आगामी निर्वाचनमा बहुमतको लक्ष्य लिएका छौं : खड्का

तु खबर संवाददाता
२०७९ श्रावण ४,बुधबार १७:५१

मकवानपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् । उपसभामुख खड्काले बुधबार हेटौंडामा कांग्रेस मकवानपुरले आयोजना गरेको जनप्रतिनिधिलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका उनले उनले पार्टीको मुलभुत एजेन्डा पूरा गर्न बहुमत आवश्यक रहेको उल्लेख गरे । उनले कांग्रेसले चाहेर मात्रै गठबन्धन नभएको बताउँदै दुइतिहाई बहुमत पाएको नेकपाको जनबिरोधी काम, मनलाग्दी र ज्यादतीको अन्त्य गर्न गठबन्धन गरेको बताए । उनले भने, ‘अधिनायकवाद, संविधान र लोकतन्त्र बिरोधी गतिविधिले गठबन्धन निर्माण भएको हो ।’

सम्मान कार्यक्रम नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।