निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने
काठमाडौं । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले स्थानीय तह निर्वाचन घोषणा भएपछि स्थगित भएको मतदाता नामावली संकलन कार्य हुने भएको हो ।
आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ देखि संचालन गर्न लागेको जानकारी गराएको हो । १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम छुट भएका नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा फोटोसहितको नामावली दर्ता गराउन सक्नेछन् ।
आयोगका अनुसार, उक्त कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन पनि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन् ।