‘एमाले मुर्छा अवस्थामा पुग्यो, अब समाप्त हुन्छ’
मुलुकमा संघीयता कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार संहालिसकेका छन् । निर्वाचनमा नेकपा एमालेले राप्रपा नेपाल, नेपाल परिवार दललगायतका दलहरुसँग तालमेल गरेको थियो भने सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन एमालेको विपक्षमा थियो । यद्यपी, यो गठबन्धन सबै स्थानमा लागू भए भएको थिएन ।
मकवानपुरको सन्दर्भमा २०७४ को स्थानीय निर्वाचनमा ६ वटा पालिकामा नेतृत्व गरेको एमाले अहिले २ वटामा मात्रै सिमित भएको छ भने कांग्रेसले ५ वटा पालिकामा आफ्नो नेतृत्व स्थापित गराएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले २ वटा पालिका जितेको थियो । माओवादी केन्द्रले पनि गठबन्धनको बलमा ठूलो उपलब्धी हासिल गरेको छ । २ वटा प्रमुख र ५ पालिकामा उपप्रमुख जित्न माओवादी केन्द्र सफल भएको छ । एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको नेतृत्व लिएको छ ।
अब राजनीतिक दलहरुको चासो जिल्ला समन्वय समितितर्फ केन्द्रीत भएको छ । जेठ महिनाभित्रै जिससको निर्वाचन हुँदैछ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पनि नजिकिँदो छ । स्थानीय निर्वाचनको समीक्षा, जिससको निर्वाचनका लागि दलहरुको तयारी, गठबन्धन निरन्तरता, प्रदेशसभा र प्रतिनिधिसभाका लागि तयारीलगायतका विषयमा भएर सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका मकवानपुर सभापति बुद्ध लामासँग तु खबरले कुराकानी गरेको छ । प्रस्तुत छ लामासँग गरिएको कुराकानीको सम्पादित अंश ।
सवालः स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । गठबन्धनको सबैभन्दा ठूलो दलको सभापति भएको नाताले समग्रमा मकवानपुरको निर्वाचनलाई कसरी समीक्षा गर्नुभएको छ ?
जवाफः धन्यवाद, हामीले स्थानीय तहको निर्वाचनलाई दलगत रुपमा वा गठबन्धनको तर्फबाट समिक्षा गर्न भने बाँकी नै छ । तर मैले व्यत्तिगत रुपमा भन्नुपर्दा गठबन्धनको जुन उद्देश्य थियो, हामी त्यसको नजिक पुगेका छौँ । गठबन्धनले चाहेको जस्तो ठ्याक्कै सफलता प्राप्त नभएको भएपनि हामी सन्तुष्ट छौँ । मेरो विचारमा गठबन्धन सफल भएको छ ।
तानाशाहा प्रवृत्ति जन्मने जुन खतरा थियो, त्यसलाई गठबन्धनले रोक्न सफल भयो भन्ने मेरोे निश्कर्ष छ । लोकतन्त्रलाई बचाउने आधार तय भएको छ र लोकतान्त्रिक पार्टीहरुको विचारलाई यसले स्थापित गराएको छ । नेपाली जनता गठबन्धनप्रति अत्यन्तै आशावादी छन् । यो प्रमाणित भइसकेको छ ।
सवालः गठबन्धन गर्दा पनि मकवानपुरको २ वटा पालिकाको नेतृत्व यहाँहरुले गुमाउनुभयो । निर्वाचनमा गठबन्धनका दलहरु गठबन्धनप्रति नै प्रतिवद्ध नभएका हुन् ?
जवाफ: गठबन्धनका केही कमी कमजोरीहरु हामीले पायौँ । केही आन्तरिक समस्या पनि भएकै हो । त्यसकारण मकवानपुरको २ वटा पालिकाको नेतृत्व हामीले गुमाउनुपर्यो । त्यसमा केही प्राविधिक, केही राजनीतिक र केही मतदाता शिक्षाको पनि कुरा छ । उम्मेदवारहरुकै कारण वा व्यवहारिक कारण भनौँ २ पालिका गुमाउनु पर्यो । नत्र अन्य पालिकामा राम्रो नतिजा आएको छ । त्यहाँ पनि राम्रो गर्छौँ भन्ने ठूलो अपेक्षा थियो । तर, यस पटक उम्किन सकिएन ।
सवालः मकवानपुरको ५ पालिकामा प्रमुख, ४ उपप्रमुख र कूल १०२ वडामध्ये झण्डै आधा वडामा कांग्रेसले नेतृत्व लिएको छ । यो नतिजाप्रति तपाईहरु कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
जवाफः यसलाई हामीले सन्तोषजनक नै मानेका छौँ । निर्वाचनमा ठ्याक्कै सोचेजस्तै उपलब्धी त कहै पनि हुँदैन । हामीले गठबन्धनको भावनालाई अझै मजबुद बनाउन सकेको भए अझै बढी सफलता हासिल गर्न सक्थ्यौँ भन्ने चाँही हो । र, त्यहाँ केही कुराहरु गठबन्धनभित्रै समन्वय, सहमति हुन नसकेका कुराहरु पनि छन् । वडादेखि पालिकाको नेतृत्वसम्म अझै राम्रो गर्न सक्ने आधार थियो । जे होस् यसलाई पनि हामीले ठूलो उपलब्धी ठानेका छौँ । गठबन्धन र नेपाली जनताको कारण नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । जनताको विश्वास जागेर आएको छ ।
सवालः यहाँहरुको सबै पालिकामा गठबन्धन हुन सकेन । जस्तै इन्द्रसरोवर, कैलाश, मनहरीलगायत पालिकामा कांग्रेस र एकीकृत समाजवादीको छुट्टाछुट्टै उम्मेदवार हुनुहुन्थ्यो । हेटौंडाको सन्दर्भमा प्रमुख पदमा गठबन्धनको उम्मेदवारलाई उल्लेख्य मत आएन भन्ने पनि छ नी ?
जवाफः तपाईले भनेजस्तै केही पालिकामा गठबन्धनमा भएका सहमतिलाई कार्यान्वयन गराउन नसक्दा त्यहाँ समस्या आएको हो । साथीहरुमा असन्तुष्टि भएका कारण पनि उम्मेदवारी दर्ता गराएको देखिन्छ । हामीले सकेसम्म फिर्ता गराउने प्रयास गर्यौँ । मनहरी र कैलाशमा हामीले हाम्रो पक्षमा नतिजा ल्याउन सफल भयौँ भने इन्द्रसरोवरमा चाँही हामीले अध्यक्ष र उपाध्यक्ष दुवै गुमाउनु पर्यो ।
अब गठबन्धनका उम्मेदवार भन्दा बाहेका उम्मेदवारलाई धेरै मत आएको छ भन्ने जिज्ञासा राख्नु भयो, हेटौंडाको सन्दर्भमा बजार क्षेत्रमा स्वभाविक रुपमा अलि स्वतन्त्र टाइपका मतदाता पनि हुन्छन् । उम्मेदवारको राजनीतिक पृष्ठभूमि, योगदान सबै मुल्याङ्कन हुन्छ । हामीले सक्दो प्रयास गर्यौँ । गठबन्धनको भावना अनुसार नै अघि बढ्यौँ । अन्तमा जित हाम्रै भयो ।
गठबन्धनको तालमेल वडासम्म मिलाउन नसकेको कारण पनि विपक्षीले खेल्ने ठाउँ रह्यो त्यसकारण हेटौंडामा प्रमुख पदमा केही भोट बाहिर गएको होकी भन्ने छ । तर, जे होस् हामी विजयी भएका छौँ । अब जनभावना अनुसारको काम गरेर जनताको विश्वास अझै जित्न जरुरी छ ।
सवालः जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचन नजिकिँदै छ । गठबन्धन दलमा कांग्रेसको माग के छ ?
जवाफः जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेको दावी स्वभाविक नै मान्न सकिन्छ । जिल्लाका स्थानीय तहहरुमा कांग्रेस बहुमत नजिक छ । गठबन्धनमा यो विषयमा गम्भिर छलफल हुन बाँकी छ । तर, साथीहरुले के बुझ्नु पर्यो भने बजेटका हिसाबले, विकास गर्ने शैलीका हिसाबले गाउँपालिका र नगरपालिकामा केही फरक अवश्य हुन्छ ।
कांग्रेस गठबन्धनको ठुलो दल भएर पनि हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा क्रमश नेकपा एकीकृत समाववादी र नेकपा माओवादी केन्द्रलाई अवसर दिएका कारण अब उहाँहरुले पनि स्वभाविक रुपमा जिससमा कांग्रेसलाई अघि बढाउनुपर्ने हो । यो महत्वपूर्ण ठाउँहरुमा दुई कम्युनिष्ट पार्टीहरुको नेतृत्व लिएकाले जिससमा कांग्रेसले प्रमुख दावी गर्छ र पाउनुपर्छ भन्ने माग छ ।
सवालः जिससको निर्वाचनको सन्दर्भमा अन्य जिल्लाहरुमा माओवादी केन्द्र र एमालेबीच तालमेल भएको पनि पाइएको छ । यहाँपनि त्यस किसिमको तालमेलको संभावना रहेको राजनीतिक वृत्तमा चर्चा छ । यस विषयमा कांग्रेको बुझाई के हो ?, कांग्रेसले जिसस प्रमुखका लागि योग्य उम्मेदवारलाई प्रक्रियागत रुपमा खडा गर्न सकेको छैन भन्ने पनि छ, प्रष्ट पारिदिनुस् न ?
जवाफः अन्य जिल्लामा कसरी भयो । त्यो त्यहाँकै बस्तुस्थिति हेरेर गर्नुभयो होला । तर, मकवानपुरमा यो संभावना छैन । बागमती प्रदेशकै ८ वटा जिल्लामा मात्र गठबन्धन भएको छ, बाँकीमा छैन । गठबन्धन नभएको ठाउँमा माओवादी केन्द्र एमालेसँग मिल्यो होला । तर, गठबन्धन भएको ठाउँमा एमालेसँग मिल्ने कुरा संभव छैन ।
जिसस प्रमुखका लागि कांग्रेसमा योग्य उम्मेदवार छन् । हाम्रा पार्टीमा लागेका सबै प्रतिनिधिलाई हामीले सक्षम ठानेका छौँ । जिससको प्रमुखका लागि जतिपनि योग्य प्रतिनिधि हुनुहुन्छ । तर पार्टीले कसलाई जिम्मेवारी दिने भन्ने चाँही तय भइसकेको छैन । मौका पाएकालाई सबैले चिन्छन्, मौका नपाएका र संगठनमा काम गरिरहेकाहरु पनि हुन्छन् । योग्य उम्मेदवार नभएको भन्ने होइन ।
सवालः स्थानीय तहमा अधिकाँश गठबन्धनकै नेतृत्व आएको छ । अब एमालेलाई दोष दिने ठाउँ बाँकी रहेन । अब चाँही निर्वाचित जनप्रतिनिधिहरुले कसरी काम गर्छन् ? त्यसमा जनप्रतिनिधि र कांग्रेसबीच समन्वय कसरी हुन्छ ?
जवाफः नेकपा एमालेले ५ बर्षे कार्यकालमा जनभावना अनुसारको काम नगरी भ्रम मात्रै फैलाएको कुरा यो निर्वाचनले प्रमाणित गरिसक्यो । अब हामीले के भन्दै आएका छौँ भने एमालेले भ्रम फैलाएको र काम नगरेको कारण जनताले उनीहरुलाई सबक सिकाइसकेका छन् । हाम्रो आरोप प्रमाणित भइसकेको छ । जिल्लाका धेरै पालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अब निर्वाचित सबैले जनताको घरदैलोमा पुगेर काम गर्नुपर्छ । स्थानीय सरकारको प्रत्याभूति गराउनुपर्छ ।
हामीले पनि एमालेले जस्तै कुरा मात्रै गर्यौँ भने ५ बर्षभन्दा बढी टिक्न सकिँदैन । त्यसकारण, हामीले निर्वाचित सबै जनप्रतिनिधिहरुलाई राजनीतिक भविष्य सुनिश्चित गर्न, गठबन्धनलाई बचाउनको लागि अब पार्टीको होइन, जनताको मुख हेर्न र जनताप्रति उत्तरदायी हुन सल्लाह दिइसकेका छौँ । र निर्वाचित जनप्रतिनिधिले जनमुखी काम गर्ने, बढी भन्दा बढी सेवा दिने, नागरिकलाई कसरी सहज रुपमा सेवा प्रवाह गर्न सकिन्छ, नयाँ के गर्न सकिन्छ भन्ने सोचेर काम गर्न भनेका छौँ । अब पनि पुरानै प्रवृत्तिलाई अंगाल्यौँ भने जनताले नेकपा एमालेकै हालतमा पुर्याउने छन् भनेर भनेका छौँ ।
नेपालको राजनीति फरक ढंगले अघि बढिरहेको छ । स्वतन्त्र उम्मेदवारहरुपनि जनतासँग प्रत्यक्ष सरोकार राखेर ठूला ठूला दलहरुलाई पराजित गरेको घटना हामीमाझ छ । त्यसकारण जनताको मन जितेर काम गर्दा जनता पनि खुशी हुन्छन् र राजनीतिक दल पनि सफल हुन्छन् भन्ने यो निर्वाचनले प्रमाणित गरिसकेको छ । यो विषयमा हामी निर्वाचित जनप्रतिनिधिलाई खबरदारी गरिरहन्छौँ ।
सवालः प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म मकवानपुरको सन्दर्भमा गठबन्धन हुन्छ कि हुँदैन, गठबन्धन नहुँदा कांग्रेस एक्लैले जित्ने आधार छ कि छैन ? तयारी के हुँदैछ ?
जवाफः हामीले भर्खरै निरंकुशउन्मुख पार्टीलाई यो निर्वाचनबाट मुर्छा मात्रै पारेका छौँ, त्यसलाई समाप्त पार्न सकेका छैनौँ । अब प्रदेश र संघको निर्वाचनमा गठबन्धनले जितेपछि त्यो समाप्त हुन्छ । त्यसकारण हामी तयार छौँ । गठबन्धन आउँदो निर्वाचनसम्म कायमै रहन्छ । तर, कति लामो समय जान्छ भन्ने चाँही मैले भन्न सक्ने कुरा होइन । मेरो भावना चाँही गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम हुनुपर्छ भन्ने हो ।
मुलुकमा एकल पार्टीले बहुमत ल्याएर स्थायी सरकार बनाउने, देशको आमुल परिवर्तन गर्ने, शान्ति र समृद्धिको प्रत्याभूति गराउने अवस्था रहेन । त्यसकारण अब गठबन्धनको संस्कार कायम राख्नुपर्ने देखिन्छ । शासन पद्धतीलाई टिकाइराख्न र लोकतन्त्रलाई बचाइराख्न गठबन्धनको संस्कार टिकाउन जरुरी छ । एउटै मात्र दलले यो व्यवस्थालाई लामो समय टिकाउन सक्दैन ।
यता, गठबन्धन भएन भने कांग्रेस एक्लै जान सक्छ कि सक्दैन भनेर पनि सोध्धु भयो । एउटा उदाहरण म दिन चाहान्छु, यो भन्दा अगाडि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । गठबन्धन हुँदै गर्दा पनि प्रतिनिधिसभा २ (ख) को निर्वाचनमा गठबन्धनलाई तोडेर इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको थियो । त्यसकारण माओवादी केन्द्रसँग गठबन्धन तोड्दैमा कांग्रेस हार्छ भन्ने होइन । कांग्रेस मकवानपुरमा एकल पनि मजबुद भएको संकेत हामीले पाएका छौँ । एकल जाँदा पनि चुनाव जित्छौँ तर गठबन्धन जोगाइराख्ने हाम्रो प्रयास जारी रहन्छ ।
सवालः स्थानीय तहको निर्वाचनमा टिकट वितरणको सन्दर्भमा असन्तुष्टि हरु पनि देखिएका छन् । कांग्रेसमा विगतदेखिनै गुट उपगुट पनि मौलाउँदै गएको छ । यहाँको नेतृत्वमा पार्टीलाई कसरी अघि बढाउनुहुन्छ ?
जवाफः पार्टीभित्र फरक मत हुन्छ । त्यो लोकतन्त्रको सु्न्दर पक्ष हो, मत अभिव्यक्त गर्न पाइन्छ । कुनै विषयमा हाम्रो मत फरक देखिएपनि संकटको घडीमा मिलेकै छौँ । त्यो निर्वाचनले पनि पुष्टि गरेको कुरा हो । म गुट उपगुट नभई सिंगो कांग्रेसलाई एक ढिक्का बनाई अघि बढाउन चाहान्छु । त्यसमा सबैको सहयोग आवश्यक छ ।
अब टिकट वितरणको सन्दर्भमा केही असन्तुष्टि पक्कै देखिएको छ । यत्रो गठबन्धन मिलाउनुपर्ने जिम्मेवारीका कारण टिकट वितरणमा केही कमजोरी पक्कै भएको हो, तर, असन्तुष्ट साथीहरुलाई आगामी दिनहरुमा अन्य अवसरबाट बञ्चित गर्ने छैनौँ । सबैलाई समेटेरै लैजाने हाम्रो नीति छ । म पार्टी सभापति भएलगत्तै निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएँ । मैले विगतमा धेरै पार्टी सभापतिहरुसँग काम गरेको छु । मेरो लामो अनुभवले पनि यो निर्वाचनमा काम गरेको महशुस गरेको छु । फलस्वरुप कांग्रेस धेरै स्थानीय तहमा निर्वाचित हुन सफल भएको छ । अब पार्टीलाई अझै संगठीत बनाउँदै, अझै सुदृढ बनाउँदै लैजाने छु ।
सबैभन्दा पहिला म पार्टीको प्रशिक्षण अभियान म सुरु गर्छु । त्यसपछि जनप्रतिनिधिहरुलाई जनमुखी कार्य गर्न अभिमूखिकरण गर्छौँ । जिम्मेवार पदमा रहेका पार्टीका नेताहरुलाई अझै परिस्कृत गर्छौँ । जनतालाई सेवा दिने कार्यलाई हामी प्राथमिकताका साथ अघि बढाउँछौँ । पार्टीको इतिहासलाई संरक्षण गर्दै नयाँ संस्कार र नयाँ पद्दतीलाई पनि हामी सुरु गर्छौँ ।
सवालः अन्तमा के भन्न चाहानुहुन्छ ?
जवाफः कांग्रेस लोकतन्त्रलाई विश्वास गर्ने पार्टी हो । मुलुकको समृद्धि र जनताको हितको आधार लोकतन्त्र हो भन्ने हाम्रो मान्यता छ । आजसम्म यो उपलब्धी हासिल गर्न सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्दछु । निर्वाचिन जनप्रतिनिधिमार्फत् र कांग्रेस पार्टीको तर्फबाट जनभावना अनुसारका कामहरु कसरी गर्न सकिन्छ त्यसका लागि हामी अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु । मेरो भनाईहरु तु खबरमार्फत् आम पाठकसमक्ष पुर्याउने जुन अवसर दिनुभयो त्यसका लागि म यहाँहरुप्रति आभार व्यक्त गर्दछु । जय नेपाल ।