हेटौंडामा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सम्बन्धी सार्वजनिक सुनुवाइ
मकवानपुर । सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिकाबारे हेटौंडामा प्रदेशस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका र राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको आयोजनामा कार्यक्रम भएको हो ।
विभागले विभिन्न प्रदेश र जिल्लाको कार्यक्रमपछी आज हेटौंडामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सम्वन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा हेटौंडाका विभिन्न वडाका वडाअध्यक्षहरु, वडा सचिवहरु नागरिक समाजका प्रतिनिधीहरु र संचारकर्मीहरुले कानून र व्यवहारमा परेका अप्ठ्याराहरुका विषयमा जिज्ञासा राखेका थिए ।
सो अवसरमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले नागरिकलाई पर्ने हरेक काममा सहजिकरण गरेर काम गर्न आग्रह गरेका छन् । उनले सामाजिक सुरक्षा लिन्न भन्नेहरुलाई सरकारले सम्मान गर्नुपर्ने बेला आएको बताए । पहिले जनप्रतिनिधीमा चुनाब लड्दा घरमै भत्ता ल्याइदिउँला भनेर प्रतिवद्धता गरेजस्तो अहिले व्यवहारमा कार्यान्वयन गर्न समस्या भएको घलानले बताए । भत्ता वितरण कार्यलाई अझै पारदर्शी बनाउनुपनेमा उनले जोड दिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले यस्ता कार्यक्रमहरु धेरै प्रभावकारी हुने बताइन् । उनले भनिन् ‘स्थानीय तहमा हामीले यो कार्यक्रम गरेका छौं, अहिले पनि यो कार्यक्रम गर्दा निकै प्रभावकारी पनि भयो । फेरी पनि यस्ता कार्यक्रममा जोड दिऔं ।’ नियम र कानूनलाई हेरेर मात्र सेवा दिनका लागि आग्रह गरिन् । नागरिकको सेवालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराइले चालु आर्थिक वर्षमा सरकारले ३५ लाख नागरिकलाई वैदेशिक ऋणसमेत लिएर एक खर्ब रुपैयाँ भत्तामा मात्र वितरण गरेको जानकारी गराए । सामाजिक सुरक्षा भत्ता नलिनेलाई स्थानीय र संघीय सरकारले सम्मान गर्ने उनले बताए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले नागरिकता र घटना दर्ताका विषयमा परेका समस्याका विषयमा आपसी छलफल गरेर टुङ्गो लगाउन सकिने बताए । कार्यक्रममा उपमहागरपालिकाका उपमेयर राजेश बानियाँले नागरिकताका विषयमा राम्रोसंग बुझाइको कमी हुँदा आफु वडा अध्यक्ष भएको समयमा सिफारिस गरेकै कारण आफुलाई थुन्नका लागि सिडिओले प्रहरी पठाएको स्मरण गरे ।