महालक्ष्मी साहित्य पुरस्कार मुकारुङ्ग र केशवलाल स्मृति पत्रकारिता पुरस्कार दाहाललाई
मकवानपुर । मात्रृभूमि साहित्य समाज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुस्स्कारबाट प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्गलाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कार ५१ हजार रुपैयाँ राशीसहित मुकारुङ्गलाई प्रदान गरिने भएको हो ।
मातृभूमि मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडले सोमबार संयुक्त रुपमा हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । सम्मेलनमा मातृभूमिका अध्यक्ष माधव पोख्रेलले आगामी असार २४ गते हेटौंडामा एक कार्यक्रमको आयोजना गरी साहित्यकार मुकारुङ्गलाई ५१ हजार रुपैयाँ पुरस्कार राशी गर्ने बताएका हुन् ।
यस्तै, मातृभुमि साहित्य समाज मकवानपुरको संयोजन व्यवस्थापनमा ईश्वर मैनालीद्वारा बुबाको नाममा स्थापना गरिएको केशबलाल स्मृति मात्रृभुमि पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार राममणि दाहाललाई प्रदान गरिने भएको हो । पत्रकार दाहाललाई ७ हजार ५ सय रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा महालक्ष्मी विकाश बैंक हेटौंडा शाखा प्रमुख शम्भु प्रसाद पराजुली, मातृभूमि मकवानपुरकाका संस्थापक अध्यक्ष हयग्रिब आचार्य, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पुर्ब अध्यक्ष भानुभक्त आचार्यलगायतको सहभागिता रहेको थियो ।