नारायणी कलेजको प्रमुखमा बास्तोला नियुक्त
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० भुटनदेवी रोडमा अवस्थित नारायणी कलेज तथा तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालयको क्याम्पस प्रमुख तथा प्रिन्सिपलमा किशन बास्तोला नियुक्त भएका छन् । शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका बास्तोला गुरु पुर्णीमाका दिन एक औपचारिक कार्यक्रमकाबीच नियुक्त भएका छन् ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा प्याब्सन नेपालका उपाध्यक्ष आशिष श्रेष्ठले बास्तोलालाई क्याम्पस प्रमुख तथा प्रिन्सिपल घोषणा गरेका हुन् । शिक्षा क्षेत्रमा भएका कमी कमजोरीहरुलाई चिर्दै मकवानपुरमा नयाँ ढँगबाट शिक्षाको सुरुवात गर्नको लागी शैक्षिक क्षेत्रमा भएका देशभरीबाट विज्ञहरुलाई प्रवेश गराई कलेज तथा विद्यालय तहमा शैक्षिक क्रियाकलाप वैज्ञानिक तथा व्यवहारिक, प्रयोगात्मक शिकाईका साथ अगाडि बढ्ने बास्तोलाले बताए ।
कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक दिपक काफ्ले र शैक्षणिक निर्देशक मनोजकुमार यादवले समग्र जिल्लाकै शैक्षिक क्षेत्रको विकासका लागि अहोरात्र खटिरहेको यस समूहलाई अझ शसक्त ढँगबाट अगाडि बढाउन अभिभावक, विधार्थी, शिक्षक, नगरवासी, जिल्लावासी, सरोकारवाला निकायहरु र शिक्षा प्रेमीहरुको महत्वपूर्ण भूमिका आवश्यक रहेको बताए । सोही अवसरमा अनोज कुमार यादवलाई विद्यालय तथा क्याम्पसको कार्यक्रम प्रमुखको रुपमा नियुक्त गरिएको छ ।
सो विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम संचालन गरी विद्यार्थीहरुको प्रयोगात्मक एवम् व्यवहारिक सिकाइमा जोड दिँदै आएको छ । विद्यालयले विभिन्न संघसंस्थासँगको सहकार्यमा विद्यार्थीहरुलाई विज्ञान एवम् प्रविधिसँग सम्बन्धित तालिम प्रदान गर्दै आएको छ ।