‘कृषिबाट बकैयालाई समृद्ध बनाउँछौँ’

बलराम पुडासैनी
२०७९ असार ६,सोमबार ०८:२५

संघीय लोकतान्त्रिक संविधान कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सम्पन्न भएको छ । मुलुकको सर्वतोमुखी विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तह संघीयताको पहिलो खुड्किलो पनि हो । यसले लोकतन्त्रको आधार स्तम्भको रुपमा रही जनतासँग प्रत्यक्ष सम्बन्ध राख्दछ ।

विगत ५ वर्षको अनुभवले आम जनता र राजनीतिकर्मी बीच स्थानीय सरकारको महत्वलाई अझ थप स्पष्ट पारेको छ । यसअघिको स्थानीय सरकार संघीयता कार्यान्वयनपछिको पहिलो अनुभव थियो । त्यसैले आवश्यक कानूनको अभावमा संघीय प्रणाली अनुरूपको सेवा प्रवाह हुन सकेन । सबै तहमा कर्मचारीको अभाव, योजना र बजेट परिचालनमा पर्याप्त सीप र अनुभवको अभावमा जनप्रतिनिधिले चाहे जस्तो काम गर्न सकेनन् ।

ती समस्याहरु अहिले केही हदसम्म समाधान भएका छन् । संविधानको अनुसूची ८ ले स्थानीय तहको जिम्मेवारी तोकिदिएको छ । स्थानीय तहको विशिष्ट जिम्मेवारी र अन्य साझा अधिकार छन् । स्थानीय सरकार संचालन ऐन २०७४ को समेत अभ्यास र कार्यान्वयनका लागि सँगालेका अनुभव अहिलेको कार्यदिशाका अमूल्य सम्पती हुन् ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिका रहेका छन् । भौगोलिक विभिधताले भरिपूर्ण यस जिल्लामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको छ । सिमेन्ट उद्योगका लागि चुन ढुंगा र कृषिजन्य उद्योगका लागि कच्चा पदार्थको यहाँ भण्डारनै रहेको छ । सम्भावना नै सम्भावना बोकेको मकवानपुरका स्थानीय तहहरुले समुन्नत पालिका निर्वाणको लागि के कस्ता कार्यहरु गरिरहेका छन्, आगामी आर्थिक वर्षको लागि के कस्ता नीति तथा कार्यक्रम अवलम्वन गर्न चाहान्छन् भन्ने विषयमा हामीले जान्ने प्रयास गरिरहेका छौँ । यीनै विषयमा केन्द्रीत भएर तु खबरले बकैया गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धर्मराज लामिछानेसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश ।

सवाल: स्थानीय तहको निर्वाचन २०७९ बाट जनताले तपाईंलाई गाउँपालिकाको अभिभावकको रुपमा चुनेका छन् । जनताको अपेक्षालाई पुरा गर्दै स्थानीय सरकारको प्रत्याभूति दिलाउने गरी काम गर्नुपर्ने ठूलो जिम्मेवारी यहाँको काँधमा आएको छ । त्यसलाई कसरी पुरा गर्नुहुन्छ ?

जवाफः धन्यवाद । सर्वप्रथम त मलाई विश्वास गरेर गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सुम्पिनु हुने मतदाताप्रति आभार व्यक्त गर्दछु । मैले साँच्चिकै अभिभावकत्व ग्रहण गर्नुपर्छ र गाउँपालिमा मेरो होइन, हाम्रो हो, आम जनताको हो भन्ने प्रत्याभूति दिलाउन सक्नुपर्छ । म जनताको मन र मत जिनेको व्यक्ति हुँ, त्यसकारण पनि मैले जिम्मेवार भएका काम गर्नुपर्छ भन्नेमा म सचेत छु ।

व्यक्तिगत स्वार्थ त्यागेर जनहितका, जनमुखी कार्यमा आफुलाई व्यस्त बनाउने मेरो प्रयत्न हुनेछ । शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, भाषा, कला, साहित्य, युवा स्वरोजगारलगायतको क्षेत्रमा परिवर्तन देखिने गरी काम गर्नेछु । महिला, बालबालिका, बृद्धबृद्धा, अशक्त, विपन्न वर्ग, जनजाति, युवा पुस्ता, एकल महिला, लोपोन्मुख तथा अल्पसंख्यक, सिमान्तकृत सबैको लागि काम गर्नुपर्ने जिम्मेवारी छ ।

विशेषगरी गाउँपालिकामा शिक्षा र कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छु । त्यसै अन्तरगत हामीले विभिन्न कार्यक्रमहरु पनि आयोजना गर्दै आएका छौँ । मैले प्रदेश र संघमा पनि त्यसका लागि सहयोग उपलब्ध गराइदिन आग्रह गरिरहेको छु । आधारभूत शिक्षालाई जोड दिएका छौँ । कृषिमा पनि हामीले तालिम दिने, आवश्यक औजार, मल तथा विउविजन उपलब्ध गराउने तयारी गरिरहेका छौँ ।
मेरो क्षमताले भ्याएसम्म जनताको विश्वासलाई सम्मान गर्दै मेरो व्यक्तिगत कामको लागि भन्दा पनि बकैयाबासीको हितका लागि अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

सवालः अघिल्लो स्थानीय निर्वाचनमा मकवानपुरको ६ वटा पालिकामा एमालेले नेतृत्व गरेको थियो । कांग्रेस २ वटामा मात्रै सिमित थियो । एमालेले काम गरेन भनेर यहाँहरुले आरोप लगाउँदै आउनुभएको थियो । अब एमालेलाई दोष दिने ठाउँ छैन । कांग्रेसको नेतृत्वले बकैयामा स्थानीय सरकारको प्रत्याभूति दिलाउन सक्छ ?

जवाफः हामी निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र वा गठबन्धन वा एमाले र अन्य दलहरुका रुपमा थियौँ । तर, निर्वाचितपछि हामी जनप्रतिनिधि हौँ । हामी साझा भइसकेका छौँ । त्यसकारण यसको उसको भनेर हामी विभेद गर्दैनौँ । फेरी बकैयामा त राजनीतिक रुपमा पनि मिस्रित नेतृत्व आएको छ । पालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी र ३ वटा वडा अध्यक्षमा एमालेले नेतृत्व गरेको छ । हामी सबै दल मिलेर जाने अवस्थामा छौँ । हामी सत्तापक्षभन्दा बाहिर रहेको कारण अवसरबाट बञ्चित हुनुपर्यो भन्ने भावना जनतामा आउन नदिने गरी काम गर्छौँ ।

जनताले ‘कांग्रेसको धर्मराजलाई जिताएको कांग्रेसकालाई मात्रै गर्यो, माओवादीको भक्तलाई जिताएको माओवादीको मात्रै पक्ष लियो’ भन्ने जस्ता गुनासाहरु नआउने गरी काम गर्ने छौँ । त्यसका लागि सबैको सहयोग आवश्यक रहेको छ ।

हामी सबै जनप्रतिनिधिको मनोभावना सबैलाई समेटेर लैजाने भन्ने नै हो । त्यो हाम्रो कर्तव्य पनि हो । ‘भोट हालेका वा नहालेका सबै जनताले वास्तवमै जित्नैपर्ने मान्छेले जितेको रहेछ’ भन्ने भावना जनतामा जागृत हुनेगरी काम गर्ने छौँ ।

सवालः पदभार सम्हालेको झण्डै १ महिना भइसकेको छ । यहाँसम्म आइपुग्दा अन्य राजनीतिक दल, नागरिक समाज, संघसंस्थाहरुको सहयोग/समन्वय कस्तो छ ?

जवाफः हालसम्म सबै राजनीतिक दल र सबै क्षेत्रको सहयोग/समन्वय उत्साहजनक नै छ । तपाईको टिम राम्रो छ भन्ने नै प्रतिक्रिया प्राप्त भइरहेको छ । सबै जनप्रतिनिधिहरु राम्राले जितेका छन् भन्ने कुराहरु सुनिएको छ । तीनै दल मिलेर तपाईहरु जानुस् भन्ने भावना सबैले प्रस्तुत गरिरहेका छन् ।

सवाल: यहाँले निर्वाचनको समयमा आफ्नो प्रतिवद्धतापत्रमा थुप्रै योजनाहरु समेट्नुभएको थियो । हामीले अध्ययन पनि गरेका थियौँ । त्यसलाई क्रमबद्ध रुपमा कसरी कार्यान्वयनमा लैजाने सोच बनाउनुभएको छ ?

जवाफः मैले कृषिबाट बकैयालाई समृद्ध बनाउँछु भनेको हुँ । मैले पूर्वाधार विकास विजुली बत्ती, शिक्षा, स्वास्थ्य, रोजगारको पहुँच सबै नागरिकसमक्ष पुर्याउने योजना अघि सारेको थिएँ । यी कुराहरुको लागि पालिकाको भन्दा पनि प्रदेश र संघको बजेटमा बढी निर्भर रहने हाम्रो लक्ष्य छ । अब, हामीले प्रत्येक वडालाई साँढे ८२ लाखका दरले दिइसक्यौँ । पहिला ६ करोड दिइएको वडामा झण्डै १० करोड त वडामै पैसा पठाइसक्यौँ । त्यसकारण पूर्वाधारका कामहरुलाई प्रदेश र संघबाट ल्याएको बजेटले निरन्तरता दिँदै यहाँको बजेटले चाँही नयाँ किसिमको कामहरु गर्ने सोच हाम्रो छ ।

शिक्षामा अघिल्लो पटक २ करोड ५० लाख विनियोजन भएको थियो । अहिले हामीले ३ करोड विनियोजन गरिसकेका छौँ । त्यसलाई ५ कक्षासम्मको शिक्षालाई चाँही हामी महत्वपूर्ण विषयको रुपमा जोड दिएर त्यहाँ शैक्षिक सामग्री उपलब्ध गराउने, शिक्षक थप्नुपरे थप्ने, ३ कक्षासम्म ग्रेड टिचिङ संचालन गर्नेलगायतका अवधारणा अधि सारेका छौँ । विद्यालयमा अब्जरभेशन, जस्तो विद्यालय निरिक्षक कक्षामा गएर त्यहाँको विषयगत शिक्षकलाई राखेर, प्रअलाई राखेर अब सर्टिफिकेटमा त जतिपनि नम्वर हाल्दिन सक्छन्, उसको वास्तविक अवस्था के छ त, हाम्रो रोहबरमा अब्जरभेसन गराउने ।

सँधैभरी नसकेपनि एक/दुई पटक गरेपछि विस्तारै परिवर्तन आउँदै जान्छ । त्यस्तै स्वास्थ्य क्षेत्रको सुधारको लागि पनि प्रदेश र संघसँग बजेट माग गर्ने र कुराहरु हामीले पनि गर्ने सँगसँगै युवाहरुलाई चाँही कृषिमार्फत् नै अघि बढाउने । गाउँमा नयाँ उद्योगहरु छैनन्, हामी कृषि विज्ञसँग सल्लाह गरिरहेका छौँ । हामीले उत्पादन गरेको बस्तुहरुबाट धेरै उद्योगहरु सञ्चालन हुने रहेछ । हामीले संघ र प्रदेशबाट ४०/५० करोड पैसा भित्र्याउन सक्यौँ भने झण्डै २० वटा उद्योग सञ्चालन गर्न सकिने रहेछ । त्यसको तयारीमा पनि हामी छौँ ।

सवाल: यहाँ विशेषगरी कस्ता उद्योगहरु सञ्चालन हुने रहेछ त ?

जवाफः सिमेन्ट उद्योग वातावरणमैत्री भएन । यहाँ अन्य जटिबुटी प्रशोधन उद्योगको लागि पनि सम्भाव्यता भएन । हामी विशेषगरी वातावरणमैत्री उद्योग स्थापनामा जोड दिन्छौँ । त्यसका लागि कृषिसँग सम्बन्धित उद्योग नै उपयुक्त हुन्छ भन्ने विज्ञहरुले सल्लाह दिइरहनुभएको छ ।

कम्पोष्ट मलको उद्योग खोल्ने तयारीमा छौँ । प्राङ्गारिक मल उत्पादनलाई त हामी जोड दिइनै रहेका छौँ । त्यसैसँग सम्बन्धित तालिम पनि दिइरहेका छौँ । प्राङ्गारिक मल त घरमै बनाउन सकिने रहेछ । रासायनिक मलभन्दा पनि राम्रो विरुवाको लागि पोषिलो र कृषि उब्जनीमा मद्धत पुर्याउन आवश्यक प्राङ्गारिक मल उत्पादनको लागि कृषहरुलाई प्रोत्साहन गर्ने, युरिया मल हाल्दा नाइट्रोजन मात्रै पाइन्छ । बोट हरियो हुन्छ । तर, फल राम्रो हुँदैन भने प्राङगारिक मलबाट विरुवालाई चाँहीने १६/१७ वटा तत्वहरु पाइने रहेछ, प्रयोग गर्दा मानव स्वास्थ्यमा असर पनि नगर्ने रहेछ । त्यसकारण हामी कृषिसँग सम्बन्धित उद्योगहरु खोल्ने तयारीमा छौँ ।

सवाल: आगामी आर्थिक वर्षको लागि संघ र प्रदेश सरकारले ल्याएको बजेटमा बकैया लक्षित कार्यक्रमहरु कति समावेश भएका छन् । त्यसमा सन्तुष्ट हुने अवस्था छ कि छैन ?

जवाफ: संघको त मैले त्यति राम्रोसँग अध्ययन गर्न पाएको छैन । तर प्रदेशबाट आएको चाँही कृषिमा लक्षित कार्यक्रम भनेर आयो । तर, बकैयाको लागि ३५ लाख मात्रै आएको छ । त्यसबाट हामी सन्तुष्ट छैनौँ । त्यसमा पनि सिमा तोकेर आएको छ । शीषर्कमा भनेर तोकिएर आएको छ । हामीलाई शीर्षक नतोकी कम्तिमा पनि १ करोड आउँछ होला भन्ने अपेक्षा थियो । कृषि सचिवज्यूलाई पनि भनेर आएका थियौँ । सन्तुष्ट हुने गरी बजेट आएको छैन ।

कृषिभन्दा बाहेक क्षेत्रमा केही बजेट आएको छ । धियाँलको एकदमै आवश्यक ठाउँमा परेको रहेछ । त्यहाँ गाउँपालिकामा आउने अनुदानको बजेटबाट ५० लाख हाल्दिनु भन्या थ्यो त्यो परेछ । अनि अर्को, धियाँलका मान्छेहरुलाई राइगाउँबाट बस यताबाट मात्रै आउने, सिन्धुलीबाट आउने पनि यतैबाट चल्ने राइगाउँको केही बसहरुलाई चाँही धियाँल हुँदै बकैया ७ नम्वर हुँदै धरान चतरा रोडमा निस्कनको लागि चाँदे हुँदै राइगाउँ जोड्ने एउटा बाटोलाई ५० लाख भन्या थ्यौँ । त्यो पनि परेको विषयमा जानकारी आएको छ । सबै लिस्टचाँही मैले हेर्न पाएको छैन ।

सवाल: गाउँसभाबाट आगामी आवको लागि कस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राख्ने तयारी छ ?

जवाफः हामी तयारी गरिरहेका छौँ । यीनै कृषि, स्वास्थ्य, शिक्षा, एकल महिलाहरुको कुरा भए, योग शिक्षा सिकाउने, लागू पदार्थ दूव्र्यशनीबाट बचाउनको लागि पनि केही पैसा छुट्याउने हाम्रो तयारी रहेको छ । सबै क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम ल्याउँछौँ ।

सवाल: आगामी आवको लागि ल्याउन लागिएकोे अनुमानित बजेट कति हो ?

जवाफ: हामी तयारी गरिरहेका छौँ । अहिले नै भन्न सकिने अवस्था छैन । १/२ दिन भित्रै अनुमानित रकम थाहा हुनेछ । ६ गतेपछि मोटामोटी थाहा हुनेछ ।

सवाल: गाउँपालिकाको आन्तरिक स्रोत बढाउन के कस्ता कार्यक्रम गर्ने सोच बनाउनुभएको छ ?

जवाफः हामीले पहिला यहाँको गिट्टी बालुलाई टाइट्ली उठाउने सोच बनाएका छौँ । पहिलाको भन्दा धेरै उठाउने हाम्रो योजना छ । अरु चाँही के–के शीर्षकमा हुनसक्छ, जनतालाई हामीले कर तिरेका छौँ भन्ने महसुस हुने गरी कर लिने र चुहावट हुनबाट रोक्ने हाम्रो योजना छ । हामीले लिन पाउने करहरु के–के हुन् विज्ञसँग सल्लाह गरेर जनतालाई मर्का नपर्ने गरी गर्नेछौँ ।

सवाल: बर्षभरी काम नगर्ने अनि असारे विकासलाई जोड दिने आरोप तीनै तहका सरकारमाथि छ । त्यसलाई चिरेर, पूर्वाधार विकासको काम दीगो पनि हुने गरी गर्न सकिँदैन ?

जवाफः हामी साउन महिनामै के के गर्न सकिन्छ, त्यसको स्टमेट गरेर सकेसम्म भदौबाटै काम गर्ने र दशैं अगावै नतिजा आउने गरी काम गर्ने योजनामा छौँ । गाडि नचल्ने बाटोहरुमा गाडि चल्ने गरी स्तरोन्नती गर्ने, भदौ महिनाबाट तीब्र गतिमा काम गरेर असार पुग्दा कर्मचारीहरुलाई केही पनि गर्ने कामनै भएन भन्ने अवस्था बनाउँछौँ । असार अगाडि काम सकेर भुक्तानी पनि सकेर फच्र्यौट गरीसक्ने हाम्रो योजना रहेको छ ।

सवालः युवाहरु रोजगारीको लागि विदेश पलायन हुने क्रम बढ्दो छ । स्थानीय युवाहरुलाई स्वदेशमै वा पालिकाभित्रै रोजगारीको अवसर दिन सकिँदैन ?

जवाफः सकेसम्म हामीले युवाहरुलाई आफ्नै गाउँमा, आफ्नै टोलमा बस्ने अवस्था बनाउने हाम्रो योजना हो । त्यसकै लागि हामीले कृषिसँग सम्बन्धित तालिमहरु दिइरहेका छौँ । कम्तिमा पनि एक जना युवाले महिनामा कृषि क्षेत्रबाटै ५० हजार रुपैयाँसम्म आम्दानी गर्नसक्ने वातावरण तयार गर्न सकिन्छ कि भन्ने भिजनबाट हामी अघि बढिरहेका छौँ । ती युवाहरु ८ घण्टा होइन १६ घण्टा खट्न तत्पर छन् । उनीहरुलाई खर्च कटाएर महिनाको ५० हजार रुपैयाँ कमाउने वातावरण तयार हुने गरी काम गर्न खोजिरहेको छु ।

युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नको लागि विशेषगरी कृषिमा नै ध्यान दिन आवश्यक छ । त्यसपछि जमिन नभएकाहरुलाई यहाँको अवस्था हेरेर विभिन्न सिपमुलक तालिम दिएर स्वरोजगार बनाउने छौँ । ग्रिल सम्बन्धी, मोबाइल, कम्प्यूटर बनाउनेसम्बन्धी, महिलाहरुलाई सिलाई कटाईसम्बन्धी तालिम भयो, हामी तालिम दिएर दक्ष बनाउँछौँ र उनीहरुले उत्पादन गरेको बस्तुलाई बजारीकरण गर्ने विषयमा सहयोग पुर्याउने छौँ ।

सवाल:बकैयामा जनजाती र अल्पसंख्यक समूदायको पनि बसोबास रहेको छ । विभिन्न समयमा गाई काटेर खाएको अभियोगमा यहाँका नागरिकहरु कानूनी फन्दामा पर्ने गरेका छन् । यो पटक–पटक राष्ट्रिय चर्चाको विषय पनि बनेको छ । स्थानीय सरकारको प्रमुख भएको नाताले यसलाई कसरी सहजिकरण गर्न सकिएला ?

जवाफ: यो संघ सरकारले बनाएको कानून भएकाले हामीले त्यसलाई संसोधन गर्न सक्दैनौँ । प्रचलित कानूनले गाई काट्न बन्देज लगाएको छ । त्यसकारण अहिलेको अवस्थामा गाई काट्नु कानून विपरित भएकोले हामी नागरिकहरुलाई त्यसो नगर्न सचेत गराउँछौँ । गाई नै किन काट्नुपर्यो मासु खान अन्य धेरै बस्तुहरु पनि रहेका छन् । बरु हामी बाख्रा पालनको लागि हामीले तालिम दिँदैछौँ ।

उनीहरुलाई दाना पनि यहाँनै बनाउने तयारीमा छौँ । उन्नत जातको बीज दिने हाम्रो लक्ष्य छ । गाई नै नखानुस् त्यसको विकल्प हामी दिनेछौँ । भोलि केन्द्र सरकारले खान पाउने भनेर संसोधन गर्यो भने कुनै सकियो । तर, अहिलेको अवस्थामा गाई काटेर खाएको अभियोगमा यहाँका जनताले सँजाय पाउने वातावरणको अन्त्य गर्न हामीले सचेत गराउने एक मात्र विकल्प हो ।

सवाल: यहाँले अध्यक्षसँग युवा उद्यमशीलता अभिमुखिकरण पनि सञ्चालन गर्नुभयो । यसबाट कति युवाहरु लाभान्वित हुनेछन् ? यसका लागि कति रकम विनियोजन गरिएको छ ?

जवाफ: युवाहरु उद्यमशील बनुन्, कृषि क्षेत्रमै केही गरुन् उनीहरुले कम परिश्रमबाट बढी उत्पादन लिन सकुन, व्यवसायिक बन्दै जाउन् भन्ने हाम्रो उद्देश्य हो । त्यसका लागि रकम त एकदमै न्यून छ । हामीले कुल ६ करोड कृषिमा छुट्याउने तयारी गरेका थियौँ । तर, भनेजस्तो नभएका कारण हामीले ४ करोड मात्रै छुट्याउने तयारी गरेका छौँ । अहिले जति युवा छन् माथिल्लो बेल्डमा र धियाँलमा हामी माटो चेक गरेर फलफूल र बेमौसमी तरकारी खेती गर्नेछौँ । लल्लो बेल्डमा बाख्रा पनि पाल्न लगाउँछौँ । १,२ र ६ नम्वर वडामा यस्ता काम गर्नेछौँ । ११,१२ र १० नम्वर वडामा पनि बेमौसमी तरकारी र फलफूल उत्पादनमा जोड दिन्छौँ । र बीचको भागमा गाई पालन गर्ने योजनामा छौँ । त्यसो गर्दा धेरै युवाहरु स्वरोजगार हुनेछन् भन्ने छ ।

यहाँ रोजगारी दिन नसकिएको अवस्थामा खाडि मुलुकभन्दा कृषिसम्बन्धि तालिम पनि हुने आम्दानी पनि हुने दक्षिण कोरिया, जापान र इजरायल पठाउने पनि कोसिस हामी गर्नेछौँ । सम्भव भएसम्म यहाँ नै रोजगार बनाउने र केहीलाई विकसित मुलुकमा पठाउने हाम्रो लक्ष्य छ।
सवालः अन्त्यमा के भन्न चाहानुहुन्छ ?

जवाफः तपाईले प्राय सबै भन्न मन लागेका कुराहरु सोधिसक्नु भएको छ । यीनै कुराहरु हुन् । एकपटक फेरी मलाई विश्वास गरेर गाउँपालिकाको अभिभावकको रुपमा यहाँहरुले जिम्मेवारी दिनुभएको छ । त्यसलाई जिम्मेवार र इमान्दार भएर पुरा गर्ने विश्वास दिलाउन चाहान्छु । मेरा कुराहरु जनतासम्म पुर्याउन यहाँले जुन अवसर दिनुभयो त्यसको लागि तपाईको मिडियाप्रति पनि आभार व्यक्त गर्दछु । धन्यवाद ।