क्रियाशिलबाटै उम्मेदवार छनौट गर्न नेता बानियाँको आग्रह
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनौट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपाली कांग्रेस मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले सो कुरा बताएका हुन् ।
बानियाँले टिकट वितरणको विषयमा पार्टीभित्र विवाद देखिँदा घातअन्तर्गघात बढेकोभन्दै क्रियाशीलबाटै उम्मेदवार छनौट जरुरी रहेको बताए । ‘पार्टीभित्र आफू केन्द्रीत राजनीति हावी भइरहेको छ । आफूले टिकट पाए ठिक नत्र वेठिक भन्ने प्रवृत्ति बढिरहेको छ । त्यसकारण क्रियाशीलबाट उम्मेदवार छानौं । विद्युतिय मतदानको व्यवस्था गरौं ।’, उनले भने ।
सभापति बानियाँले मंसिरको पहिलो हप्ता हुने निर्वाचनमा संघ र प्रदेश दुवै तहमा काँग्रेसको बहुमत ल्याउने गरी जित्ने उम्मेदवारलाई टिकट वितरण गर्न जरुरी रहेको औंल्याए । ‘पार्टीभित्र बढ्दो अनुशासन हिनतालाई तोड्न जरुरी छ ।’, उनले भने ।
उनले स्थानीय तहमा मकवानपुर कांग्रेस पहिलो पार्टी भएपनि जनधार अझै बलियो बनाउन जरुरी रहेको बताए ।