‘माओवादी केन्द्रलाई परिवर्तनको भोक मेटिएको छैन’

तु खबर संवाददाता
२०७९ असार १५,बुधबार १४:०४

मकवानपुर । ११ बर्षको उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका विजय गौतम अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी छन् । बकैया गाउँपालिका वडा नम्वर–४ स्थित महेन्द्र माविमा कक्षा ६ मा अध्ययन गर्दैगर्दा उनी तत्कालिन एकता केन्द्र मसालको विद्यार्थी संगठन, अखिल क्रान्तिकारीको सदस्यका रुपमा विद्यार्थी राजनीतिमा होमिएका थिए ।

२०६२ मा विद्यार्थीको जिल्ला अध्यक्ष, २०६३ मा केन्द्रीय सदस्य हुँदै उनी अघि बढे । २०६२/०६३ को जनआन्दोलनपश्चात माओवादीसँग एकता भएपछि बनेको अनेरास्ववियू क्रान्तिकारीमा उनको सक्रियता कायमै रह्यो । २०७३ मा संगठनको केन्द्रीय सचिव, २०७४ मा केन्द्रीय उपाध्यक्ष निर्वाचित भएका गौतम २०७८ मा भएको संगठनको २२ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षको प्रत्यासी थिए । पार्टी राजनीतिमा २० प्रतिशत युवाहरुलाई समेट्ने माओवादी केन्द्रको नीति अनुसार २०७८ मा नै गौतमसहित ६ जना युवाहरु विद्यार्थी संगठनबाट पार्टी राजनीतिमा प्रवेश गरे । उनीहरुलाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिइयो ।

पिएचडी अध्ययनरत उनी रिटायर लाइफमा नभई उर्जाशील समयमा नै राजनीतिमा सक्रिय हुनुपर्ने बताउँछन् । गुणात्मक परिवर्तनको लागि युवा, जोश जाँगर र इमान्दारिता अपरिहार्य रहेको उनको बुझाई छ । ‘मैले निष्ठाको राजनीति गरेँ । रचनात्मक ढंगले विद्यार्थी आन्दोलनहरुमा सक्रियतापूर्वक भूमिका निर्वाह गरेँ । विद्यार्थी संगठनलाई अब्बल बनाउनको लागि मेरो महत्वपूर्ण योगदान रह्यो । व्यवस्था परिवर्तनको धेरै आन्दोलनहरुमा म अग्रभागमा थिएँ । धेरै पटक गिरफ्तार पनि भएँ । मेरो इमान्दारिता र गतिविधिलाई पार्टीले नियालिरहेको थियो र केन्द्रीय सदस्यको जिम्मेवारी दियो ।’

माओवादीलाई अझै जनभावना बुझ्ने र अब्बल पार्टी बनाउनेतर्फ आफ्नो पहल हुने उनी बताउँछन् । जनअपेक्षा अनुसार माओवादीले काम गर्न नसकेको स्वीकार गर्दै आफुहरुमा परिवर्तनको भोक भने नमेटिएको गौतम बताउँछन् । मुलुकको समसामयिक राजनीतिको पेरिफेरीमा रहेर तु खबरले गौतमसँग कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

सवाल: तपाई शिक्षित एवम् युवा नेता, तुलनात्मक रुपमा माओवादी क्रमश कमजोर बन्दै गइरहेको अवस्था छ । जनताको विश्वास गुमाउँदै गएको छ । माओवादीको अस्थिर राजनीतिक शैलीका कारण देशले स्थिर सरकार पाउन सकेको छैन । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल, फेरी प्रदेश र प्रतिनिधिसभामा बाम एकता, २०७९ मा आइपुग्दा पुनः कांग्रेससहितका ५ दलीय गठबन्धन, सिद्धान्त र एजेण्डा छाडेर माओवादी सत्ता र शक्तिमा मात्रै रहन चाहेको हो ?

जवाफ: धन्यवाद, माओवादीलाई अहिले पनि परिवर्तनको भोक मेटिएको छैन । त्यसकारण हामी अहिलेकै अवस्था, अहिलेकै थीतिप्रति सन्तुष्ट छैनौँ । हामी यो अवस्थाबाट देशलाई माथि उठाउन चाहान्छौँ । त्यसकारण हाम्रो आजको कार्यदीशा जनताबाट अनुमोदिन हुने र सरकारबाट परिवर्तनका लागि हस्तक्षेप गर्ने हो ।
२०७४ को सहकार्यको कुरा गर्नुहुन्छ भने पनि माओवादीले विभिन्न दलहरुसँग सहकार्य गरेको अवस्था छ । त्यहाँ गठबन्धनको मोडलमा भएको छैन । स्थानीय आवश्यकताको आधारमा भएको छ । कुनै एक जिल्लामा भयो होला, त्यो अलग कुरा हो । त्यसपछि हामीले के बुझ्यौँ भने हिजो कम्युनिष्ट मिलेर व्यवस्था बदल्यौँ । अब जनताको अवस्था बदलौँ भन्ने नारा लिएर चुनावी घोषणापत्रसहित जनतामा आयौँ । त्यसको लागि हामीले खड्ग ओलीलाई टुप्पोमा राख्यो तर, उहाँले प्राप्त जनमतको दुरुपयोग गर्नुभयो ।

उहाँले दलाल पुँजीपतीको घेरामा बसेर मनोमानी गर्ने, घोषणापत्र विपरित हिड्ने काम उहाँबाट हुन थालेपछि हामीले त्यसको प्रतिवाद गरेका हौँ । त्यो प्रतिवादको उत्कर्षमा विभिन्न डिजाइन भए । सोही डिजाइन अनुसार नेकपा फुट्ने अवस्थामा पुग्यो । नेकपामा रहेका दलहरुलाई पुरानै पार्टीमा फर्काउने गरी डिजाइन भयो । खड्ग ओलीनै त्यसको खलनायकको रुपमा रहनुभयो ।

ओलीको असंवैधानिक रुपमा संविधान मास्न खोज्ने, संसद नै भंग गर्ने जुन प्रवृत्ति देखियो । त्यो प्रवृत्तिविरुद्ध हामी सडकमा आउने अवस्था भयो । कम्रेड प्रचण्ड, कम्रेड माधव नेपाल लगायतका नेताहरु सडकमा आएर प्रतिवाद गर्नुपर्ने अवस्था आयो ।

नेपाली कांग्रेस पनि ओली प्रवृत्तिविरुद्ध हामीलाई सघाउन तयार भयो । सबै तयार भएपछि यो एउटा गठबन्धन निर्माण हुने दीशातर्फ गयो । त्यसो हुँदा संविधान व्यवस्था जोगाउन तयार भएको गठबन्धनले अब खड्ग ओलीहरुको त्यो प्रवृत्तिलाई स्थानीय निर्वाचनबाट पनि परास्त गर्नुपर्छ भन्ने साझा एजेण्डा अनुसार हामी अघि बढेका हौँ । त्यसकारण हामीले अधिकाँश स्थानीय तहमा गठबन्धन गरेर चुनावमा गयौँ । जहाँ जहाँ गठबन्धन भएका छन्, त्यहाँ गठबन्धनमैत्री नै नतिजा प्राप्त भयो । प्रतिगामी शक्तिहरुलाई जवाफ दिन चाहेका थियौँ । जवाफ दियौँ ।

संविधान जोगाउनको लागि भएको गठबन्धन हामीले अगाडिसम्म लैजान खोजेका हौँ । यहाँ समाजवाद वा मास्कवादको कुरा छैन । अहिलेको अवस्थामा संविधान र व्यवस्था जोगाउने कुरा प्रधान बन्न पुग्यो ।  यो गठबन्धनलाई आगामी निर्वाचनसम्म लगेर प्रतिगामी शक्तिहरुलाई किन जवाफ नदिने भन्ने निश्कर्षअनुसार हामी अघि बढिरहेका छौँ । त्यसकारण यो अस्थिर भन्ने कुरा त गतिको नियम नै त्यो बस्तु त्यहाँ रहिरहँदैन भन्ने नै हो । हामी यहि चक्रमा फस्न चाहेका छैनौँ भन्ने सन्देश पनि हो यो । हामी देश र जनताको अवस्था बदल्न चाहान्छौँ । सोही क्रममा यसो गर्दा हुन्छ कि त्यसो गर्दा हुन्छ कि भन्ने हिसाबले माओवादीले पहल गरिनैरहेको छ । माओवादीकै कारण संविधान र व्यवस्था जोखिएको छ । खड्ग ओलीले ट्र्याक बाहिर लगेको मुलुक सहीमार्गमा आएको छ ।

तपाईले अस्थिर भन्नुभयो, हामी भोलिको सम्दर्भमा निर्वाचनमा पनि सकेसम्म गठबन्धनलाई कायमै राखेर अघि बढ्ने सन्दर्भमा सचेत छौँ । तर, गठबन्धनको नाममा जे पनि स्वीकार्न भने माओवादी तयार छैन । परिवर्तनको खोखिमा हिँड्दा अस्थिर देखिएको हो । हाम्रो जनमत गुमेको छैन बरु बढ्दै गएको छ ।

सवालः मकवानपुरकै सन्दर्भमा भन्ने हो भने २०६४ कोे निर्वाचनमा चारै क्षेत्रमा जितेको माओवादी त्यसपछिका निर्वाचनहरुमा खुम्चिँदै गएको अवस्था छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर जाँदासमेत उल्लेख्य पालिकाहरुको नेतृत्व लिन माओवादी सफल भएको छैन । माओवादी दिनप्रतिदिन कमजोर बन्दै गएको छ । कमजोरी कहाँ भयो ?

जवाफ: मकवानपुरमा २०६४ बाट २०७० मा आउँदा हामी जनमतका हिसाबले घटेका हौँ । हामीले त्यसलाई स्वीकार गरेकै छौँ । त्यसपछिको स्थानीय निर्वाचनमा हामी थिग्रिएका हौँ । अब फेरी कमब्याक हुने प्रक्रियामा हामी छौँ । अहिले माओवादीप्रति जनताको भरोषा बढ्दै गएको हामीले पाएका छौँ । यसलाई कायमै राखेर अघि बढिरह्यौँ भने २०६४ कै हाराहारीमा मत ल्याउने अवस्था माओवादीको छ ।

माओवादी वडास्तरमा पनि एकल लडेर धेरै ठाउँमा जितेको छ । त्यसकारण हामी कमजोर भन्ने होइन । निर्वाचनमा कहिलेकाँही नतिजा फेरबदल हुनसक्छ । तर, हारेका ठाउँहरुमा पनि सम्मानजनक मत पाएका छौँ । प्राविधिक कारणले जनताको चाहाना अनुसार हामीले धेरै ठाउँमा जित हाँसिल गर्न सकेनौँ होला तर, जनताले आगामी निर्वाचनमा पुर्नविचार गर्नेछन् । हामी ढुक्क छौँ ।

सवालः अब करिब ४/५ महिनापछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ , मकवानपुरमा गठबन्धन कसरी अघि बढ्छ ? यहाँको भूमिका कस्तो रहन्छ ?

जवाफः मकवानपुरको सन्दर्भमा २०६४ मा माओवादीको अवस्था जुन थियो । हामी त्यसतर्फ जाँदैछौँ । माओवादीले सबै क्षेत्र भन्न खोजेको होइन तर, हामी त्यो दीशामा गइरहेको छौँ । यद्यपी सहरको क्षेत्रमा केही समिक्षाहरु त छन् नै । मुलभुत रुपमा भन्ने हो भने आज माओवादी एकल लडेर पनि वडाहरु बढाएको छ ।

सवालः प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अहिलेकै गठबन्धन कायमै रहन्छ कि माओवादी बाम एकतातर्फ अघि बढ्छ, स्पष्ट भनिदिनुस् न ?

जवाफः हामी अहिले ५ दलीय गठबन्धनको मर्म अनुसार अघि बढिरहेका छौँ । हामी यसैलाई निरन्तरता दिन चाहान्छौँ । यसैलाई हामीले सफलतातर्फ लैजान चाहेका छौँ । तर, त्यो सन्दर्भमा माओवादीमात्रै इमान्दार भएर हुँदैन । अन्य ४ दल पनि इमान्दार हुनुपर्दछ । सबैले एकताभावसहित फरक दलको अस्तित्व स्वीकारेर अघि बढ्नुपर्ने हुन्छ । त्यसो गर्दा यहि गठबन्धन अघि बढ्छ । तर, गठबन्धनभित्रै कैंची हान्ने काम भयो भने त्यसले स्वभाविक रुपमा एउटा नयाँ कोषमा लैजाने अवस्था हुनसक्छ ।

आजको दिनमा वर्तमान गठबन्धन अघि बढ्ने देखिन्छ । अब नामले मात्रै बाम भएर भएन कामले बाम हुनुपर्यो भन्नेमा हामी छौँ । त्यसकारण अहिलेकै अवस्थामा बाम गठबन्धन हुने अवस्था म देख्दिन । कामले बाम नभएको कारण नेकपा फुटेको हो । हामी गठबन्धन कायमै राख्न चाहान्छौँ ।

मकवानपुरको सन्दर्भमा माओवादी केन्द्रले गठबन्धन नै नहुँदा पनि लड्न सक्ने गरी तयारी गरिरहेको छ । तर, भोलि अरु दलहरुको पनि आवश्यकताको आधारमा गठबन्धन हुने अवस्था भयो भने राष्ट्रिय आवश्यकता र स्थानीय आवश्यकता भयो भने हामी छलफल गरेर अघि बढ्छौँ ।

सवालः अहिलेकै गठबन्धन कायम रहेमा आसन्न निर्वाचनमा तपाईहरुको दावेदारी कहाँ–कहाँ रहन्छ ?

जवाफः होइन, अब छलफल नै नभएको अवस्थामा अहिले नै दावेदारी त कसरी प्रस्तुत गर्नु । तर, माओवादीले आधा हिस्सा पाउनुपर्छ भन्ने भन्ने लाग्छ । मकवानपुरको सन्दर्भमा पनि हामी आधा हिस्साको दावेदार पक्कै हो । यो विषय भोलिको दिनमा छलफल हुने कुरा हो । गठबन्धन नै नगर्दा पनि जित्ने आधार तयार भएको अवस्थामा माओवादीले कम्तिमा आधा हिस्सा माग गर्नु स्वभाविक पनि हुन आउँछ ।

सवाल: संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि माओवादीले पटक– पटक सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । सर्वहारा जनताको एजेण्डा बोकेर स्थापित भएको पार्टी एजेण्डाबाट स्खलित भइरएको आरोप यहाँहरुमाथि छ । पार्टीको गतिविधिप्रति तपाई सन्तुष्ट हुनुहुन्छ ? हुनुहुन्न भने अब कसरी सुधार गर्न सकिन्छ ?

जवाफः अब, जनताले हामीमाथि गरेको आशा अपेक्षा अनुसार हामीले काम गर्न पक्कै नसकेका हौँ । हामीले यसलाई आठौँ महाधिवेशनको दस्तावेजबाटै समीक्षा गरेका छौँ । तर, त्यहाँबाट यहाँसम्म आइपुग्दा माओवादीले केही पनि गरेन त त्यो पनि होइन । हामीले पक्कै केही गरेका छौँ । माओवादीले संविधान ल्यायो । लोडसेडिङ्को अन्त्य गर्ने कुरा, गरिब जनताको, किसानको ऋण मिनाह गर्ने कुरा, समानता, स्थापित गराएको छ । विकास पूर्वाधारको ठूल्ठूला योजना निर्माण गर्ने विषयमा माओवादी सँगै छ ।

हामीले गरेको पर्याप्त भने छैन । हामीले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई पनि राखेर अभिमुखिकरण अघि बढाइसकेका छौँ । स्थानीय सरकारलाई कता लैजाने प्रदेश सरकारलाई कता लैजाने भन्ने मोटिभले काम गर्न खोजिरहेका छौँ । स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा महसुस हुनेगरी परिवर्तन गर्न खोजिरहेका छौँ । गाँस बास र कपासको जिम्मा राज्यले नलिएसम्म समाजवादको आधार तयार हुँदैन । सोही अनुसार हामी अघि बढेका छौँ । मेरो पहल पनि पार्टीका कार्यक्रम त्यो दीशामा लैजानको लागि हुनेछ ।

सवाल: तपाइको गृह प्रदेश, बागमती सरकार परिवर्तनको चर्चा छ । माओवादी केन्द्र सरकार परिवर्तन गर्ने विषयमा सकारात्मक छ वा वर्तमान सरकारलाई यतावत राख्न चाहान्छ ?

जवाफः सरकार परिवर्तनको विषय बागमती प्रदेशको मात्रै भन्ने हुँदैन । यो राष्ट्रिय विषय हो । बागमती प्रदेशको मात्रै अलग छलफल भएर परिवर्तन गर्ने भन्ने हुँदैन । सामान्यतया तीन वटा प्रमुख पार्टीहरुको ६ वटा र एउटा जसपाको मुख्यमन्त्री हुनुहुन्छ । शक्ति सन्तुलनको आधारमा प्रदेश सरकार गठन भएको छ । यही शक्ति सन्तुलनलाई ध्यानमा राखेर हामी अघि बढ्छौँ । कसैको महत्वकाँक्षाले मात्रै प्रदेश सरकार फेरिने भन्ने हुँदैन । फेरिने अवस्था भयो भने बागमती प्रदेश सरकारको नेतृत्वमा स्वभाविक रुपमा माओवादीको दावेदारी हुन्छ ।

सत्तारुढ दलमध्ये बागमतीमा सिट संख्याको आधारमा माओवादी पहिलो दलको रुपमा रहेको छ । निर्वाचन नजिकै आइसकेकोले सरकार फेरबदल भन्दा पनि कार्यसम्पादन राम्रो बनाउनेतर्फ सबै लाग्यौँ भने त्यसले राम्रो गर्छ । आगामी निर्वाचनलाई पनि राम्रो सन्देश जान्छ भन्ने लाग्छ ।

सवालः अन्त्यमा के भन्न चाहानुहुन्छ ?

जवाफः मेरो अनुभव र क्षमताले भ्याएसम्म जनहितका मुद्धामा पार्टीलाई अझै जिम्मेवार भएर अघि बढ्न पहल गर्नेछु । फेरी पनि माओवादीलाई परिवर्तनको भोक नमेटिएको दोहोर्याउँछु । केही गर्न चाहेका छौँ । त्यसका लागि सबै जनताको साथ हामीलाई चाहिएको छ । मेरा भावनाहरु समेटेर जनतासमक्ष पुयाउने जुन अवसर तपाईको मिडियाले प्रदान गरेको छ । त्यसका लागि म धेरै धेरै आभारी छु ।