यापी बन्दैछ । युवाहरु राजनीति शुध्दिकरणका लागि आवाज उठाउंदै छन् ।
भलै बालेन र बालेनहरु कुनै पार्टीसंग आबद्ध होउन् वा नहोउन् । त्यसले केही फरक पार्दैन तर उनीहरुले उठाएका मुद्दाहरुमा जनताका भावनाहरु समेटिए कि समेटिएनन् केलाउनुपर्ने अवस्था हुन्छ । स्वतन्त्र उम्मेदवारहरुको आवाजले जनताको भावनालाई खिच्न सक्यो कि सकेन यो महत्वपूर्ण पाटो हो ।
अहिले खोला तर्यो लौरो बिर्स्यो झैं भएको छ । दल चुनावमा भयानक वाचा गर्छ, जितेपछि वास्तै गर्दैन । संझना गरौं धेरै पनि भएको छैन काठमाण्डौंका मेयर विद्यासुन्दर शाक्यले चुनावअघि के भने ? चुनावपछि के गरे, मतदातालाई कण्ठै छ । नेकपा एमालेका उम्मेदवार शाक्यले स्थानीय निर्वाचनमा नेकाका उम्मेदवारलाई भारी मतले पछि पार्दै धेरै वाचा गरेका थिए ।
शाक्यले काठमाण्डौंलाई सुन्दर, स्वच्छ बनाउने र धुलो धुंवारहित हरियाली बनाउने भनेका होइनन् ? त्यो सपना बाँडेको ५ वर्ष भयो होइन ? शाक्यको प्रतिबद्धता विहिनताले जगत् हँसाएको होइन भन्या । जगत् रुष्ट भएको होइन । उपत्यकाका अधिकांश मतदाता यस कुराको जानकार छन् । जनताले त्यो संकल्प वाचा वा घोषणा बिर्सिएका छन् ? छैनन् । त्यसो भए त्यो प्रतिवद्धता किन पूरा गरिएन ? त्यो काम पूरा नगर्न शाक्यलाई कसले छेक्यो ? के भएर उनले त्यो वाचा पूरा गर्न सकेनन् ? पूरा नगरेको संकल्पप्रति न कुनै पश्चाताप छ । न केही छ । उल्टै हामीले ब्यापक काम गर्यौं भन्ने कोकोहोलो छ ।
यसको जवाफ काठमाडौंका शक्तिशाली मेयर शाक्यले दिनुपर्ने हुन्थ्यो । उत्तरदायित्व लिनुपर्ने हुन्थ्यो । तर, यिनी उत्तरदावित्व लिन तयार छैनन् । मैले यसकारण सकिन भन्न के कुराले छेक्यो ? जनताबाट चुनिएका प्रतिनिधि पारदर्शी र जनताप्रति उत्तरदायी हुन नपर्ने संस्कारले गर्दा अहिले बालेन र बालेनहरु जन्मदैं गएका हुन् । उत्तरदायित्व लिन कोही तयार छैन् । अनि जनताले कसरी पत्याउने र विश्वास गर्ने ?
गठबन्धन तर्फको नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहमा पनि मतदाताले नयांपन, सिर्जनशीलता मौलिकताको आशा गरेनन् । पुरानो बोत्तलमा नयां वाइन राखेको ठाने । मतदाताको विश्वास आर्जन गर्न असफल भइन् सिर्जना सिंह पनि । राजनीतिमा पारिवारिक विरासत भएको तर सामान्य स्तरको महिलालाई काठमाण्डौं महानगरको मेयर चलाउनु चुनौतीपूर्ण हुन्छ भन्ने मनोविज्ञान थाहा पाए मतदाताले ।
एमाले उम्मेदवार केशव स्थापितको दम्भ, अहङ्कार र अराजक शैलीले पनि बालेनको जितलाई सहज बनाउन मदत गर्यो । स्थापितले उम्मेदवार कलाकारको उछित्तो काढे । पढेलेखेका समकालीन युवा वयका उम्मेदवारहरुको हुर्मत लिन खोजे । मतदाताले नजिकबाट सबै हेरिरहेका थिए । काठमाण्डौको मेयर जित्न अरु थुप्रै योग्यता पुग्नुपर्ने । जातीय हिसाब मिल्नुपर्ने भन्ने तर्कलाई त्यहाँका सचेत र परिवर्तनकामी जनताले झुठो साबित गरिदिए ।
दम्भ स्थापितको हारको अर्को कारण बन्न पुग्यो । रुढिवादी अहङ्कार र तर्कविहिन गथासो विरुद्ध काठमाण्डौंको जनमत तयार भइसकेको कुरा उनले थाहै पाउन सकेनन् । त्यसो त तीन दशक हिउंद पूरा खाइसकेका पूर्व मेयर स्थापितलाई आफ्नो विजयमाथि कति विश्वास थियो भन्ने कुरा चुनावी गतिविधिका क्रममा भएका उनका हाउभाउ र ठाउं ठाउंमा प्रकट भएका उनका अराजक भाषणबाट पनि प्रष्टै झल्कन्थ्यो । परिणामतः उनका विपक्षमा युवाहरुले मत हाले । युवाले मात्र होइन युवाका आमाबुवा र हजरुबा हजुरआमाले पनि भोट हाले बालेनलाई । विदेशमा रहने लाखौं युवाहरुले बालेनलाई भोट हाल्न नपाएको गुनासो गरिरहंदा त्यसको क्षतिपूर्ति हामी पूरा गरिदिन्छौं भन्ने मतदान गर्ने युवाहरुको तत्परता र पार्टीहरुको योग्य उम्मेदवार चयनमा भएको कमजोरीलाई युवा बालेनले राम्ररी सदुपयोग गरे यसपाली ।
बालेनको शालिनता शानदार देखिन्थ्यो । विपक्षीहरुका पट्यारलाग्दो गालीगलौजबाट उन्मुक्ति चाहान्थे मतदाता । एकातर्फ स्थापितहरु बालेनको उछित्तो काढ्दै थिए भने अर्कोतर्फ बालेन सांकेतिक रुपमा शिष्टता सिकाइरहेका थिए । स्थापितको जवाफमा बालेन भन्दै थिए– केशव बा र सिर्जना आमा हुन् । म छोरा सरहको व्यक्ति हुं । बाआमाले छोराछोरीलाई नबिग्रिउन भनेर शिक्षा दिनु । बाटो देखाउनु त राम्रो काम हो भनी सहज रुपमा जवाफ दिंदै थिए । बालेनमा परिपक्व राजनीतिक संस्कार भएको महशुस गरे मतदाताले । अहमता छैन् । शालिनता छ । छुद्रता छैन् महानता छ । विज्ञता पनि छ । युवा पनि हुन । मतदाताले क्षमता, योग्यता पुगेकालाई मन पराउनु अस्वाभाविक होइन । छुद्रता आम मानिसलाई मन पर्ने विषय पनि होइन ।
बालेन भरखरका युवा हुन् । संंगितप्रेमी, कलाकार र्यापर भएका कारण नयाँ पुस्ताको आकर्षण हुनु अस्वाभाविक होइन । नयाँ पुस्ता स्वभावैले क्रान्तिकारी हुन्छ । परिवर्तको पक्षमा हुन्छ । त्यसो हुंदा युवावयका मतदातालाई आफूप्रति आकर्षित गराउन उनी सफल भएकै हुन् । हरेक उम्मेदवारको सक्षमता, शालिनता, धैर्यता, नम्रतालाई मतदाताले हेरिरहेका हुन्छन् । यिनी स्ट्रक्चरल ईन्जिनियर पनि हुन् । साना तर, जनतालाई ट्वाक्कै छुने विषयलाई उठाउने । त्यसको सटिक समाधान खोज्ने यिनको स्वभावले पक्कै साकार रुप लिनेछ भन्ने आशा गर्न सकिन्छ ।
यद्यपि चुनाव जितेर काम गर्न यिनलाई चुनौतीको खात छंदैछ । त्यसबाट पार हुन सके भने यी अब्बल रुपमा देखिने छन् । अहिलेको अस्तब्यस्त संरचनामा भनाइलाई गराइमा परिवर्तन गराउन चुनौती छ । तर, संधै हुँदैन, सकिंदैन भन्ने नकारात्मक अपेक्षा पनि नगरौं । बर्वाद भएको देश बनेको छ । हामीहरुको बन्दै बन्दैन भन्ने होइन । सक्षम युवाहरुले काठमाण्डौंको विकासमा । त्यहाँको सभ्यता, संस्कृतिको रक्षा र बिग्रिएको वातावरणलाई स्वच्छ बनाउन राम्रा प्रयासहरु थालनी गरेमा हुँदैन भन्ने छैन् ।
पार्टी योग्य, सक्षम र ईमान्दार व्यक्तिको छनोट गर्न छाडी पकेटका मानिसलाई टिकट वितरण गर्दछ । काठमाण्डौंको सवालमा त्यस्तै परिदृश्य देखियो । त्यसले मतदातामा योग्य, सक्षम युवा बालेनलाई रोज्नुपर्छ भन्ने मनोविज्ञान झन् बढ्दै गयो । एमाले र गठबन्धन तर्फका दुबै मेयरका उम्मेदवारमा आम समुदायले नयांपन र सिर्जनात्मकता पाउन सकेनन् ।
आगामी दिनमा यसको असर देशव्यापी पर्नसक्छ । मूलतः देशमा आर्थिक सांस्कृतिक र सामाजिक परिवर्तन हुन नसक्नु । नदेखिनु । पार्टीका पट्यारलाग्दा वाचाहरु कहिल्यै पुरा नहुने अवस्थामा पुग्नु र कागजमै सीमित रहनु । युवावर्ग आसक्त हुन नसक्नु । युवा लक्ष्यित रोजगारीमूलक कार्यक्रमहरु ल्याउन नसक्नुका कारणबाट बालेन अर्थात् बालेन्द्र शाहजस्ता युवा र निष्कलङ्कित सेवामुखी मेयर /प्रतिनिधिहरु जवर्जस्त विजय हुने अवस्था सिर्जना भएको हो । यसो हुनु राम्रो हो । जसले गर्दा सक्षम युवाहरुको राजनीतिमा हस्तक्षेप र प्रवेश दुवै हुनसक्छ । तर, भीमकाय राजनीतिक दलका उम्मेदवारहरुलाई एक्लैले पछार्न सक्नु भनेको चानचुने कुरा होइन । कम तागतको कुरा होइन । यो तागत आखिर बालेनहरुले मतदाताबाटै प्राप्त गरेका हुन् । लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुन् । न्यायाधीश हुन् । जनताले गल्ती गर्न सक्दैनन् ।
यो सन्देश दलहरुलाई सुध्रनका लागि दिइएको सूचनाको घण्टी पनि हो । सुधार भएमा लोकतन्त्रमा दलहरु नै मुख्य शक्ति हुन् । सुधार गरे भविष्य छ । सुधार नगरे आम समुदायको भेलबाढीले बगाइदिन्छ भन्ने पूर्व होशियारीको हाँक हो ।
लेखकः उच्च अदालत बार हेटौंडाका सचिव हुन् ।