सात महिनामा भित्रिए तीन लाख विदेशी पर्यटक

तु खबर संवाददाता
२०७९ श्रावण १९,बिहीबार १६:३५

काठमाडौं । सन् २०२२ को सात महिनाको अवधिमा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर २ लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार ८ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार २ सय ९९, बङ्गलादेशबाट १ हजार ८ सय ७४ पर्यटक भित्रिएका छन् ।

त्यस्तै, चीनबाट १ हजार ५ सय ९३ पर्यटक नेपाल आएका छन् । समग्रमा एसिया र अन्य मुलुकबाट चार हजार एक सय ९५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसैगरी युरोपबाट नौ हजार एक सय २१, मध्यपूर्वलगायत मुलुकबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।