कांग्रेस संसदीय दल र नेता बानियाँद्वारा मिर्गौला रोगी प्रजालाई सहयोग
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी कांग्रेस नेता रामकृष्ण प्रजालाई एक लाख रूपैयाँ सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर उपचार गराइरहेका पूर्व जिल्ला सदस्य प्रजाको उपचारका लागि संसदीय दल र दलका नेता बानियाँले आर्थिक सहयोग गरेका हुन् ।
उपचारमा सहजताका लागि संसदीय दलबाट ५० हजार र नेता बानियाँले गरेको ५० हजार गरी एक लाख रूपैयाँ सहयोग प्रजाको घरमा पुगेर हस्तान्तरण गरिएको छ । कांग्रेस बागमती प्रदेश सभापति एवं दलका नेता इन्द्रबहादुर बानियाँले रकम हस्तान्तरण गरेका छन् । नेता बानियाँले प्रजाको स्वास्थ्य अवस्था र थप उपचारबारे जानकारी लिंदै आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, प्रदेशसभा सदस्य पुकार महर्जन, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेललगायतको उपस्थिति रहेको थियो ।