बागमती प्रदेश प्रमुखद्वारा राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त

तु खबर संवाददाता
२०७९ असार १५,बुधबार ०९:४४
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले बुधबार एक सूचना जारी गर्दै नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भनि शुभकामना व्यक्त गरेका हुन् ।

‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्ये दिनका सन्दर्भमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले १८ वर्षअघि नेपाल सरकारले राष्ट्रिय धान दिवस घोषणा गरी मनाउँन थालेयता यस दिवसलाई महत्व दिइएको जनाए । ‘हामी विशेष महत्वका साथ यो दिवस मनाउँदै आइरहेका छौं । यो अवसरमा सम्पूर्ण देशवासीका साथै बागमती प्रदेशवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’शर्माले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

शर्माले नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति हराउनु, कतिपय लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताए । हाम्रो मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषिक्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यवसायिकतातर्फ अगाडी बढाउने सवालमा राज्यका निकायहरुको ध्यान जानु अझ आवश्यक भएको शर्माको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।