जिल्ला समन्वय समिति मकवानपुरमा कांग्रेसको दावी

तु खबर संवाददाता
२०७९ जेष्ठ २४,मंगलवार १७:०३

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको नेतृत्वमा कांग्रेसले दावी गरेको छ । सभापति बुद्ध लामाले मंगलबार पत्रकार सम्मेलनमा कांग्रेस सबैभन्दा ठूलो दल भएको र जिल्लाका स्थानीय तहमा आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेकोले आफुहरुले दावी गर्नु स्वभाविक भएको बताए ।

उनले जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेसकै नेतृत्वमा अघि बढ्ने गरी गठबन्धन दलहरुबीच छलफल भइरहेको समेत बताए । ‘हामी छलफल गरिरहेका छौँ । अहिलेसम्म कांग्रेसकै नेतृत्वमा अघि बढ्ने खालको वातावरण बनेको छ । केन्द्रको निर्णय फेरिएन भने गठबन्धन अघि बढ्छ । जिससमा हाम्रो नेतृत्व हुनेछ ।’ लामाले भने ।

जिल्ला समन्वय समितिको निर्वाचनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले मतदान गर्न पाउँछन् । नेपाली कांग्रेसका ९ जना, नेकपा माओवादी केन्द्रमा ७ जना, नेकपा एमालेका ३ जना र नेकपा एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् ।

सभापति लामाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि पनि कांग्रेस कसरी अघि बढ्ने भन्ने सन्दर्भमा आन्तरिक छलफल भइरहेको बताए । ‘प्रदेश र संघको चुनाव पनि नजिकिँदै छ । हामी आन्तरिक छलफलमा छौँ । बर्षा सकिएलगत्तै एक खालको निश्कर्षमा पुगिएला ।’ उनले भने ।

उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई निर्वाचित गराउन महत्वपूर्ण सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । उनले निर्वाचित जनप्रतिनिधिहरुलाई लोकतान्त्रिक प्रक्रियाबाट जनहितका सवालमा प्रभावकारी रुपमा काम गर्न निर्देशनसमेत दिए ।