तीन महिना सडक खन्न नपाइने
काठमाडौं । आगामी तीन महिना सडक विभाग मातहतमा रहेका सडक खन्न नपाइने भएको छ । विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गरी बर्खायाम सुरु भइसकेकोले असार १ गतेदेखि भदौ मसान्तसम्म विभिन्न प्रयोजनका लागि सडक खन्ने वा भत्काउने काम रोक्न भनेको हो ।
मुख्य गरी धारा, ढल, बिजुली, टेलिफोनलगायत मर्मतका लागि सडक भत्काइने भएकोले बर्खामा यसले गर्दा सडक बिग्रिने र तत्काल मर्मत गर्न नसकिने भएकोले यस्तो काम तीन महिना बन्द गर्न सूचनामा उल्लेख गरिएको छ ।
साथै सडक विभागले स्वीकृति नदिंदा पनि सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।