मकवानपुरगढीमा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना हुने
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना हुने भएको छ । कृषि विकास बैंक प्रदेश कार्यालय चितवन र मकवानपुरगढ़ी गाँउपालिकाबीच आइतबार डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापनाको लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा कृषि विकास बैंकको तर्फबाट प्रदेश कार्यालयका निर्देशक रघुनाथ न्यौपाने र वरिष्ठ शाखा अधिकृत नुरप्रसाद गौतम साथै मकवानपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र कृषि अधिकृत चन्द्रकान्त चौधरीले हस्ताक्षर गरेका छन् ।
सवै क्षेत्रमा डिजिट्लाइजेशन सुरुवात भईरहेको सन्दर्भमा डिजिटल कृषि सूचना तथा परामर्श सेवा केन्द्र स्थापना पश्चात मकवानपुरगढी गाउँपालिकाका कृषकहरुलाई डिजिटल प्रविधि मार्फत प्राविधिक सेवा एवम् खेती प्रविधि बारे जानकारी गराइनेछ ।
यस डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना बागमती प्रदेशमै पहिलो पल्ट सुरु हुन लागेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले जानकारी दिए ।