स्काउटको स्थापना दिवसमा कार्यालय उद्घाटन तथा दिक्षान्त
मकवानपुर । नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिले आफ्नो कार्यालय स्थापना गरेको छ । समितिले नेपाल स्काउटको ७१ औं स्थापना दिवसको अवसरमा कार्यालयको उद्घाटन गरेको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बालज्योती माविसँगै रहेको पुरानो जिल्ला स्काउट कार्यालय भवनमा नगरसमितिको कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयको उद्घाटन हेटौंडा उपमहानगरपालिकाको मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले संयुक्त रुपमा गरेका हुन् ।
यस्तै, आजै स्थानीय स्काउट कार्यालय पिप्लेमा नगर प्रमुख लामा, उपप्रमुख बानियाँ र हेटौंडा उपमहानगरपालिकाका प्रशाकीय अधिकृत शिव राज चौलागाईँले स्काउट दिक्षा लिएका छन् । उनीहरुलाई नेपाल स्काउट बागमती स्काउट कार्यालयका संयोजक शिवराम अर्यालले दिक्षान्त दिएका थिए भने स्काउट स्काफ राष्ट्रिय प्रशिक्षक एवम् पूर्व जिल्ला आयुक्त बेलि थापाले लगाइदिएका थिइन् ।
स्काउट हेटौंडाका समिती संयोजक दिपेन्द्र रोक्काको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश सदस्य अशोक सारु, महेन्द्र राना, ५ नम्वर वडाध्यक्ष सुशील घिमिरे, बाल ज्योति माविका प्रध्यानध्यापक (प्रअ) भरत अर्याल, शिक्षा प्रमुख गंगाधर रिमाल लगायतको उपस्थित रहेको थियो ।
यसैगरी, सो दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रध्यानध्यापकहरुसँग स्उकाउटका विषयमा छलफल तथा अभिमूखिकरण कार्यक्रम भएको थियो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर शिक्षा शाखाको समन्वयमा भएको हो । कार्यक्रममा नगरका ४० वटा विद्यालयका प्रधानाध्यापकहरु सहभागी थिए ।