जिसस मकवानपुरः गठबन्धन दलमा सहमति जुटाउन सकस, होला त एमालेको इन्ट्रि ?

तु खबर संवाददाता
२०७९ जेष्ठ २८,शनिबार १०:३२

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन असार २ गते हुने गरी निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिकामा जेठ ३० गते उम्मेदवारीको मनोनयन दर्ता, ३१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असार १ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने उल्लेख छ ।

उम्मेदवारीको मनोनयन दर्ता गराउने मिति २ दिन मात्रै बाँकी रहँदासम्म सत्तारुढ गठबन्धनकै दलहरुबीच सहमति जुट्न सकेको छैन । जिससको प्रमुख पदका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दावी प्रस्तुत गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचन २०७९ बाट हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा गठबन्धनका दुवै कम्युनिष्ट पार्टीले नेतृत्व गरेका कारण जिससको प्रमुख आफुहरुले पाउनुपर्ने कांग्रेसको दावी छ । गठबन्धनको ठूलो दल भएको र आफुहरु बहुमतको नजिकसमेत रहेकाले माओवादी केन्द्रले आफुहरुलाई सघाउनुपर्ने कांग्रेसको अडान छ । यता, जिल्लाको ६ वटा पालिकामा आफुहरुले कांग्रेसलाई सघाएको कारण अब जिससमा कांग्रेसले दावी गर्न नहुने माओवादीका नेताहरु बताउँछन् । कांग्रेसले दावी नछोडे आफुहरु बाम गठबन्धन गरेर अघि बढ्ने माओवादीले चेतावनीसमेत दिएको छ ।

यस्तो छ अंकगणित

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरापलिका र ८ वटा पालिका रहेका छन् । सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुखसहित ७ सदस्यको निर्वाचन हुँदैछ ।

मकवानपुरमा ९ जना प्रतिनिधिसहित नेपाली कांग्रेस प्रथम स्थानमा रहेको छ । उसले जिल्लाकोे मकवानपुरगढी, राक्सिराङ, कैलाश, मनहरी र बकैया गाउँपालिकाको प्रमुख र हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बागमती र, भीमफेदी गाउँपालिकाको उपप्रमुख जितेको थियो ।

त्यस्तै, नेकपा माओवादी केन्द्र मतदाताको हिसाबले ७ जना प्रतिनिधिसहित दोस्रो स्थानमा छ । उसले थाहा नगरपालिका र बागमती गाउँपालिकाको प्रमुख तथा मनहरी, मकवानपुरगढी, राक्सिराङ, बकैया र कैलाश गाउँपालिकामा उपप्रमुख जितेको थियो ।

क्रमश नेकपा एमाले तेस्रो र नेकपा एकीकृत समाजवादी चौथो स्थानमा छन् । एमालेले भीमफेदी गाउँपालिकाको प्रमुख र इन्द्रसरोवर गाउँपालिकाको प्रमुख तथा उपप्रमुख जितेको थियो भने एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको प्रमुख मात्रै जितेको थियो ।
कूल २० जना मतदाता रहने सो निर्वाचनमा विजयी हुन ११ मत आवश्यक पर्दछ । कुनै पनि दलसँग एकल बहुमत छैन । कांग्रेससँग ९, माओवादी केन्द्रसँग ७, एमालेसँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ मत रहेको छ । गठबन्धन कायमै रहेको अवस्थामा गठबन्धनको मत १७ पुग्नेछ ।

गठबन्धन नभएको अवस्थामा कांग्रेसले एमालेको सहयोग लिँदा पनि ११ मत पुग्छ । यता माओवादी केन्द्रले एमालेको सहयोग लिँदा १० मत मात्रै पुग्छ । यस्तो अवस्थामा नेकपा एकीकृत समाजवादीको १ मत मत निर्णायक रहन्छ ।

होला त एमालेको इन्ट्रि ?

२०७४ को स्थानीय निर्वाचनमा मकवानपुरको ६ वटा पालिकाको प्रमुख तथा उपप्रमुख पद एमालेले जितेको थियो । थप २ वटा पालिकाको उपप्रमुख एमालेले जितेको थियो । थाहा नगरपालिका र बागमती गाउँपालिकामा प्रमुख पद जितेको माओवादी केन्द्रसँग २ मत थियो ।

त्यस्तै कांग्रेसँग राक्सिराङ गाउँपालिकाको प्रमुख तथा उपप्रमुख, थाहा नगरपालिकाको प्रमुख र बकैया गाउँपालिकाको प्रमुख गरी कूल ४ मत थियो । एकल बहुमत भएका कारण जिल्ला समन्वय समितिमा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

स्थानीय तहमा विरासत जोगाउन नसकेको एमालेले जिल्ला समन्वय समितिमा भने उपप्रमुखसहित केही सदस्यहरु माग गर्दै गठबन्धनका दलहरुसँग लभिङ गरिरहेको स्रोत बताउँछ । गठबन्धन भत्काएर कांग्रस वा कम्युनिष्ट पार्टी दुवैसँग तालमेल गर्दा परिणाम पक्षमा ल्याउन सक्ने मत भएका कारण एमालेले कसरत बढाएको हो ।