हेटौंडा उपमहानगरपालिकाः कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले यही शैक्षिक सत्रदेखि नगरभित्रका विद्यालयहरुमा १ देखि ३ कक्षासम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कक्षा १ देखि ३ सम्म ‘हाम्रो हेटौंडा’ नामको स्थानीय पाठ्यक्रम लागू हुने र हाल पुस्तक छपाइ अन्तिम चरणमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।
स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्षहरु संरक्षण र प्रवद्र्धनको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको मेयर मीना कुमारी लामाले जानकारी दिएकी छिन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने उनको भनाई छ ।
५० निजी र ७६ सामुदायिक गरी १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए ।
१६० पूर्णाक रहेको पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म हप्तामा ५ घण्टा अध्यापन गर्नुपर्ने व्यवस्था रहेको छ । जसमा ६० प्रतिशत सैद्धान्तिक र ४० प्रतिशत अंक प्रयोगात्मक रहेको छ ।