जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचन तालिका सार्वजनिक

तु खबर संवाददाता
२०७९ जेष्ठ २७,शुक्रबार १८:५९

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार निर्वाचन आगामी असार २ गते हुने भएको हो । नर्वाचनको मिति तय गर्न शुक्रबार अपराह्न बसेको सर्वदलीय बैठकपश्चात कार्यालयले तालिका सार्वजनिक गरेको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठका अनुसार जेठ ३० गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि समय मिलाइएको छ । ३१ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ भने असार १ गते उम्मेदवारलालाई निर्वाचन चिन्ह प्रदान गरिने जनाइएको छ ।

असार २ गते विहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान कार्यक्रमलाई लागि समय तय गरिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडा २ लाई मतदान केन्द्र तोकिएको छ ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरापलिका र ८ वटा पालिका रहेका छन् । सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुखसहित ७ सदस्यको लागि मतदान हुन्छ । मकवानपुरमा ९ जना प्रतिनिधिसहित नेपाली कांग्रेस प्रथम स्थानमा रहेको छ । उसले जिल्लाको ५ स्थानीय तहको प्रमुख तथा ४ स्थानीय तहको उपप्रमुख जितेको थियो ।

त्यस्तै, नेकपा माओवादी केन्द्र मतदाताको हिसाबले दोस्रो स्थानमा रहेको छ । माओवादीको २ प्रमुख तथा ५ उपप्रमुख गरी कूल ७ जना मतदाता रहेका छन् । त्यस्तै नेकपा एमालेको २ प्रमुख र १ उपप्रमुख गरी ३ जना मतदाता रहेका छन् । नेकपा एकीकृत समाजवादीको भने एक जना प्रमुख मात्रै मतदाताको रुपमा रहेको छ । जिसस नेतृत्वको लागि कांग्रेस र माओवादी केन्द्रले दावी गरिरहेका छन् ।