मकवानपुरको महक–७ : मसानको ‘मानचित्रमा देश’ लाई नियाल्दा

सञ्जय साह मित्र
२०७९ असार ३२,शनिबार १४:५०

मकवानपुर । मकवानपुरे प्रगतिशील साहित्यका सशक्त हस्ताक्षर मसान उपासक असहज शैलीमा सहज भाव प्रस्तुत गर्ने नवयुवा कवि हुन् । कवि मसानका कविता सशक्त कि वाचन कला भन्ने विषयमा वादविवाद गराउन सकिन्छ । लेखन र वाचन दुबैमा उत्तिकै प्रभावशाली काव्य रचना गर्ने अत्यन्त कम सर्जकमा मसानको नाम आउँछ ।

“कलासँगै विचार पनि सिर्जना आउनुपर्छ । त्यो पनि अझ कवितामै आउनुपर्छ भन्ने मान्यता म अग्लै, सग्लै राख्छु । योसँगै अझ जीवन्त कवितामा शैली, बिम्ब, बुनौट र अभिव्यक्ति नै हो” भन्ने मसानका कविताहरु अनुप्रासका पछाडि कुदेका हुँदैनन् । बिम्बको बिचमा कविताको भाव हराएको हुँदैन, अलङ्कारको भारीले कविताको आन्तरिक सौन्दर्य छोपिएको हुँदैन र प्रतीकको गहनताले कविता दुर्बोध बन्न पुगेको हुँदैन । यति हुँदाहुँदै पनि मसानका कवितामा बिम्ब, अलङ्कार र प्रतीकको सहज र स्वाभाविक प्रयोग भएको हुन्छ । प्रगतिशील कविताहरु बोधगम्य हुनुपर्छ भन्ने मान्यतालाई अङ्गीकार गर्ने मसानका कविताहरु कलाहीन भने हुँदैनन् ।

काव्य साधनामा एक युग बिताएका मसानको ‘मानचित्रमा देश’ नामक कविता सङ्ग्रहलाई ऐरावती प्रकाशन काठमाडौंले २०७९ बैशाखमा प्रकाशनमा ल्याएको छ । कवि मसानका कविताहरु सयौँको सङ्ख्यामा विभिन्न पत्रपत्रिका, अनलाइन तथा अन्य माध्यममा प्रकाशित प्रसारित भए पनि ‘मानचित्रमा देश’ उनको पहिलो कविता सङ्ग्रह हो । यस कृतिमा करिब चार दर्जन कविताहरु रहेका छन् । ‘सोच’ पहिलो कविता हो । विपन्नले काम गर्ने थलो पाउनुपर्ने अपेक्षा यसका रहेको छ ।

साथै कविले देशको मुहार फेर्ने अभिलाषा यसमा प्रकट गरेका छन् । ‘सपनाको पुनर्जागरण’ आञ्चलिक परिवेशमा लेखिएको कविता हो । स्थानीय सुगन्धलाई सामान्यीकरण गरिएको यस कविताले वैश्विक मूल्य राखेको छ मकवानपुरको । प्रतिकात्मक र यथार्थवादी कविता ‘प्रेमको विपक्षमा’ ले आजीविकाको क्रममा विपन्नलाई आफन्तसित विछोड गराउँदा मनमा उब्जने विद्रोही भावलाई पस्केको छ । यथार्थको धरातलमा उभिएर ‘रहर’ ले आशावादी गीत गाएको छ । देशको उज्यालो भविष्यको सपना बुनिएको छ यसमा । यो देश सीमान्त नागरिकको पनि भएको याथार्थिक तर्क दिन्छ ‘विरुद्धमा विरुद्ध’ ले । देशभक्तिको सुन्दर भावले ओतप्रोत हो यो कविता । विपन्नको व्यथा र देशभक्तिको सुन्दर संयोजन भएको प्रतीकार्थक कविता ‘फरक आकाश’ बाट प्रस्तुत छ यो अंश :

“ब्युँझिनुअघि समय
समयले आत्महत्या गर्ला र ?
फरक आकाशमा कसरी उभिनु ?
पर्ख फूलमाया !
शोक धुनमा देश खोजिरहेको छु ।” (पृ. १९)

मनमा गएको ‘पहिरो’ ले आफ्नो परिचय दिएर घोषणा गर्दछ – प्रेम पनि एउटा पहिरो रहेछ । यस दर्शनलाई कविताले प्रष्ट पारेको पनि छ । देशका नागरिकका लागि अमनचयन र सुख–शान्ति दिने कामना गरेको छ ‘नयाँ संविधान’ ले । माला जपेर मात्र हुने जस्तो नभई ‘देशभक्ति’ गरिबको गाँस, बास र कपाससित पनि जोडिनुपर्छ । ‘जेब्राक्रसमा एक छिन’ उभिँदा मनमा उब्जेको भावलाई आत्मपरक शैलीमा अभिव्यक्त यस कविताले समयको सानो थोपाको पनि सार्थक उपयोग गर्न सिकाएको छ । सहरमा मन नहुनेहरु हुने तथा सहरमा मान्छे आफ्नो लक्ष्यसहित हराउने यथार्थले ‘जानुअघि सहरतिर’ धेरै कुरा विचार गर्नुपर्ने बताएको छ । ‘देशको नाममा’ कविताले बाँच्नका लागि परदेश जानुपर्ने र घरपरिवारको पीडा कसैले नबुझने तर, देशभक्तिको मृगतृष्णा रहिरहने भावलाई खुलाएको छ । मुस्लिम समुदायकी युवती ‘काजोल खातुन’ लाई अगाडि सारेर लेखिएको कविताले देशकै सीमान्तकृत नागरिकको देश बन्नुपर्ने भाव बोकेको छ । देशभक्तिमा चुर्लुम्म डुबाउने कविता हो – ‘आमा अर्थात् देश–देश अर्थात् आमा’ । यथार्थ र आक्रोशले भरिएको ‘आग्रह’ कविताले पाठकको हृदयलाई छुन्छ –

“पसिनाले छालाको रङ हेर्दैन
आऊ अहिलेबाटै नयाँ जिन्दगी बाँचौँ
पेसा छाडेर हामी कदापि बाँच्न सक्दैनौँ ।” (पृ.३६)

‘असमयमै अस्ताएको घाम’ सम्भवतः कसैको सम्झनामा लेखिएको भावुक कविता हो । ‘समय, सपना र जीवन’ कविताले जीवनलाई पनि दुर्घटना मान्ने मानेको छ । यसमा जिजीविषाका लागि गरिने सङ्घर्षको अन्तर्य चित्रित छ । ‘सपना’ असल सपना देख्न पनि मनाही रहेको प्रश्नभाव बोकेको यो कविताले सम्वेदनशील बनाउँछ । कुनै किराँत सुन्दरीलाई सम्बोधन गर्दै लेखिएको ‘यात्री सम्झेर’ कवितामा पनि पर्याप्त भावुकता छ । ‘भगवान्प्रति’ एउटा विद्रोही कविता हो । बुबालाई सम्मान गर्दै श्रम र देशलाई त्रिकोणात्मक संयोजन गरी लेखिएको ‘बा’ सुन्दर कविता हो । प्रेमको परिभाषा खोज्दाखोज्दै हराएका कविताहरु ‘प्रेम १, २’ छन् भने ‘प्रेयसीप्रति १, २, ३ र ४’ एकालाप बन्न पुगेका छन् । यी ६ वटै कवितालाई एउटै बनाएको भए अझ राम्रो हुने थियो । कोरोना कालको उत्कर्षमा भएको निषेधाज्ञालाई स्मृति गर्दै पीडानूतिको वर्णन बनेको छ ‘विज्ञता’ । ‘स्वाभिमानको पहाड’ ले स्वाभिमान सबैको हुने भए पनि यो जीवनको मूल्यभन्दा कताकति कम हुने तर्क यसरी दिएको छ :

“साँच्चै यतिखेर
स्वाभिमानको पहाड अग्लाउनुभन्दा
शान्ति, अमनचयन सँगालेर बाँच्नु
कति गुना राम्रो होला
म यही असल प्रश्नको खोजीमा छु ।” (पृ.५६)

एक वृद्ध आमाको बिलौना र देशसित गुनासाहरू ‘परदेशी छोरा सम्झेर’ मा मार्मिक शैलीमा प्रस्तुत गरिएका छन् । देशप्रति समर्पित हुई कविता हुन् – ‘देशप्रति’ । ‘दुःखको कोलाज’ ले जे जस्तो अवस्थामा पनि देशलाई बचाउन र बनाउनतिर लाग्नुपर्ने सन्देश दिएको छ । तिहारप्रतिका केही असन्तुष्टिहरु पोखिएको कविता हो – ‘तिहार एक नियति’ । यस कविताको आरम्भ निकै सशक्त छ । ‘प्रश्न जिन्दगीको’ र ‘दसैँ’ साधारण कविता हुन् तर, समयको सूक्ष्म विश्लेषण गरिएको ‘परिवर्तन’ दार्शनिक भावले ओतप्रोत छ । विपन्नको असीम पीडाको अभिव्यक्ति दिने कविता हो – ‘क्वारेन्टाइन कविता’ । शिक्षक र शिक्षा प्रणालीप्रति असन्तोष व्यक्तिएको कविता ‘नयाँ अध्याय’ ले शिक्षामा नवीनता खोजेको छ । कवितामा असन्तोषको एक बान्की यस्तो छ :

“परशुराम सर भन्नुहुन्थ्यो –
एकभन्दा दुई ठूलो
जुवाघरमा
त्यही एकसँग मेरो दुई हारेपछि
सर्वसम्मत सर्वहारा भएको छु ।” (पृ. ६८)

एक वर्ष बूढो भएको अनुभूति ‘जन्म दिन’ ले गराउने रहेछ । ‘कविहरू’ चाहना र यथार्थसित सार्थक द्वन्द्व गर्दछन् । सरकारप्रति असन्तुष्टि व्यक्त गरिएको ‘हराएको देश’ क्रान्तिकारी कविता हो । बाध्यता र विवशताले गर्दा कतिपय गर्नुपर्नै कामहरु समयमा हुन नसक्ने यथार्थको अभिव्यक्ति ‘घाम डुबेपछि’ मा भएको छ । अभाव र पीडाको काव्यानुवाद हो – ‘अनुवाद’ तथा सन्तुष्टिको अतृप्त खोजी गरिएको सिर्जना हो – ‘घामको बाछिटा’ । मानव सभ्य र सुसंस्कृत हुनुपर्ने आकांक्षाको प्रतिबिम्बन हो – ‘म, मृत्यु र समय’ कविता । कविले यसमा यसरी आकांक्षाको बिम्ब प्रस्तुत गर्दछन् :

“हो
सपनाहरू निर्बाध देखिऊन् र पूरा होऊन्
भागोस्, मान्छेबाट मान्छेसँगका डरहरू
समय निर्बाध भोगिना पाउनुपर्छ
अटाउनुपर्छ हरेक मान्छेमा
मान्छे मरणशील प्राणी हो
र ऊ एउटा मिठो सपनालाई प्रेम गर्छ
र निरन्तर जिइरहन्छ ।” (पृ.७९)

‘मानचित्रमा देश’ शीर्षकअनुसारको विषयवस्तु समेटिएको काव्यकृति हो । यस कृतिले समग्रमा देशभक्तिको सन्देश दिएको छ । देशको नक्सा कुनै एक किसिमले मात्र पूर्ण हुँदैन । यसमा देशभक्तिका अनेक नमुनाहरु प्रस्तुत गरिएका छन् । देशका सीमान्त नागरिकको अवस्थामा सुधार आउनु पनि देशभक्ति हो । यसरी देशको अनेक यथार्थलाई यस कृतिले उजागर गरेको छ ।

कवि मसान उपासकले कस्तो देशको कल्पना गरेका छन् ? यस कृतिको अध्ययन गरेपछि सुस्पष्ट हुन्छ । प्रा.डा. जीवेन्द्रदेव गिरीले भनेका छन् “कविको सुन्दर सपनामा राष्ट्रियता, समानता, न्याय, सत्प्रेम र परिवर्तनका भावनाहरू विद्यमान छन् ।”

यो एक पठनीय कृति हो । प्रगतिशीलता तथा समावेशी भाव यस कृतिको सम्पत्ति हो । सङ्ग्रहको शीर्षकले बोकेको भावले सम्पूर्ण ग्रन्थ त ओतप्रोत छ नै ।