हेटौंडा उपमहानगरपालिका बजेट : तामाङ संग्राहलय स्थापना गर्न ५० लाख

तु खबर संवाददाता
२०७९ असार १२,आईतवार १८:००

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले तामाङ संग्राहलय स्थापना गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएको हो ।

जनसांख्यिक बाहुल्यताका आधारमा तामाङ जातिको भेषभूषा, कला, संस्कृतिलगायतका मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्न उक्त बजेट विनियोजन गरेको उपमेयर बानियाँले बताए ।

यस्तै, उपमहानगरपालिकाले सीमान्तकृत तथा गरिब १ हजार ५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमेयर बानियाँले उपमहानगरपालिकामा खानेपानी र विद्युत पनि निःशुल्क उपलब्ध गराइने बताए ।

यस्तै, उपमहानगरपालिकले मकवानपुरगढी गाउँपालिकास्थित एतिहासिक मकवानपुरगढी दरबार परिसरमा राष्ट्र निर्माता स्वर्गीय राजा पृथ्वीनारायण शाह र तत्कालिन मकवानपुर राज्यको सेनापति कनक सिं बानियाँको प्रतिमा राख्ने भएको छ ।