मातृभूमि समाज मकवानपुरले ६ स्रष्टालाई पुरस्कार प्रदान गर्ने
मकवानपुर । मात्रृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधाका ६ स्रष्टालाई पुरस्कार प्रदान गर्ने भएको छ । भाषा, साहित्य कला र संस्कृतिको संरक्षण एवम् संर्वद्धनको हेतुले वि.स २०५६ सालदेखी स्थापना गरिएको उक्त संस्थाले आगामी असार २५ गते एक कार्यक्रमको आयोजना गरी विभिन्न विधाका स्रष्टालाई पुरस्कार प्रदान गर्ने भएको हो ।
मातृभूमि समाजले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी हरेक वर्ष प्रदान गर्दै आएको वर्षाकालीन परकालीन पुरस्कारहरु प्रदान गरिनेबारे जानकारी गराएको हो । सम्मेलनमा समाजका अध्यक्ष माधव पोखरेलले हातेमालो मातृभूमि युवा सृजनशील २०७८ बाट गायिका सुनिता बुर्लाकोटि लुईटेल (हेटौंडा) र झलक बहादुर बानियाँ जीवन संघर्ष २०७८ बाट कमला आधारभूत विद्यालय हेटौंडा–१८, हर्नामाडी, कक्षा ७ की विद्यार्थी सृजना लोलाई सम्मान गरिने जानकारी दिए । लुईटेललाई १० हजार रुपैयाँ र लोलाई ६ हजार ५ सय रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरिने भएको हो ।
यसैगरी, श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार, २०७८ समाजसेवी सिद्धिलाल श्रेष्ठ (हेटौंडा), इश्वरी स्मृति मातृभूमि पुरस्कार २०७८ सुषमा केसी श्रेष्ठ (काठमाडौं), शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान २०७८ गोकुल लाल श्रेष्ठ (मकवानपुर) र निरा गोर्खाली (मकवानपुर) लाई प्रदान गरिने भएको छ । उनीहरुलाई जनही १५ हजार रुपैयाँ पुरस्कार राशी प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।