पोखरीमा डुबेर २ बालबालिकाको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुईको मृत्यु भएको छ । शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका ६ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए । बेपत्ता उनलाई अस्थाई प्रहरी पोष्ट शङ्खदेवबाट खटिएको प्रहरीको टोली र स्थानीय वासिन्दाले उद्धार गरेका थिए । पोखरीमा डुबेको अवस्थामा उद्धार गरिएका सिंजालीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, शनिबार नै कावासोती–१४ हेगौलीमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । हेगौलीका पुरण चौधरीकी छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडि आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेकी थिइन् । पोखरीबाट उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।