मकवानपुरबाट साढे १८ हजारभन्दा बढीले लिए नागरिकता

तु खबर संवाददाता
२०७९ श्रावण ५,बिहीबार १०:२७

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे १८ हजारभन्दा बढीले नेपाली नागरिकता लिएका छन्् । प्रशासनबाट गत आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार ५६३ जनाले नयाँ नागरिकता लिएका हुन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार, जिल्लाबाट ९ हजार ८३३ जना महिला र ८ हजार ७०८ जना पुरुषले गरी १८ हजार ५६३ जनाले नयाँ नागरिकता लिएका हुन् ।

यस्तै, प्रशासन कार्यालयले २२ जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको छ भने १० हजार २१६ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।

प्रशासनबाट अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार ९१८ जनालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको वार्षिक विवरणमा उल्लेख छ । जसमा ९ जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरिएको थियो भने ५ हजार १४९ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको थियो ।