मकवानपुरको महक –५ : ‘बुद्धिपुराण’ को सामान्य विश्लेषण

सञ्जय साह मित्र
२०७९ जेष्ठ २७,शुक्रबार १६:४०

मकवानपुर । राजकुमार लामिछाने परिचित हास्यव्यङ्ग्यकार हुन् । ५६ वर्षअघि सिन्धुपाल्चोकमा आँखा उघारेका लामिछाने बागमती प्रदेशको राजधानी हेटौंडाका स्थायी बासिन्दा हुन् । लामिछाने मकवानपुरे हास्यव्यङ्य निबन्ध क्षेत्रमा देशमा गणतन्त्र आइसकेपछि देखा परेका सर्जक हुन् । २०७४ मा लामिछानेको ‘पुतलाको पावर’ कृति प्रकाशित छ । कम समयमा धेरै राम्रो चर्चा पाएको लामिछानेको ‘पुतलाको पावर’ ले उचित सम्मान प्राप्त गरेको छ । यस कृतिले लामिछानेलाई नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा स्थापित गरेको छ भने ‘भैरव स्मृति सम्मान – २०७४’ पनि प्राप्त गरेको छ अर्थात् यस कृतिका लागि लामिछानेलाई प्रदान गरिएको छ ।

लमिछानेका हास्यव्यङ्ग्य विधाका रचनाहरू विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा निरन्तर प्रकाशित भई रहन्छन् । यसबाट यिनी सक्रिय साहित्यकार हुन् भन्ने स्पष्ट हुन्छ । साथै विभिन्न साहित्यिक कार्यक्रमहरूमा लामिछानेको भौतिक सक्रियता पनि रहन्छ । साहित्य सिर्जनाको क्षेत्रमा सक्रियताले नाम र मान दुबै पाउँदा ऊर्जा आउनु स्वाभाविक हो । साहित्य सिर्जनामा लागेको धेरै लामो समयपछि ‘पुतलाको पावर’ देखिएको थियो तर, यसपछिको निरन्तर सार्थक सक्रियताले २०७८ मा आयो ‘बुद्धिपुराण’ ।

‘बुद्धिपुराण’ पनि हास्यव्यङ्ग्य निबन्ध नै हो । लामिछानेको समग्र साहित्यिक यात्रामा औपचारिक दोस्रो कृति ‘बुद्धिपुराण’ हो । यसको प्रकाशन सिस्नुपानी नेपालले गरेको छ । महान् हास्यव्यङ्ग्य शिल्पी भैरव अर्यालप्रति समर्पण गरिएको यस कृतिमा लेखिएको छ – “लेखकको अनुमति बिना पुरै पुस्तक वा पुस्तांश कुनै पनि माध्यमद्वारा पुनरूत्पादन गर्न पाइने छैन ।” यद्यपि समीक्षाको लागि लेखकले अनुमति दिएका छन् ।

‘बुद्धिपुराण’ मा बिस रचना समेटिएका छन् । यसमा परेको ‘चार्डबाडको चटारो’ लेखकको पहिलो कृतिमा पनि परिसकेको र परिमार्जन गरी यसमा पनि समावेश गरिएको स्वीकार गरिएको छ । यसबाट यस कृतिमा समाविष्ट निबन्धहरूमध्ये एउटा पहिले नै पाठकले पढिसकेका छन् भन्ने स्पष्ट हुन्छ ।
‘बुद्धिपुराण’ को पहिलो अध्याय नै ‘प्रेमकुमारीलाई पत्र’ रहेको छ । समाजमा कोरोना काण्ड चलिरहेको समयमा राहत वितरण गरिएको थियो । राहत सामग्रीको गुणवत्तामाथि सबैतिर अनेक प्रश्न उठेका थिए । त्यही विषयमा पत्नीलाई लेखिएको पत्र हो । यसमा बेथिति माथि प्रहार गरिएको छ ।

काम होस् नहोस् तर, शिलान्यास र उद्घाटन भनेपछि नेताहरू हुरुक्कै हुन्छन् । शिलान्यास र उद्घाटनमा व्यस्त नेताहरूले काम गर्ने मौका कहिले पाउँछन् होला ? भाषणले मात्र काम हुने भए त हाम्रो समाज कहाँ पुगिसक्थ्यो कहाँ ? यही विसङ्गतिको आलोचना गरिएको रचना हो ‘शिलान्यास’ । भनिन्छ – चिया पसलमा सबै किसिमको विचार सुन्न पाइन्छ । एक दिन म पात्रले ‘चियाको चर्तिकला’ चिया पसलमा सुन्छ । चियाको प्रकारको बारेमा समेत लामो व्याख्यान यसमा दिइएको छ । चिया पसलमा अनावश्यक समय पास गर्ने प्रवृत्तिप्रति पनि यसमा व्यङ्ग्य पाइन्छ । आस्था राख्नुपर्छ, विश्वास गर्नुपर्छ तर, आफैँले गर्नुपर्ने कामका लागि ‘भगवानको भर’ गर्न नहुने सुझाव दिइएको छ । लघु निबन्ध ‘को ठूलो’ मा ठूलो मानिसलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता देखाइएको छ ।

कोहीकोहीलाई अनावश्यक फेहरिस्त सुनाउने बानी हुन्छ । यस्तो कथ्य पुराणप्रति स्रोताको रुचि–अरुचिको कुनै वास्ता गरिन्न । स्रोताप्रति हुने यस प्रकारको अन्यायलाई मुख्य विषय बनाइएको निबन्धहो – ‘गफको गुजुल्टो’ । देश र जनताको मुक्तिकाखातिर जीवनोत्सर्ग गर्ने वास्तविक सहिदप्रतिको सम्मान नै कम हुने गरी आन्दोलनको भरमा सहिद घोषणा गर्न लगाउने प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको सिर्जना हो – ‘चिप्लेटी सहिद’ । शारीरिक समस्यामा झारफुकको भर पर्ने अन्धविश्वासप्रति प्रहार गरिएको हो निबन्ध हो – ‘कानको करामत’ । यसमा कानको उपयोगिता र महत्व पनि दर्शाइएको छ । साथै झारफुकको चक्करमा समय धेरै लाग्ने र शरीरले नै दुःख पाउने र अन्तमा औषधिकै भर पर्नुपर्ने भएकोले औषधि गर्नुपर्ने सुझाव पनि यसमा दिइएको छ ।

‘चार्डबाडको चटारो’ ले आम नेपालीले एकातिर चाडपर्व मान्नुपर्ने र अर्कोतिर एकपछि अर्को चाड आइरहँदा चाडपर्वले नै आर्थिक समस्या निम्त्याउने गरेको कुरालाई मुख्य विषयवस्तु बनाएको छ । चाडले गरिबको ढाड सेक्ने गरेको तर, संस्कृतिको नाममा मान्नैपर्ने बाध्यता रहेको यसमा बताइएको छ । ‘जीवी’ र ‘जिबी’ मा भिन्नता छुट्याउन पनि नसक्ने नानाथरिका स्वनामधन्य ‘बुद्धिजीवी’ प्रति तीक्ष्ण प्रहार गरिएको व्यङ्ग्य हो – ‘बुद्धिपुराण’ । कथित बुद्धिजीवीहरूको पनि यसमा वर्गीकरण गरिएको छ ।

म पात्रका रङ्गीचङ्गी मित्रहरूको आनीबानीको परिचय दिइएको निबन्ध हो – ‘मेरा मित्रहरू’ । व्यङ्ग्यकारसँग परिचित र निजलाई आफ्नो मित्र मान्नेहरूले आफ्नो अनुहार यस रचनामा खोज्दा हुने किसिमको छ यो सिर्जना । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने दर्शनका अनुयायी मित्रहरूको यसमा पर्दाफास गरिएको छ । ‘होलसेल शास्त्र’ मा भने सडकछाप ज्योतिषीहरूको उछितो काढिएको छ । ज्योतिष भनाउँदोको बोलीले पीडितलाई झन् कसरी आहत बनाउँछ भन्ने कुरो यसमा स्पष्ट पारिएको छ ।

जताततै लामखुट्टेको सङ्ख्या र आक्रमण बढिरहेको छ । मच्छर पनि मार्न नसक्ने अनेक मन्त्रीहरूप्रति ‘लामखुट्टे विकास मन्त्री’ निबन्धले व्यङ्ग्य प्रहार गरेको छ । एक सामान्य कर्मचारीको तलब वा खल्तीको दाममा कतिको नजर हुन्छ भन्ने कुराका साथै कमाइ गर्नेको पीडाको व्यथा पनि व्यक्तिएको निबन्ध हो – ‘छामछुम’ । यसले छामछुमको अँध्यारो पाटोप्रति प्रकाश छर्ने प्रयास गरेको छ । खाई नपाई छाला टोपीलाई भन्नेजस्ता केही उखानले कतै राम्रोसँग कपडा लाउन नपाउनेहरूप्रति अन्याय गरेको त होइन ? यस्ता उखानको प्रयोग गर्न नहुने तथा उखानहरूको पनि पुनर्मूल्याङ्कन हुनुपर्ने भाव ‘लेदर क्याप’ निबन्धको रहेको छ ।

‘हिसाबदाह्रीको’ भन्ने निबन्धमा म पात्रलाई पहिले दारीप्रति खूब आशक्ति रहेको तर, भने जस्तो दारी नपाउँदा खल्लो लागेको बताइएको छ । कोरोना कालमा दारी काट्न नपाउँदा बढेको दारीको भारीले निबन्ध जन्माएको स्पष्ट बुझिन्छ । यस निबन्धले दारीको प्रकृति हेरी प्रकार पनि तोकेको छ । मदिरालाई ‘शक्तिजल’ मानिएको निबन्धमा थरिथरिका मदिरा प्रेम र असरको उल्लेख गरिएको छ ।

पुरस्कार प्रदान वा प्राप्तिको क्षेत्रमा देखिएको विकृति–विसङ्गतिलाई विषयवस्तु बनाइएको रचना हो – ‘पुरस्कारको पगरी’ । जिब्रो नभएको भए कस्तो हुन्थ्यो होला ? जिब्रोको प्रयोग, उपयोग, दुरुपयोग कसरी भइरहेको छ ? यी प्रश्नहरूबारे कहिल्यै विचार नगरेकालाई पनि एकचोटि सोध्न बाध्यपार्ने निबन्ध हो – ‘हाड नभएको जिब्रो’ । र, कृतिको अन्तिम रचनाको रूपमा रहेको छ –‘दरको रहर … …’ । तीज पर्वको उत्पत्ति, विकास र वर्तमान विश्वासको बारेमा यसमा चर्चा गरिएको छ । तीजको अघिल्लो दिन खूबखाने अनि भोलिपल्ट व्रत बस्ने गरेजस्तै वर्षभरि तीजको दर जस्तै अनेक चिज खाइरहनेले पनि व्रत गर्नुपर्ने हो कि ?

सिस्नुपानी नेपाल मकवापुरका अध्यक्ष समेत रहेका हास्यव्यङ्ग्यकार लामिछानेको प्रस्तुत ‘बुद्धिपुराण’ यस मानेमा शुद्ध मकवानपुरे ग्रन्थ हो कि यसको भूमिका मकवानपुरमै लेखिएको छ र यसको छपाई मकवानपुरमै गरिएको छ । सम्भवतः सबै रचना कोरोना कालमै सिर्जना गरिएका हुन् । यसको सङ्केत व्यङ्ग्यकारले ‘आफ्ना कुरा’ मा गरेका छन् । लामिछानेमा कठिन परिस्थितिले हास्यव्यङ्ग्यको गर्भाधान गर्ने गरेको सङ्केत हो यो ।

व्यङ्ग्य कृतिमा सजाइएका रचनाहरूमा विभिन्न किसिमले शब्दको अनुप्राशिता तथा अर्थको सामीप्यतामा हास्य र व्यङ्ग्यको सिर्जना भएको पाइन्छ । स्वाभाविक र सरल भाषाको प्रयोग व्यङ्ग्यकारको कृतिगत विशिष्टता हो । यस हास्यव्यङ्ग्य निबन्धले कृतिकार लामिछानेको उचाई बढाउने काम गरेको छ । यसमा सङ्गृहित रचनालाई कतै लुकाएर वा कसैसित जोगिएर पढ्नु पर्दैन । शिष्ट शैलीको विशिष्ट व्यङ्ग्य कृतिका लागि निबन्धकार राजकुमार लामिछानेलाई बधाई । यस कृतिले नेपाली हास्यव्यङ्ग्य साहित्यमा उच्च सम्मान पाउने अपेक्षा गर्न सकिन्छ ।