नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई निलम्बन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको निलम्बन तत्कालका लागि जोगिएको छ । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन नगर्न आज अन्तरिम आदेश दिएको हो ।
नेपाल वायुसेवा निगम ऐन, २०१९ मा निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भन्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो ।
सरकारले ११ कात्तिक २०७९ मा अधिकारीलाई चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । उनलाई निलम्बन गरेको पत्रमा ऐनको दफा २० लाई उदृत गर्दै निलम्बन गरिएको थियो । तर उक्त दफामा सञ्चालकलाई मात्रै निलम्बन गर्ने व्यवस्था रहेको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षलाई निलम्बन गर्न नमिल्ने जनाएको हो ।
उनीमाथि छानबिन गर्नुपर्ने भए निलम्बन नगरी पनि छानबिन गर्न सकिने भन्दै सर्वोच्चले निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले दिपराज ज्वारचनलाई महाप्रवन्धकको कामकाज गर्नेगरी अस्थायी नियुक्ति दिने सरकारको निर्णय र पत्राचार पनि कार्यान्वयन नगराउनु भनी अन्तरिम आदेश दिएको हो ।