हेटौंडा उपमहानगरपालिकाद्वारा आगामी आवको नीति तथा कार्यक्रम र वार्षिक वजेट पारित

तु खबर संवाददाता
२०७९ असार २०,सोमबार २०:१६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको सोमबार सम्पन्न एघारौँ अधिवेशनको तेस्रो बैठकले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि पेश भएको आर्थिक विधेयक, विनियोजन विधेयक र नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ ।

बैठकले आगामी आवको लागि कूल २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको हो । नगरसभामा राजेश बानियाँले पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख, स्वास्थ्यतर्फ ९ करोड ५३ लाख, युवा तथा खेलकुदतर्फ ३ करोड ७३ लाख, महिला तथा बालबालिकाका लागि ३ करोड ५८ लाख ,वातावरण तथा विपद् व्यवस्थापनतर्फ १२ करोड ६ लाख, संस्थागत विकास र सेवा प्रवाहतर्फ ७ करोड ३३ लाख, विविध शीर्षकमा ९९ लाख रुपैयाँ विनियोजनको लागि प्रस्ताव गरेका थिए ।

उपमहानगरपालिकाले स्रोतहरुको पहिचानसमेत गरेको छ । आन्तरिक स्रोतबाट ९४ करोड ३६, राजस्व बाँडफाँडबाट ५८ करोड ९३ लाख, प्रदेश विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकार अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख, र अन्यआय तथा संघसंस्थातर्फ १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको प्रवक्ता सविन न्यौपानेले जानकारी दिएका छन् । मेयर मीना लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा उपमेयर राजेश बानियाँ, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।