वर्षायाममा हुनसक्ने जोखिमप्रति पूर्व सावधानी

तु खबर संवाददाता
२०७९ जेष्ठ २९,आईतवार १८:२७

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले वर्षायाममा बाढी र पहिरोबाट निम्तिने जोखिमप्रति पूर्व सावधानी अपनाइएको जनाएको छ । जिल्लाको प्रत्यक स्थानीय तहमा बाढी र पहिरोको निकै जोखिमयुक्त क्षेत्रहरु रहेको र आजभोली दिनहुँजसो वर्षा भइरहेकोले बाढी र पहिरोका कारण कतै समस्या भइहाले त्यहाँ उद्दारका लागि नेपाली सेना, ससस्त्र प्रहरी र जनपथ प्रहरीको टोली तयारी अवस्थामा राखिएको प्रशासन कार्यालयले जनाएको छ ।

तीन वटै सुरक्षा निकायमा २५ जनाका दरले ७५ जनाको टिम तयारी अवस्थामा रहेको र बाढी, पहिरो गइहालेमा तत्काल खोज तथा उद्धारका लागि टोली परिचालन हुने मकवानपुका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । तीन वटै सुरक्षा निकायको टोली खोज र उद्दारका लागि सामाग्रीसहित तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

जिल्लाको दश वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति रहेका छन् । ती व्यवस्थापन समितिसंगै जिल्लास्तरको समिति तयारी अवस्थामा राखिएको उनले बताए । विपद्पछि आइपर्ने समस्याका लागि नेपाल रेडक्रस सोसाइटी, उद्योगी व्यावसायीहरु, विभिन्न सामाजिक संघसंस्थाहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रजिअ पाण्डेले बताए ।